यो संसद्को पाँचवर्षे कार्यकाल कस्तो रह्यो ?
पाँच वर्षअघि निर्वाचन हुँदै गर्दा आममतदाताले देशमा राजनीतिक स्थिरता कायम होला, देशले आर्थिक समृद्धिको बाटो पछ्याउला, देशमा रोजगारी बढ्ला लगायत धेरै अपेक्षा गरेका थिए । तर, दुर्भाग्यवश देश झनै राजनीतिक अस्थिरताको भुमरीमा फस्यो । पाँच वर्षको ‘म्यान्डेड’ पाएको संसद्बीचमै दुई–दुईपटक विघटन गरियो । संसद्लाई ‘बाइपास’ गरेर अध्यादेश ल्याइए । पहिलेको सत्तापक्ष पछि प्रतिपक्ष बनिसकेपछि संसद् चल्नै दिइएन । जनप्रतिनिधिमूलक संस्थालाई बन्धक बनाइयो ।
यो संसद्ले के के गर्यो र के के गर्न सकेन ?
यो संसद् थुप्रै कानुन संशोधन गरेर अद्यावधिक गर्यो । मौलिक हकसम्बन्धी कानुन बनायो । महिला, दलित, मधेसी, जनजाति आदिका पक्षमा थुप्रै काम गर्न सक्ने अवस्थामा यो संसद् तत्कालीन सरकारका प्रधानमन्त्रीकै कोपभाजनमा पर्यो । अहिलेको भन्दा धेरै राम्रो गर्न सक्ने अवस्था हुँदाहुँदै पनि यसले मौका नै कम पायो ।
राजनीतिक स्थिरता दिने अपेक्षा गरिएको संसद् आफैँ अस्थिर देखियो, किन ?
यो संसद् राजनीतिक नेतृत्वको दाउपेच र कोपभाजनको सिकार बन्यो । पहिलेको सत्तापक्ष र पछिल्लो समयको प्रतिपक्षले लामो समयसम्म अवरुद्ध गरेर संसद्को बिजनेस अघि बढ्नै दिएन । त्यसले गर्दा यो संसद् अस्थिर देखियो ।