१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १ शनिबार
  • Friday, 04 July, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई देउवाको व्यंग्य : परमादेशकै कारण सँगै काम गर्न पाएका छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार १४:२९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन्।

प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी ओलीतर्फ इंगित गर्दै देउवाले सरकार मात्र नभई संसद् पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताए। परमादेशकै कारण सत्तापक्ष र प्रतिपक्ष सँगै बसेर काम गर्ने मौका मिलेको भन्दै उनले दुईपटकसम्म संसद् विघटन गरेका ओलीलाई व्यंग्य गरे।

‘हुन त हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै, मलाई थाहा छ। यो संसद् नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामीसँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौँ। धेरै ठूलाठूला विधेयकहरू पास गर्न सकिँदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महसुस गरेको छु,’ उनले भने।

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकतालगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताए।सरकारले बहुपक्षीय तथा द्विपक्षीय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उनको दाबी छ। देउवाले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने बताए।

 

यो पनि : प्रतिनिधिसभाका उतारचढावपूर्ण पाँच वर्ष