मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३० बिहीबार १०:२०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसम परिवर्तनमा देखिन्छन् यस्ता रोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३० बिहीबार १०:२०:००

डाक्टरको सुझाव

शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु)

फ्लुले गलाउँछ 

मौसम परिवर्तनको समय धेरैमा देखिने सरुवा रोगमध्ये फ्लु एक हो । यसमा पहिले ज्वरो आउने र खोकी लाग्ने हुन्छ । त्यसपछि टाउको दुख्ने, जिउ कटकट खाने, घाँटी खसखस गर्नेजस्ता लक्षण देखिन्छन् । कसैको नाकबाट पानी बग्ने पनि हुन्छ । यो रोग प्रायः अगस्ट–सेप्टेम्बरमा नै फैलने गर्छ । कतिपयलाई फ्लु भएपछि आफैँ निको भएर जान्छ । तर, कतिपय अवस्थामा यसले अन्य जटिलता पनि निम्त्याउन सक्छ । जस्तो, निमोनियाकै कारक बनिदिन पनि सक्छ । मास्क लगाउने, साबुनपानीले हात धुने, हाछ्ँयु गर्दा अथवा खोक्दा  रुमाल प्रयोग गर्ने । रुमाल नभए हातको बाहुलाले छोपेर हाछ्युँ गर्दा पनि हुन्छ । 

कोल्ड डायरिया 
योचाहिँ विशेषगरी बच्चामा देखिन्छ । हामी जाडोयाममा जाँदै गर्दा धेरै बच्चामा झाडापखाला लाग्न सक्छ । यस रोग निम्तिनुका कारण धेरै भए पनि मुख्य कारण रोटा भाइरस हो । पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाबाट मृत्यु गराउने मुख्य कारकमध्ये यो रोग एक हो । यसबाट बच्ने उपाय भनेको बालबालिकालाई रोटा भाइरसको खोप लगाइदिने हो । 

नेपालमा बालखोप कार्यक्रमअन्तर्गत अहिले यसको खोप समावेश छ । खोप नहुँदा यो रोग विगतमा प्रकोपका रूपमा फैलिने गरेको थियो । 

नोरो भाइरस 
यो बिस्तारै जाडो महिना लाग्दै गर्दा देखिने रोग हो । योचाहिँ वयस्कमा बढी देखिन्छ । सामूहिक भोज खाँदा वाकवाकी लाग्ने, बान्ता हुनेलगायत समस्या देखिन्छ ।  यसबाट बच्न स्वस्थ र राम्रोसँग पकाएको खानेकुरा मात्रै खाने, व्यक्तिगत सरसफाइमा जोड दिने गर्नुपर्छ ।

स्क्रब टाइफस 
स्क्रब टाइफस मुख्यतः असार–साउनमा देखिन्छ । तर, अझै पनि यो रोगको जोखिम कम भइसकेको छैन । यो माइट नामक किर्नाको टोकाइबाट सर्ने रोग हो । माइट किर्ना झाडी र घाँसमा बस्ने भएकाले पनि वर्षात् र हरियाली नसकिएको यो याममा जोखिम रहन्छ । त्यस्तै, माइट किरा मुसामा बस्ने र मुसा हिँडिरहँदा घरका कोठामा खस्ने हुन सक्छ । त्यसैले घरमा मुसा आउने वातावरण सिर्जना हुन दिनुहुँदैन । 

घरको सरसफाइ गर्नुपर्छ । बच्नका लागि लुगा पूरै बाहुला भएको लगाउने, भुइँमा र घाँसमा बस्दा पनि लुगा बिछ्याएर बस्ने गर्नुपर्छ । यो रोग लागेमा उच्च ज्वरो आउने, कसैको शरीरमा रातो–रातो दाना देखिने, टाउको अति नै दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, आँखाको सेतो भाग रातो हुनेलगायत समस्या देखिन्छन् ।

सतर्कताका उपाय

डा. विमल शर्मा चालिसे प्रमुख कन्सलटेन्ट फिजिसियन(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु)

अहिले वर्षाको समय छ । गर्मीबाट हामी बिस्तारै जाडोयामतर्फ जाँदै छौँ । चिसो सुरु हुने वेलामा भाइरसको सक्रियता बढ्न थाल्ने भएकाले पनि संक्रमण धेरै फैलिन्छ । मानिसमा चिसो लाग्ने, रुघाखोकी, सामान्य ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, शरीर दुख्नेलगायत समस्या देखिन्छन् । 

- जाडोयाम सुरु हुने वेलामा पनि कतिपयले गर्मीकै जस्तो रहनसहन र खानपिन गरिरहेका हुन्छन् । मौसम परिवर्तन हुने यो समय चिसोबाट जोगिनुपर्छ । न्यानो कपडा लगाउने, चिसो चिज नखाने, मनतातो खाने गर्नुपर्छ । 

- रोगअनुसारको भ्याक्सिन नियमित लगाइरहेका व्यक्तिले उक्त कार्यलाई निरन्तरता दिनुपर्छ । 

- बालबालिका, वृद्धवृद्धा, दीर्घरोगको औषधि सेवन गरिरहेका, दमका रोगी, गर्भवती महिलालाई रोग लाग्ने सम्भावना बढी हुन्छ । उनीहरू सतर्क बस्नुपर्छ । 

- कुनै पनि समस्या तथा रोगका लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिने ।