मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३० बिहीबार o८:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दक्षिण कोरियामा ग्लोबल आइएमईले शाखा खोल्दै

नेपाली अर्थतन्त्रलाई सघाउन विदेशी मुद्रामा खाता खोल्न बैंकको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार o८:१७:oo

नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनी एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीहरूलाई आग्रहसमेत गरिएको थियो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा देशको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताए । अर्थमन्त्री शर्माले कोरियामा रहेका गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका थिए । उनले भने, ‘देशमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईंहरूले सहजीकरण गर्नुपर्‍यो ।’

कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रक्रिया अगाडि बढाएकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि सहज हुने बताए । यसमा प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रक्रिया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई उनले धन्यवाद दिएका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरेका थिए । उनले भने, ‘म यहाँका गैरआवासीय नेपालीसाथीहरू तथा गैरआवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाईं हामी हातेमालो गरेर अगाडि बढाँै । तपाईं हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको समृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईंहरूले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपार्इंहरूको लगानीको सुरक्षा गर्न हामी तयार छौँ ।’ 

आइएमई समूहले गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा लम्जुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटेल, जलविद्युत्लगायत अरू धेरै परियोजना पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैरआवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनामा काम गर्न सकिने ढकालले बताए । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका लागि दक्षिण कोरियाको नियामक निकायबाट स्वीकृति पर्खिरहेको उनले जानकारी दिए ।

दक्षिण कोरियाको नेसनल एसेम्ब्लीका सदस्य ली साङेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ता नेपालका विभिन्न सम्भावना भएका क्षेत्रमा लगानीका लागि तयार रहेको बताए । कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल तथा गैरआवासीय संघका प्रतिनिधिहरूले कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खोल्दा वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सहज हुने बताएका थिए । कार्याक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले ल्याएको विदेशी मुद्रा खाता, यसको सञ्चालन प्रक्रिया र यसका फाइदाबारे प्रस्तुति दिएका थिए ।