१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २९ बुधबार १३:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विभागका महानिर्देशकलाई उपमहानिर्देशक बनाए वनमन्त्रीले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २९ बुधबार १३:१०:००

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विदेश भ्रमणमा निस्कनुअघि वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको सरुवा गरेका छन् । उनले महानिर्देशक केसीलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशक बनाएर पठाएका हुन् । 

अति कम विकसित मुलुक (एलडिसी) का वातावरणमन्त्रीहरूको सम्मेलनमा भाग लिन सेनेगल जानुअघि सोमबार उनले महानिर्देशक केसीको सरुवा गरेका हुन् । वन तथा जलाधार महाशाखा प्रमुख देवेश त्रिपाठीलाई वन विभागको महानिर्देशकमा पठाइएको छ । एक पूर्ववनसचिवले महानिर्देशकलाई उपमहानिर्देशक बनाउने प्रचलन नरहेको बताए ।

‘सिनियर सहसचिवमध्येबाट महानिर्देशक बनाउने हुन्छ, महानिर्देशक भइसकेकालाई मन्त्रालय वा मातहतका अन्य निकायमा सरुवा गरे पनि उपमहानिर्देशकमा पठाउने प्रचलन भने छैन,’ ती पूर्वसचिवले भने । उनी गत ८ चैतमा मात्र वन विभागको महानिर्देशक बनेका थिए । त्यसअघि उनी लुम्बिनी प्रदेशमा वनसचिव थिए । वन विभागको महानिर्देशक बनेका त्रिपाठी पनि हालै मात्र सुदूरपश्चिम प्रदेश वनसचिवबाट मन्त्रालय आएका थिए ।

केही दिनअघि मात्र वन मन्त्रालयका सहसचिव राधा वाग्लेको सरुवा विवादमा मुछिएको थियो । सामान्यतः सहसचिवहरूलाई एकपटक प्रदेशमा मन्त्रालयको सचिव बनाएर पठाउने प्रचलन रहे पनि वाग्लेलाई दोस्रोपटक प्रदेश सरुवा गरेपछि उनी मुख्यसचिव शंकरदास बैरागीकहाँ पुगेकी थिइन् । प्रदेश १ को वनसचिवमा भएको उनको सरुवा सच्याएर वनस्पति विभागको महानिर्देशकमा रूपान्तरण गरिएको थियो ।