शास्त्रीय दार्शनिक प्लेटोले इसापूर्व ३८० तिर ‘रिपब्लिक’मार्फत ‘फिलोसफर किङ’को अवधारणा अघि सारेका थिए । त्यतिवेला सम्भवतः आजको जस्तो रद्दी राजनीतिक अभ्यासको कल्पना गर्ने अवस्था थिएन । दार्शनिक प्लेटोको अवधारणाको बौद्धिक सत्ताभित्र छिर्ने हो भने उनले दार्शनिक राजनीतिक नेतृत्व वा राजनीतिक नेतृत्वमा विद्वता र इमानलाई अनिवार्य सर्त मानेका छन् । यिनै दुई विषयले नै हो, सिंगो राजनीतिक राजकाजको सौन्दर्य जाँच्ने । प्रस्तुत आलेख यही तर्कको सेरोफेरोमा नेताले धोक्रोभरि बाँड्दै आएका सपनाको दुर्गन्धले नेपालको शासकीय राजनीति नै कलुषित बनाउँदै गर्दा राजनीतिको पितृ पुस्ताले मुलुकलाई आफूजस्तै ख्याउटे र विद्रूप तुल्याउन सहायक बन्नुका पछाडिको हिसाबकिताब खोज्न केन्द्रित हुनेछ ।
साँच्चै नेपालका राजनीतिक दल र तिनका नेताले इमानको राजनीति गर्छन् त ? यो हाम्रा लागि यति जटिल प्रश्न भएको छ कि हामीले पुस्तौँदेखि यसको जवाफ खोज्दै आएका छौँ । यसैको जवाफको खोजीमा हामीले दशकौँ गुजारिसकेका पनि छौँ र गुजारिरहनु पनि पर्नेछ । राजनीतिप्रति यतिबिघ्न दरिद्र चित्र निर्माण भइदियो कि विश्वका जस्तै ‘राजनेता’ पनि नेपाली राजनीतिको बाछिटाले छोए बिटुलिने अवस्था भयो ।
आजको सूचना प्रविधिले निर्देश गरेको समयमा राजनीतिप्रति युवाको जुन तहको चाख र चासो हुनुपर्ने थियो, अपेक्षाकृत त्यति हुन सकेको छैन । बरु राजनीति त बेइमानको पर्यायवाची बन्दै गयो । फलतः मुलुकको शासकीय व्यवस्थापनमा विद्वताविनाको राजनीतिक अभ्यासको साध्य के हुने भन्ने सवाल थप जटिल बन्दै गयो । विश्वको समग्र राजनीतिक परिदृश्य हेर्ने हो भने पनि राजनीतिक–आर्थिक नयाँ शक्तिकेन्द्रको उदय हँुदै गर्दा ठोस ज्ञान वा भूगोल सुहाउँदो मौलिक राजनीतिक विचार वा ज्ञान उत्पादनमा राजनीतिक दल÷नेताको भूमिका पनि अपेक्षाकृत हुन्छ । राजनीति इमानले चलिदियोे भने मात्रै शासक र शासितबीच सहअस्तित्वपूर्ण सम्बन्ध निर्माण गर्न सकिन्छ र त्यसले शासनलाई न्यायिक, नतिजामूलक र वितरणमुखी पनि बन्न सघाउँछ ।
खासगरी, आजसम्म बौद्धिकताको अभावैअभावमा नेपाली राजनीतिले ‘ज्ञान’ उत्पादन गरिरहेको छ, जसले मुलुकलाई रूपान्तरणतर्फ नभई सामूहिक भ्रष्टीकरणतर्फ लैजान भूमिका खेल्दै आएको छ । फलतः बौद्धिक राजनीतिकाले अपेक्षा गर्ने कुनै पनि साध्य प्राप्त हुन सकेनन् । राजनीतिको बौद्धिक सत्ताले अपेक्षा गर्ने न्यूनतम साध्य भनेको ‘राजनीतिक कर्ता’लाई हित समूहभन्दा माथि उठाउने हो, जुन नेपालमा अभ्यास हुन सकेन । यहाँ नेता हुनका निम्ति नैतिक शक्तिको पनि आवश्यकताबोध हुने गरी राजनीतिक संस्कार निर्माण हुनै सकेन ।
राजनीतिक शासकीयतामा शक्ति सम्पन्नताको परिकल्पना त गरियो, तर त्यसको आधारभूत व्यावहारिक व्याख्या भने हुन सकेन । फलतः नेताको क्षमता केवल ‘वाक्शक्ति’को सानो दायरामा खुम्चिन पुग्यो । राजनीतिलाई अपराधीकरणको फेरोमा राखेर शक्तिको नयाँ परिभाषा निर्माण गरियो, नैतिक शक्तिको आवश्यकताबोध भएन । फलतः राजनीति चाहेर वा नचाहेर विकृतोन्मुख हुँदै गयो । नेपाली राजनीति ‘फोहोरी खेल’को कलुषित सत्ता बन्दै आयो । यसभित्र घुस्नु नपर्ने तत्वहरू घुस्दै गए, नबाहिरिनुपर्ने तत्वहरूचाहिँ बाहिरिँदै गए । अब त नेपाली राजनीति र काठमाडौंको निधार छामेर बग्ने ‘बागमती नदी’ एकअर्काका पर्यायवाचीजस्तै भइदिए भने पनि भयो !
नेपालको राजनीतिमा अब जे–जति ‘विचार’ वा ‘सिद्धान्तको सौन्दर्य’ बचेको छ, त्यो केवल जबर्जस्ती पोतिएको ‘कस्मेटिक’ रोगन हो । यसरी बलजफ्ती पोतिएको कस्मेटिक लेप कतिसम्म पो टिक्ला र ? त्यो उत्रिएको दिन संसारभरको सबैभन्दा विद्रूप राजकाजको दृष्टान्त दिनुपर्यो भने नेपाल सम्झे हुन्छ ।
हुन त राजनीतिक कर्तामा ज्ञान उसले बाँचेको समाजले उत्पादन गर्ने हो । उसले गरेको, गर्दै आएको ‘खास’ राजनीतिको उपजका रूपमा त्यही ज्ञानले आफ्नो आकार निर्धारण गर्ने हो । ऊ जस्तो खालको समाजमा हुर्कियो, त्यही समाजले उसको ज्ञानलाई ठोस आकार दिने र दायरा तय गर्ने हो । नेपालका नेताले शासकीय दर्शन वा राजनीतिक अभ्याससित एकखाले आग्रहपूर्ण सम्बन्ध बनाए र त्यसलाई नाफा–घाटाको तराजुमा तौलिए । तब नै हाम्रोजस्तो विद्रूप ‘राजनीतिक संस्कार’ले सामाजिकीकरण भएको राजनीतिक–सामाजिक सन्दर्भमा सरकारसित नागरिकको सम्बन्ध व्यवस्थापन र शासकीय चुस्तता प्रवद्र्धनमै सिंगो राजकाज विफल हुन पुगेको हो ।
‘स्मार्ट’ शासकीय व्यवस्थापनको समग्रता नै राजनीतिक दल र तिनका नेताको ‘ज्ञान’मा आधारित हुने हो, जसको परिणाम हाम्रा सामु छँदै छ । हामीले अभ्यास गरेको राजनीतिक सामाजिकीकरणको ‘नतिजा’ले कसरी समावेशी लोकतान्त्रिक शासकीय औजारलाई बिटुल्याइदिएको छ भनेर हेरे पुगिहाल्छ । यहाँनेर, ज्ञानलाई सहअस्तित्व स्वीकार गर्ने सबैभन्दा महत्वपूर्ण औजार मान्ने हो भने सत्ताजन्य कलुषित मनोविज्ञानले निर्देशित नेपाली राजनीतिले सहअस्तित्व स्विकारेको देखिँदैन । एक हिसाबले भन्ने हो भने सिंगो नेपाली राजकाजमा यहाँका राजनीतिक दल वा नेताको भूमिका भनेको राजनीतिक नारा उत्पादन गर्ने कम्पनी र महŒवाकांक्षी सपना वितरण गर्ने आधिकारिक डिलरका रूपमा मात्रै सीमित छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने सपना बोकेका राजनीतिक दलका राजनीतिक घोषणापत्रका चिर्कटाले पर्यावरणीय ह्रासमा पु¥याएको क्षतिको हिसाबकिताब नहुँदै संसदीय चुनावका घोषणा पत्र हामीसामु फेरि एकपटक फ्याँक्ने तयारी भइरहेको छ । चुनावी मिति घोषणासँगै पंक्तिकार यस मानेमा रोमाञ्चित छ कि घोषणा पत्र पढ्दा तिनले कुन तहको स्वैरकाल्पनिक उपन्यास पढेबराबर आनन्द दिने हुन् ! त्यति मात्रै नभई तिनले बाँड्ने सपनामा एकपटक धक फुकाएर हाँस्न पनि पाइनेछ ! हाम्रो राजनीतिक दलले यस हदको बेबकुफीपूर्ण हर्कत पटकपटक दोहोर्याइरहनुमा उनीहरू बौद्धिक अभ्यास गर्दैनन् र उनीहरूसित ‘थिंक ट्यांक’ हुँदैनन् भन्ने प्रमाण पनि हो । उनीहरूलाई घोषणा पत्र तयार गर्दा कुनै पनि तथ्य र तथ्यांकको जरुरत नै पर्दैन । उनीहरूलाई यस्तो पनि लाग्दो हो, ‘जाबो’ घोषण पत्र तयार पार्नकै निम्ति तथ्य र तथ्यांकको खोजी गर्नुजस्तो बेस्वादको अरुचिकर विषयमा किन टाउको दुखाउनु?
एउटा कहावत छ, ‘बूढाको कुरा सुन्ने र मुढाको आगो ताप्ने’ । उक्त कहावतको व्यावहारिक मूल्य भए पनि राजनीतिको कोर अभ्यासका निम्ति भने यो हानिकारक पुष्टि भइसकेको छ । तुलनात्मक रूपमा दक्षिण एसियाकै शासकीय राजनीतिकको ग्राफसित नेपालको शासकीय राजनीतिको वासलात भिडाउने हो भने यहाँको राजकाजमा युवा अनुहारलाई चाउरी परेको ख्याउटे अनुहारको जत्थाले नमज्जाले थिचेको देखिन्छ ! यसरी शासकीय राजकाजले नियोजित रूपमै युवा ऊर्जालाई निषेध गर्दै आउनुको परिणामस्वरूप आज सिंगो राजकाजलाई नै दुर्गन्धित तुल्याइदिएको छ । घिनै लाग्ने गरी फोहोर बनाइदिएको छ । यहाँको शासकीय राजनीतिलाई सत्ता राजनीतिले प्रतिस्थापन गरिदिएको छ । दोस्रो कुरा, नेताको अनुहारमा जतिजति मुजा थपिँदै जान्छन्, त्यसको असर त्यति नै मुलुकको सर्वाङ्गीण विकासमा पर्ने निश्चित छ । तिनै चाउरी परेका अनुहारले देशको अनुहारमा पनि थप चाउरीपन थप्दै लैजानु अस्वाभाविक पनि भएन । फलतः मुलुकको विकासे अनुहार ठिटौले उमेरमै बूढो र ख्याउटे बनिसकेको छ ।
यसैबीच अर्को सवाल के पनि हो भने नेपाली शासकीय कौशल अभ्यास गर्ने सर्वोच्च ठाउँमा आवश्यक सीपविनाकै राजनीतिक डकर्मीलाई पठाउने र शासकीय पद्धतिले ठोस आकार ग्रहण गर्न सकेन भनेर पुर्पुरो समात्दै गर्दा यस दोषका भागीदार उनीहरूलाई चुनेर त्यहाँ पुर्याउने हामी मतदाता पनि हौँ । र, यो ढर्रा नै यति दुर्गन्धित भइसक्यो कि यसलाई सफा गरेर मात्रै हुनेवाला छैन, नयाँ ‘रासायनिक प्रक्रिया’द्वारा निर्मूल नै गर्नुपर्ने हुन्छ । त्यसका निम्ति सबैभन्दा पहिला नेपालका सम्पूर्ण राजनीतिक दलमा अग्रपंक्तिमा रहेर मुलुकलाई रछ्यानकै हैसियतमा पु¥याउन सहभूमिकामा रहँदै आएको ‘पितृपुस्ता’ पूर्णतः असफल भएको सामूहिक घोषणा हरेक राजनीतिक दलका ‘नातिपुस्ता’ले एकढिक्का भएर एकैस्वरमा गर्न सक्नुपर्छ । आजसम्म मुलुकको छातीमा भ्रष्टाचारको वृक्ष रोपेर त्यसैलाई जतनले हुर्काई फल खान पल्किएको राजनीतिको पितृ पुस्तालाई राजनीतिकै नाति पुस्ताले सामूहिक रूपमा ‘लोकतान्त्रिक कु’ नगरेसम्म नेपाली दुर्गन्धमिश्रित राजनीतिलाई चोख्याउन सकिने कुनै पनि अर्को बुटी छैन ।
त्यसो त, नेपालमा राजनीतिक नेता असल वा नैतिक व्यक्ति हुन्छ भन्ने बुझाइ स्थापित हुनै सकेको छैन । त्यो नहुनु भनेको यहाँको राजनीतिक अभ्यासमा कुनै पनि असल नजिर नबस्नु हो । नेपाली राजनीतिले त सत्तामा जानका निम्ति जस्तोसुकै नीच हर्कत गर्न वा मुलककै हितविपरीत उभिनै पनि पछि नहट्ने राजनीतिक पात्रलाई पनि ‘नेताका रूपमा’ स्विकार्दै आएको छ । उप्रान्त पनि बौद्धिक–राजनीतिको अवधारणालाई आजको ख्याउटे राजनीतिक अनुहारले आत्मसात् गर्ने ‘दुस्साहस’ गर्ला भन्ने त अपेक्षा पनि गर्न सकिँदैन । तसर्थ, नेपालको राजनीतिमा अब जेजति ‘विचार’ वा ‘सिद्धान्तको सौन्दर्य’ बचेको छ, त्यो केवल जबर्जस्ती पोतिएको ‘कस्मेटिक’ रोगन हो । अर्थात्, त्यो ‘कस्मेटिक सौन्दर्य’ हो । यसरी बलजफ्ती पोतिएको कस्मेटिक लेप कतिसम्म पो टिक्ला र ? त्यो उत्रिएको दिन संसारभरको सबैभन्दा विद्रूप राजकाजको दृष्टान्त दिनुपर्यो भने नेपाल सम्झे हुन्छ ।