एकपटक मनोविज्ञानकी एक प्राध्यापक विद्यार्थीले भरिएको सभाकक्षमा तनाव व्यवस्थापनका सिद्धान्त सिकाउँदै थिइन् । आफ्नो कार्यक्रमको बीचमा उनले नजिकै टेबलमा राखिएको पानीको एउटा गिलास उठाइन् । सहभागी सबैले सोचे– पक्कै पनि अब उनले ‘आधा गिलास खाली छ वा आधा भरिएको गिलास छ’वाला प्रश्न सोध्नेछिन् । तर, अनुमानविपरीत प्राध्यापकले फरक प्रश्न गरिन्– तपाईंहरूमध्ये कसैले भन्न सक्नुहुन्छ, यो पानीको गिलास कति भारी छ ?’
प्राध्यापकको प्रश्न सुनेर सहभागी विद्यार्थी एकछिन सोचमग्न भए । त्यसपछि सबैले गिलासको तौलबारे आआफ्नो अनुमान लगाए । उनीहरूले गिलासको तौल आठ औन्सदेखि दुई पाउन्डसम्म हुनसक्ने अनुमान लगाए । सहभागी विद्यार्थीको उत्तर सुनेर प्राध्यापकले मुसुक्क मुस्कुराइन् । केहीबेरको मौनतापछि उनले जबाफ दिइन्– यो गिलासको वजन कति छ भन्नेले खासै फरक पार्दैन ।
मैले कति लामो समयसम्म यसलाई आफ्नो हातमा राख्छु भन्नेले चाहिँ पक्कै पनि केही फरक पार्छ । यदि मैले यसलाई एक वा दुई मिनेटका लागि समातिरहेँ भने यो एकदमै हल्का छ । यदि मैले यसलाई एक घन्टासम्म समातेँ भने यसको वजनले मेरो हात अलिकति दुख्न सक्छ । यदि मैले यसलाई एक दिनका लागि समातेँ भने मेरो पाखुरा नै ठप्प हुन सक्छ र पूर्ण रूपमा सुन्निन र पक्षाघात भएकोजस्तो महसुस हुन सक्छ । त्यस्तो अवस्थामा म गिलासलाई भुइँमा खसाल्न बाध्य हुनेछु । प्रत्येक अवस्थामा गिलासको वजन परिवर्तन हुँदैन, तर म यसलाई जति लामो समयसम्म समातिन्छ, उति नै त्यो भारी लाग्छ ।
कक्षाले सहमतिमा टाउको हल्लाएपछि प्राध्यापकले अगाडि भनिन्– तपाईंको जीवनका तनाव र चिन्ता पनि यो गिलास र पानीजस्तै छन् । केही समयका लागि तिनका बारेमा सोच्नुहोस्, तपाईंलाई केही पनि हुँदैन । अलि लामो समयसम्म सोच्नुहोस्, तपाईंलाई अलिकति पीडाको महसुस हुन्छ । दिनभरि सोच्नुहोस्, तपाईं पूर्ण रूपमा व्यथित हुनुहुनेछ । तपाईंले तिनलाई नछोडेसम्म अरू केही गर्न अक्षम हुनुहुनेछ ।