१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०६:३३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०६:३३:००

नाबालिग जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीपविरुद्ध थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरी वृत्त गौशालाले जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । सोही निवेदनपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अब सन्दीप स्वदेश फर्किएलगत्तै विमानस्थलबाटै पक्राउ पर्नेछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताए । ‘थप अनुसन्धान गर्नुपर्ने भएको हुँदा हामीले सन्दीपविरुद्ध पक्राउ अनुमति मागेका थियौँ । अदालतले पक्राउ पुर्जी जारी गरेको छ,’ उनले भने । १७ वर्षीया बालिकाले बलात्कृत भएको भन्दै सन्दीपविरुद्ध सोमबार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । 

त्यसलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यसक्रममा प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमका तन्ना, सिरक, घटना हुँदाका बखत बेडरुममा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भेजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ । 

अनुसन्धान गर्न प्रहरीले ‘म्यानुअल’भन्दा पनि ‘टेक्निकल’ विशेषज्ञ टोलीलाई घटनास्थलमा परिचालन गरेको छ । सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागो (वेस्टइन्डिज)मा छन् । उनले वेस्टइन्डिजबाटै नेपाली क्रिकेट संघ (क्यान)सँग कानुनी उपचारमा सहयोग गर्न आग्रह गरेका छन् । साथमा, उनले आफू निर्दोष भएकोे र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । 

 राष्ट्रिय टोलीबाट पनि निलम्बित
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । सन्दीपविरुद्ध उजुरी परेको दुई दिनपछि काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि क्यानले उनलाई टोलीबाट निलम्बन गरेको हो । क्यानको कार्यसम्पादन समितिले अदालतको कार्यसम्पादनमा सहजीकरण गर्न नै सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । २३ भदौमा जबर्जस्ती करणी कसुरमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । 

अनुसन्धानमा सहजीकरण गर्न क्यानको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट  सन्दीपलाई गर्‍यो निलम्बन 

यसैबीच, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले किशोरीविरुद्ध बलात्कारको आरोप लागेका सन्दीपको विषयलाई लिएर चासो देखाएको छ । क्यानका कार्यवाहक सचिव मल्लले आइसिसीबाट घटना बुझ्ने प्रयास भएको र आफूले घटनाकोे जनकारी दिएको बताएका छन् । ‘आइसिसीबाट सन्दीपको सम्बन्धमा बारम्बार बुझ्ने प्रयास भएको थियो,’ मल्लले भने, ‘मैले यस्तो घटना भएको भनेको छु । आइसिसीले यो केसमा के हुन्छ भन्ने गम्भीरतापूर्वक चासो लिएको छ । उनले सन्दीप आफूहरूसँग सम्पर्कमा आएको जानकारी दिए ।

 सन्दीपले आफू निर्दाेष रहेको र कानुनी सहयोग गर्न क्यानलाई आग्रह गरेको मल्लले बताए । ‘सन्दीपले क्यानलाई निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि राम्रो वकिल सहयोग गर्नुपर्‍यो भनी आग्रह गरेका छन्,’ मल्लले भने । ५ भदौमा सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै पीडित किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । यससँगै पुलिसले यो घटनालाई लिएर अनुसन्धान बढाएको छ । ६ भदौमा सन्दीप टी–२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गरेका थिए । केन्यामा टी–२० खेल खेलेसँगै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए । उनले प्रतियोगिता समाप्तिसँगै नेपाल फर्कने क्यानलाई बताएका छन् । 

सिपिएल खेल्न अनुमति
सिपिएलले बलात्कार मुद्दाको सम्बन्धमा आफूसँग पनि जानकारी लिएको सन्दीपले मल्ललाई जनाएका छन् । हाल सिपिएलले खेलमा सन्दीपलाई सहभागी हुन पाउने जनाएको छ । ‘नेपालमा भएको घटनाको सम्बन्धमा मैले सबै जानकारी सिपिएललाई दिएको छु । हाल यो प्रारम्भिक र एकपक्षीय आरोप लागेको हुँदा मलाई लिग खेल्न अनुमति दिएको छ । कुनै पनि किसिमको कारबाही नहुनेमा विश्वस्त पारेको छ,’ सन्दीपको भनाइ उद्धृत गर्दै मल्लले भने । मल्लले क्रिकेट खेलाडीको अभिभावक भएको नाताले क्यानले वकिल खोज्न सहयोग गर्ने बताएका छन् । उनले प्रश्न गरे, ‘सन्दीप आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजीकरण नगरे अरू खेलाडीको मानसिकता के हुन्छ ? हामीलाई पर्दा भाग्दोरहेछ भन्ने खेलाडीमा नजिर बन्छ ।’