दुई वर्ष पहिले एमाले अध्यक्ष केपी ओलीले काठमाडौंका सडकलाई सुन्दर बनाउन ‘सडक मानव’बाट मुक्त गराउने घोषणा गरेका थिए । उनले ‘सडक मानव’ भनेको फुटपाथलाई नै रैनबसेरा बनाउने घरबारविहीन मानिस हुन् ।महानगरको सडकको सौन्दर्यको चिन्ता दिवंगत पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि रहेछ । एकपटक उनले काठमाडौंको सडक माधुरी दीक्षितको गालाजस्तो बनाइदिने आश्वासन पनि दिएका थिए । त्यतिवेला युवा बैँसकी माधुरी दीक्षित बलिवुड सिनेमामा सुन्दरतम्मध्येकी अभिनेत्री मानिन्थिन् ।
अहिले महानगरका सडकको अवरोधित सौन्दर्यले काठमाडौंका मेयर बालेन साहको मन पनि नमिठो बनाइरहेको छ । उनी काठमाडौंका सडकहरू एमाले अध्यक्ष ओलीले भनेजस्तै ‘सडक मानव’मुक्त बनाउन तल्लीन छन् । काठमाडौंका सडक सफा र अवरोधमुक्त बनून् भन्ने चाहना काठमाडौंमा घरबार भएका अधिकांश ‘नागरिक’को पनि छ ।
भट्टराई होऊन् वा ओली वा बालेन अथवा काठमाडौंका समृद्ध वर्ग, सबैको चाहनामा समानता छ । उनीहरू आफ्ना घर, कोठा, किचेन, डायनिङ हल, गार्डेन, शौचालय र गाडीजस्तै नगरका सडकहरू पनि चिल्ला, सफा र अवरोधमुक्त होऊन् भन्ने चाहन्छन् । बाटाछेउमा झोले, फुटपाथे, नाङ्ले व्यापारी, कबाडी, सबैतिरबाट परित्यक्त, अशक्त, वृद्ध, महिला र सडक बालकले हात पसारेर मागिरहेको दृश्यले सडकको सौन्दर्य विकृत हुन्छ । अझ दाता राष्ट्रका विदेशी पाहुना आएका वेला सडकछेउमा सहयोगापेक्षी मानव र फुटपाथे व्यापारी देखिनुले त झन् देशकै बेइज्जती हुने गर्छ । मानौँ, सडकछेउमा यस्तो दृश्य देखिएन भने उनीहरूले हामीलाई पनि धनी ठान्छन् । आफूले विदेशी शक्तिसामु कचौरा थापेकामा लाज छैन, गरिब देखिनुमा लाज छ । गज्जब !
देशमा सत्ताभित्रको सरकारी होस् वा प्रतिपक्षी राजनीतिक दल सडक सौन्दर्यबारे दृष्टिकोण र प्रवृत्ति सबैको मिल्दोजुल्दो छ । एमाले सांसद महेश बस्नेतलगायतले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचना भत्काउने मेयर बालेनको अभियानको मात्र विरोध गरिरहेका छन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर होटेल, अस्पताल र मलजस्ता व्यावसायिक संरचना खडा गर्नेहरू राजनीतिक पहुँच भएका शक्तिशाली समृद्ध वर्ग नै छन् । यस संसदीय व्यवस्थामा राजनीतिक पार्टीहरूको रोजीरोटी, चुनावी खर्च र मोजमस्तीको जोरजाम गर्ने आखिर यिनै समृद्ध वर्गले नै हो । त्यसैले, राजनीतिक पार्टीहरूले बालेनको अभियानविरुद्ध बोल्नु स्वाभाविक हो । अल्फाबिटा भवनको फार्मेसीले अतिक्रमण गरेर बनाएको संरचना महानगरले भत्काउँदा बालेनविरुद्ध एमाले सांसद महेश बस्नेत खनिनुको कारण पनि यही नै हो । राज्यसत्ता अभिजात्य र समृद्ध वर्गको हो, त्यसैले उसका पक्षमा बोल्नेहरू पनि छन् ।
तर, सडकमा बाँच्नेहरूको पक्षमा कसले बोलिदिने ? एउटा कुरा निश्चित छ, यस देशमा सरकार र राजनीतिक दलहरूले जतिसुकै समानताको गफ हाँके पनि गरिब उनीहरूको सोचभित्र पर्दैनन् । यस्तो भएको भए बालेनले फुटपाथे व्यवसायी र सडक मानवलाई लखेटेर सडक अवरोधमुक्त बनाउनुभन्दा पहिले तिनीहरूको व्यवस्थापनबारे सोच्थे । यी सडकमा देखिने झोले व्यवसायी आफ्ना सन्तानको मुखमा माड लगाउने उपायको खोजीमा देशका विभिन्न भागबाट काठमाडौं आई अनेक दुःखजिलो गरिरहेको सत्य बालेनले सुरुमै बुझ्नुपथ्र्यो । सडकमा बस्ने कसको पो रहर हुन्छ र ? तर, सडकमै जीवन गुजार्ने सडक मानवहरू निरुपाय हात पसार्नुपर्ने बाध्यतामा छन् भनेर पनि उनले बुझ्नुपथ्र्यो । विगत तीस वर्षमा महानगरले सडक खाली गराउने अभियान कैयौँपटक चलायो ।
तैपनि, यी झोले व्यवसायी र सडक मानव पटक–पटक सडकमा आइहाल्छन्, ‘सडकको सौन्दर्य बिगार्न’ । को हुन् यी झोले व्यवसायी र सडक मानवको गरिबीको कारण ? यत्ति मात्र सोचिदिएको भए उनले थाहा पाउने थिए, यस गरिब देशमा जुन चिल्ला गाडीवालका निम्ति उनले सडक अवरोधमुक्त बनाउँदै छन्, गरिबी बढ्नुको मुख्य कारण उनीहरूको निर्बाध नाफा, विलासी तथा गैरउत्पादक जीवनशैली नै हो ।
बालेन गरिब वर्गका होइनन्, त्यसैले उनको सौन्दर्यबोधमा गरिब अटाउँदैनन् । उनी ‘गरिबको चमेली बोल्दिने कोही छैन’को ¥याप गाउन त सक्छन्, गरिबका लागि सोच्न सक्दैनन् । उनले ठूलाबडाले अतिक्रमण गरेर बनाएको संरचना भत्काउने अभियानमा तत्काल परिमार्जन गर्न सक्छन्, तर फुटपाथे व्यवसायीविरुद्धको अभियानलाई रोक्न सक्दैनन् ।
बालेन ‘गरिबको चमेली बोल्दिने कोही छैन’को र्याप गाउन त सक्छन्, तर गरिबका लागि सोच्न सक्दैनन् । उनले ठूलाबडाले अतिक्रमण गरेर बनाएको संरचना भत्काउने अभियानमा तत्काल परिमार्जन गर्न सक्छन्, तर फुटपाथे व्यवसायीविरुद्धको अभियानलाई रोक्न सक्दैनन् ।
फेरि यो बालेनको मात्रै कुरा पनि होइन, गरिबविरोधी यो चिन्तन प्रायः सबै पार्टीभित्र छ । अरू उदाहरण खोज्न जानै पर्दैन । सडकबाट लखेटिँदै गरेका फुटपाथे गरिबहरूको पक्षमा कुनै पनि पार्टीको बोली फुटेको छैन । यहाँ पहाडिया, मधेसी, आदिवासी, दलित, महिला, पूर्वेली, पश्चिमेली, सबैका निम्ति बोल्ने छन्, तर मिहिनेत गरेर खाने गरिब मजदुर र किसानका निम्ति बोलिदिने कोही छैन । महानगरसहित ठूला सहरका सडकछेउ तथा सार्वजनिक स्थलमा वास बसेर व्यवसाय गर्ने वा हात पसारेर जीवन गुजार्नेहरू प्रायः यिनै गरिब श्रमिक वर्गबाट आएका हुन्छन् । यिनीहरूले व्यवसाय गरेबापत महानगर र नगरपालिकालाई कर पनि तिर्छन्, तैपनि वेलावेलामा सडक सौन्दर्यीकरणका नाममा सबैभन्दा पहिलो निसानामा पर्ने यिनीहरू नै हुन्छन् । यसको कारण गरिब श्रमिक वर्गहरू देशमा राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा सबैभन्दा कमजोर र अधिकारविहीन हुनु हो ।
तुलनात्मक रूपमा कोरानाकालपछि विश्वभरि सडकमा जीवन गुजार्नेको संख्यामा वृद्धि भएको तथ्यांक विविध रिपोर्टबाट बुझिन्छ । यद्यपि सडकमा जीवन गुजार्नेहरू तथा गरिबी बढ्नुको कोरोना प्रत्यक्ष कारण मात्र हो । यसको मुख्य कारण त देशमा गरिबप्रति सत्ताको असंवेदनशील योजना, चिन्तन प्रवृत्ति र गरिबविरोधी संस्कृति हो । विश्वभरिको गरिबी र असमानतासम्बन्धी तथ्यांक संकलन गर्ने ‘अक्सफाम’को ताजा रिपोर्टअनुसार धनिक वर्गले कोरोनाका कारण भएको नोक्सानीको क्षतिपूर्ति मूल्यवृद्धि, सरकार तथा विविध माध्यम प्रयोग गरेर गरिसकेका छन् । अर्कातर्फ गरिब झन्–झन् गरिब भएका छन् । यसबाट विविध भौतिक र आर्थिक घटना–परिघटनामा धनी र गरिबबीचको दूरी झन्–झन् बढ्दै गइरहेको छ भन्ने बुझिन्छ । राज्यसत्ताले प्रस्तुत गर्ने ‘सकल घरेलु उत्पादन’ (जिडिपी) मा देखाउने वृद्धि तथा घट्दो गरिबीको खुसी यस्तो बादल हो, जो केही खास महलको छानामा मात्र बर्सिन्छ, बाँकीको ओठ त तिर्खाएकै हुन्छ ।
गरिबहरूमा धनी हुनुको तिर्खा भने जीवित रहनुपर्छ । यो धनी हुने तिर्खा नै हो, जसले गरिबलाई लोभ्याउन राजनीतिक पार्टी र सत्ताका निम्ति अवसर सिर्जना गर्छ । वस्तुतः विविध ब्यानरमा खुलेका धनी वर्गका पार्टीहरू, आर्थिक र सांस्कृतिकलगायत विविध संरचना राज्यसत्ताले सिर्जना गरेका भ्रमपूर्ण प्रतिनिधिमूलक संस्था हुन् । यी संस्था प्रत्यक्षतः गरिबको पक्षमा क्रियाशील हुँदैनन्, तर आफूहरू गरिबको पक्षमा रहेको राग भने अलापिरहन्छन् ।
उदाहरणका रूपमा प्रतिनिधिसभा र प्रदेश सभाको आसन्न निर्वाचनलाई लिऊँ । हिजोसम्म एकअर्कालाई निकृष्ट गालीगलोज गर्दै आएका पार्टीहरू, आफ्ना घोषित वैचारिक र वर्गीय प्रतिबद्धतालाई किनारा लगाउँदै एक आपसमा गठजोड गर्दै छन् । कुनै वेला एकअर्कालाई प्रतिगमनको मतियार र आतंकवादी भन्ने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी (वैचारिक रूपमा पुरानो एमालेको एउटा हिस्सा) एउटै गठबन्धनमा छन् । सँगसँगै ओलीलाई प्रतिगमनको प्रतीक बनाएर एउटा मोर्चामा सामेल यी दलहरू सिटको ताल नमिले गठबन्धन भत्काउन पनि तयार मुद्रामा देखिन्छन् । अर्कातर्फ आफूबाहेक अरू कोही वामपन्थी नभएको दाबी गर्ने एमाले चुनावी उद्देश्यका निम्ति राजतन्त्रवादी राप्रपासँग तालमेल गर्न पनि तयार देखिन्छ ।
राजनीतिक पार्टीहरू आआफ्नो वैचारिक प्रतिबद्धताअनुसार जनतामाझ आउनुपर्ने हो । तर, निर्वाचनमा जित्नका निम्ति दाउपेच र गठबन्धनको चर्चाबाहेक अरू केही छैन । बालेनको अभियानको समर्थन र विरोधको पछाडि पनि निर्वाचनमा लाभ र हानि नै मुख्य कारण लुकेको देखिन्छ । गरिबको हितको समर्थनले निर्वाचन जिताउन सक्दैन । किनभने, गरिबहरू राजनीतिक रूपमा गोलबन्द छैनन् । त्यसैले, उनीहरू निर्वाचन होस् वा अधिकारको राजनीतिक संघर्ष, दुवै स्तरमा हाल कमजोर छन् ।
यस दृष्टिले गरिब र श्रमिक वर्गलाई खुसी पार्नुभन्दा धनी वर्गको स्वार्थपूर्ति तथा पहाडिया, मधेसी, दलित, महिला, धार्मिक र राष्ट्रवादी संकीर्णताजस्ता जातीय, क्षेत्रीय तथा सांस्कृतिक संकीर्ण उत्तेजना फैलाउनु निर्वाचनमा बढी फाइदा पु¥याउने मौका हुन सक्छ । राजनीतिक दलहरू यही गर्दै छन् । बालेन पनि यसै राज्यसत्ताका अंग हुन् र उनको सोच्ने तरिका पनि भिन्न छैन । आउने निर्वाचनमा सडकहरू चिल्ला र अवरोधमुक्त हुन सक्छन्, तर केही नयाँ हुने सम्भावना छैन । अन्य वर्ग र समुदाय गोलबन्द भएजस्तै गरिब र श्रमिक वर्ग पनि राजनीतिक उद्देश्यमा गोलबन्द नभएसम्म उनीहरूको पक्षमा परिणाम आउने सम्भावना छैन, किनभने चिन्तन र संस्कृति पुरानै छ ।