मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ १९ आइतबार १६:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब भरतपुरमा पनि भूमिगत तार, प्रचण्डले गरे उद्घाटन

Read Time : < 1 मिनेट
२०७९ भदौ १९ आइतबार १६:३८:००

नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त कार्यको शिलान्यास गरे।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरका मुख्य क्षेत्रहरूमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर र चार सय भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गरिनेछ। साथै २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरूको क्षमता बढाउने तथा नयाँ थपिनेछ।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ। यसै कार्यक्रमलाई कास्कीको पोखरा र भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी क्षेत्रमा विस्तार गरिएको हो।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो। आयोजनाको निर्माणका लागि असोज ०७८ मा टाटा प्रोजेक्ट लि. भारतसँग एक करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।