मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण उप्रेती
२०७९ भदौ १७ शुक्रबार ०८:४१:००
Read Time : > 5 मिनेट
विश्व प्रिन्ट संस्करण

ल्याटिन अमेरिकी अनुभव क्रान्तिकारी वाचा : पूरा गर्न होइन, चुनाव जित्न

Read Time : > 5 मिनेट
श्रवण उप्रेती
२०७९ भदौ १७ शुक्रबार ०८:४१:००

चिलीमा एक ट्याटु खोपेका पूर्वविद्यार्थी अभियन्ता ग्य्राब्रियल बोरिकले देशलाई दशकौँयताकै ठूलो परिवर्तन दिलाउने वाचा गरेर राष्ट्रपति पद जिते । चुनावी अभियानमा उनले सामाजिक सुरक्षाको व्यवस्थालाई विस्तार गर्ने र त्यसको खर्च धनीहरूले तिर्ने करको दर बढाएर व्यहोर्ने बताएका थिए । पेरुमा पनि एक गरिब किसानका छोरा पेड्रो क्यास्टिलो आर्थिक रूपमा संघर्षरत घरपरिवारलाई प्राथमिकता दिने, भोकाएकालाई खुवाउने र स्वास्थ्य तथा शिक्षामाथि लामो समयदेखि कायम असमानतालाई सच्याउने वाचा गरेर राष्ट्रपति बनेका छन् । 

कोलम्बियामा पूर्वसशस्त्र विद्रोही तथा लामो समयदेखि वामपन्थी विधायक रहेका गुस्ताभो पेट्रो राष्ट्रपति चुनिएका छन् । कोलम्बिया स्वतन्त्र भएपछिको पहिलो वामपन्थी राष्ट्रपति चुनिएका पेट्रोले आदिवासी, अश्वेत र गरिब कोलम्बियालीको पक्षमा लड्ने र सबैका लागि काम गर्ने अर्थव्यवस्था निर्माण गर्ने वाचा गरेका छन् । ‘यो जित कोलम्बियाका लागि, ल्याटिन अमेरिकाका लागि र विश्वकै लागि हो,’ आफ्नो विजयी भाषणमा पेट्रोका यी उद्गारलार्ई भिडले तालीले समर्थन गरेका थिए ।

वर्षौंसम्म दक्षिणपन्थी राजनीतितर्फ ढल्किएको ल्याटिन अमेरिकामा पुनः वामपन्थी लहर छाएको छ । पछिल्लो लहर सन् २०१८ मा मेक्सिकोमा एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरको चुनावी जितपछि सुरु भएको हो । यही लहरको अन्तिम कडीका रूपमा यो वर्षको अन्त्यतिर ब्राजिलमा वामपन्थी उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा अक्टोबरमा चुनाव हुँदै छ । हालसम्मको सर्वेक्षणले पूर्वराष्ट्रपति तथा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले वर्तमान राष्ट्रपति तथा दक्षिणपन्थी नेता जैर बोल्सोनारोलाई ठूलो भिन्नताले उछिन्ने देखाएको छ । 

दक्षिण अमेरिकामा आएको पछिल्लो वामपन्थी लहरमा देखिएका नेताहरूलाई सत्तामा पुर्‍याउन विभिन्न शक्तिको मेल देखिन्छ । यसमा दीर्घकालीन गरिबी र असमानताले सत्ताविरुद्ध उत्पन्न गरेको जनआक्रोश सबैभन्दा प्रमुख शक्ति रह्यो । अनि पहिलेदेखि संस्थापनप्रति कायम जनअन्तुष्टिलाई महामारीले थप बढाइदियो । तर, जसै नयाँ नेताहरूले कार्यालय सम्हाल्न थाले, उनीहरूका चुनावी वाचाले कठोर यथार्थको सामना गर्न थालेका छन् । युरोपमा जारी युद्धले इन्धनदेखि खाद्यान्नसम्ममा मूल्यवृद्धि गरेपछि यी मुलुकका विपन्न मतदाताको कठिनाइ थप बढेको छ । यसले गर्दा केही समयअघि मात्र चुनिएका वामपन्थी नेतृत्वको लोकप्रियता दर घटिसकेको छ । 

चिलीका गेब्रियल बोरिक, पेरुका पेड्रो कास्टिलो र कोलम्बियाका गुस्ताभो पेट्रोले चुनावमा विपन्न र सीमान्तकृतहरूलाई सहयोग गर्ने वाचा गर्दै चुनाव त जिते, तर अहिले उनीहरू सत्तामा पुगेर हिजो आफैँले गरेको वाचा पूरा गर्ने कठिन चुनौती भोगिरहेका छन् । यो सहस्राब्दीको पहिलो दशकमा ल्याटिन अमेरिकालाई छोपेको वामपन्थीको अघिल्लो लहरलाई ‘कमोडिटी बुम’ले सघाएको थियो । त्यस समय सरकारको आय बढेको थियो र त्यस आयलाई चुनिएका वामपन्थी नेताहरूले सामाजिक कार्यक्रम विस्तार गर्न प्रयोग गरेका थिए । यसले एकैपटक धेरै ठूलो संख्यामा मानिसलाई गरिबीबाट निकालेर मध्यम वर्गमा तान्यो ।

तर अहिले मध्यम वर्ग खुम्चिँदै छ । आर्थिक वृद्धिको सुविधा त परको कुरा अहिले सरकारहरू सामान्य अवस्थामा समेत छैनन् । उनीहरू महामारीलक्षित बजेट पास गर्न बाध्य छन् । युक्रेनमा जारी युद्धले निम्त्याएको विकराल मुद्रास्फीति र जलवायु परिवर्तनले सिर्जना गरेका आर्थिक र सामाजिक परिणामको सामना हरेक सरकारले गर्नुपरेको छ । सन् २०१९ मा दक्षिणपन्थी उम्मेदवारलाई हराएर सत्तामा आएका अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले आफैँले प्रदर्शनकारीको विरोध सामना गर्नुपरेको छ । मानिसहरू बढ्दो महँगीको विरोधमा सडकमा उत्रिरहेका छन् । 

वुड्रो विल्सन इन्टरनेसनल सेन्टर फर स्कोलर्सकी फेलो सिन्थिया आर्नसन पछिल्लो स्थितिको विश्लेषण गर्दै भन्छिन्, ‘म त्यति निराशावादी हुन चाहन्नँ, तर यस क्षेत्रलाई एकैचोटि धेरै कुराले धक्का दिइरहेकाले ठूलो आँधीअघिको समयजस्तो स्थिति देखिन्छ ।’ सामाजिक सञ्जालको आगमनले मानिसको असन्तुष्टिलाई विकराल बनाउने मञ्च दिएको छ । चिल्ली र कोलम्बियामा मानिसको यो शक्ति देखिएको थियो । कोलम्बिया र चिलीका नवनिर्वाचित राष्ट्रपतिहरू विगतका वामपन्थीभन्दा सामाजिक रूपमा धेरै प्रगतिशील छन् । उनीहरू देशको अर्थतन्त्रलाई खनिज इन्धनमुक्त बनाउन आह्वान गरिरहेका छन् । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन अधिकारलाई निमोठिरहँदा उनीहरू गर्भपतन अधिकारको वकालत गरिरहेका छन् । तर, समग्रमा हेर्दा पछिल्लो छिमलका नेताहरूको विचारधारा मिश्रित देखिन्छ । 

चिलीका गेब्रियल बोरिक, पेरूका पेड्रो कास्टिलो र कोलम्बियाका गुस्ताभो पेट्रोले चुनावमा विपन्न र सीमान्तकृतलाई सहयोग गर्ने वाचा गर्दै चुनाव जिते, तर सत्तामा पुगेरपछि वाचा बिर्सिए

उनीहरूबीच आर्थिक नीतिदेखि प्रजातान्त्रिक सिद्धान्तप्रतिको प्रतिबद्धतासम्म भिन्नता छ । पेट्रो र बोरिकले तिनको देशका गरिबका लागि बृहत्तर सामाजिक कार्यक्रम विस्तार गर्ने वाचा गरेका छन् । मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोरचाहिँ खर्च कटौतीमा केन्द्रित छन् । यी नेताहरूलाई जोड्ने एउटै समान कुरा हो, व्यापक परिवर्तनको वाचा र यो वाचाले ठूलो अग्निपरीक्षणको सामना गरिरहेको छ । गत वर्षको अन्त्यमा चिलीमा बोरिक पूर्वतानासाह अगस्टो पिनोचेसँग सम्बन्ध भएका दक्षिणपन्थी राजनीतिज्ञ जोसे एन्टोनियो कास्टलाई हराएर सत्तामा आएका थिए । चुनावमा उनले देशले अवलम्बन गर्दै आएको नवउदारवादी आर्थिक नीतिहरूलाई उल्ट्याउने वाचा गरेका थिए । तर, सत्तामा आएको केही महिनापछि बोरिकले गठन गरेको अनुभवहीन मन्त्रिपरिषद्, विभाजित संसद्, बढ्दो महँगी र देशको दक्षिणमा बढ्दो अशान्तिले बोरिकको समर्थन दर घटेको छ । 

क्याडेमले यो महिना गरेको मतसर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशतले देशको अर्थतन्त्र जमेको वा उल्टो दिशामा जान लागेको जवाफ दिएका थिए । यस क्षेत्रका अन्य मुलुकले जस्तै चिलीले पनि अहिले पुस्तौँपछिको ठूलो महँगी सामना गरिरहेको छ । ११.२ प्रतिशतको मुद्रास्फीति दरले दैनिक जीवन निकै कठिन बनेको छ । दक्षिणी चिलीमा देशको सबैभन्दा ठूलो आदिवासी समूह मापुचे र राज्यबीचको भूमिसंघर्ष २० वर्षकै सबैभन्दा उग्र बनेको छ । यसबीच बोरिकले चुनावमा गरेको एउटा वाचाबाट पछि हट्दै ती क्षेत्रमा सेना परिचालन गरेका छन् । 

उत्तरी चिलीको एन्टोफागास्ताकी बस्ने ३७ वर्षीया मानव संसाधन प्रबन्धक क्याटालिना बेसेराले उनको पुस्ताका धेरैले जस्तै बोरिकलाई मतदान गरेको बताइन् । ‘किनभने अर्का उम्मेदवार कास्टले मजस्तालाई थोरै पनि प्रतिनिधित्व गरेनन् । तर, बोरिकलाई मत दिँदा उनले देशका लागि के गर्न सक्छन् भन्नेमा भने सोचिएनछ । उनी आफँैले गर्ने भनेका कुरा पनि केही गरेका छैनन्,’ बेसेराले भनिन् । 

सेप्टेम्बरमा चिलीवासी लैंगिक समानता, वातावरणीय संरक्षण र आदिवासी अधिकारजस्ता विषय समेटिएका एक प्रगतिशील संविधानमा मतदान गर्न जाँदै छन् । संविधानसभाले पिनोचेकालीन संविधानलाई प्रतिस्थापन गर्न बनाएको संविधानको स्वीकृतिलाई राष्ट्रपतिले आफ्नो सफलताको आधार बनाएका छन् । तर, आजको स्थितिमा संविधान अस्वीकृत हुने सम्भावना धेरै देखिन्छ । यसले राष्ट्रपतिको लोकप्रियतामा ठूलो धक्का पुर्‍याउने देखिन्छ ।

 छिमेकी पेरुका राष्ट्रपति क्यास्टिलोलाई एक वर्षअघि थोरै मानिसले मात्र चिन्थे । तर, उनी पूर्वतानासाह अल्बर्टो फुजिमोरीकी करियर राजनीतिज्ञ छोरी केइको फुजिमोरीलाई हराएर राष्ट्रपति बने । अल्बर्टो पेरुमा नवउदारवादी नीतिका प्रवर्तक मानिन्छन् । केही पेरुभियनले क्यास्टिलोेलाई फुजिमोरीविरुद्धको मतका रूपमा मत दिएका थिए । तर, देशका विपन्न र ग्रामीण मतदाताले उनलाई ठूलो आशाका साथ हेरेका थिए । चुनावी अभियानमा उनले किसानलाई अनुदान बढाउने, ऋणमा पहुँच दिने र प्राविधिक सहायता दिलाउने वाचा गरेका थिए । 

ल्याटिन अमेरिकामा जुन वाचा गरेर वामपन्थी नेताहरूले चुनाव जितेका छन्, सत्तासीन भएपछि ती पूरा गर्न भने असफल भएका छन्

तर, आज क्यास्टिलोका हरेक दिन आफ्नो पद जोगाउनमै बितिरहेको छ । उनीसँग शासनको कुनै योजना देखिँदैन, उनी आफ्नो उग्र वामपन्थी पार्टी र उग्र दक्षिणपन्थी विपक्षीबीचको तानातानबाट उम्किन सकिरहेका छैनन् । अहिले उनलाई यो विभाजित राजनीतिले समस्या सिर्जना गरेको भए पनि हिजो यही स्थितिले उनको जितको बाटो खोलेको थियो । पदमा आएको छोटो अवधिमै उनले दुई महाभियोगको सामना गरिसकेका छन् । उनको सरकारको सातजना मन्त्री फेरिइसके । यी राजनीतिक समस्याबीच इन्स्टिच्युट अफ पेरुभियन स्टडिजले गरेको मत सर्वेक्षणमा क्यास्टिलोको लोकप्रियता दर १९ प्रतिशत देखिएको छ । उनले वाचा गरेको कृषि सुधार ठोस नीतिमा बदलिएको छैन । बरु खाद्यान्न, इन्धन र मलको मूल्य निरन्तर बढिरहँदा उनलाई सबैभन्दा धेरै मत दिने विपन्न वर्ग नराम्ररी प्रभावित बनेको छ ।

किसानले रासायनिक मल नदेखीकनै वर्षको सबैभन्दा ठूलो रोपाइँको सिजन आइपुगेको छ । धेरैले यसलाई दशकौँयताको ठूलो संकट बताएका छन् । पहिले पेरुले रुसबाट मल किन्ने गथ्र्यो तर युक्रेन युद्धपछि सिर्जित विश्वव्यापी आपूर्ति अवरोधले रुसी मलको आयात बन्द भएको छ । अनुसन्धान संस्थान ग्रेडका अन्वेषक एडुआर्डो जेगाराले अहिलेको मल अभावलाई ‘अभूतपूर्व’ भनेका छन् । ‘यसले ठूलो अस्थिरता ल्याउने सम्भावना छ,’ जेगारा भन्छन् । राजधानी लिमा छेउको गरिब पहाडी भेगमा धेरै अभिभावकले बालबच्चाको पेट भर्न आफूले एक छाक छाड्न थालेका छन् । ‘हामीले क्यास्टिलोको सरकारले केही फरक गर्नेछ भनेर उनलाई मत दियौँ । तर, उनले केही कदम उठाइरहेका छैनन्,’ तीन वच्चाकी आमा २९ वर्षीया गृहिणी रुथ क्यान्चारी भन्छिन् । 

कोलम्बियामा पेट्रोले उस्तै चुनौतीको सामना गर्दै छन् । देशमा गरिबी बढेको छ । ४० प्रतिशत घरपरिवारको मासिक आय सय डलरभन्दा कम छ । यो सरकारले तोकेको मासिक न्यूनतम ज्यालाभन्दा आधाभन्दा कम हो । अर्कोतर्फ मुद्रास्फीति लगभग १० प्रतिशत पुगेको छ । यी आर्थिक त्रासका बाबजुद राष्ट्रपति पद सम्हाल्नुअघि पेट्रोले चालेका केही कदमले उनको लोकप्रियतामा असर पर्न दिएको छैन । उनले शपथग्रहण गर्नुअघि बारम्बार राष्ट्रिय सहमतिका लागि आह्वान गरे । उनले आफ्नो सबैभन्दा ठूलो राजनीतिक प्रतिद्वन्द्वी पूर्वदक्षिणपन्थी राष्ट्रपति अल्भारो उरिबेलाई भेटे । र, अर्थमन्त्रीमा देशमा निकै सम्मानित, तुलनात्मक कन्जर्भेटिभ र यल विश्वविद्यालयमा पढेका व्यक्तिलाई नियुक्त गरेका छन् । 

राष्ट्रिय मेलमिलापका यी कदमले गर्दा पेट्रोको शासन ठूलो ध्रुवीकरणमा पर्नबाट बच्ने राजनीतिशास्त्री ड्यानियल गार्सिया–पेना प्रक्षेपण गर्छन् । अनुभवी अर्थमन्त्रीको चयनले कोलम्बियाको अर्थतन्त्रको पुनर्जीवनमा कायम भयलाई शान्त पारेको छ । पेट्रोले भर्खरै पद सम्हालेका भए पनि दक्षिण अमेरिकी राजनीतिमा हनिमुन अवधि छिटै समाप्त हुने भएकाले उनीसँग राहत वितरण सुरु गर्ने महत्वपूर्ण समय थोरै मात्र बाँकी छ । ‘पेट्रो आफ्ना मतदाताको सहयोगका लागि अघि आएनन् भने सामाजिक आन्दोलनको सामना गर्न उनी तयार रहनुपर्छ । पेट्रो सरकारले आफ्ना वाचा पूरा गरेन भने हामी विरोधमा उत्रिनेछौँ,’ पेट्रोलाई मत हालेकी वातावरण अभियन्ता ३० वर्षीया हर्नान मोरान्टेस भन्छिन् । 
न्युयोर्क टाइम्स