ब्रिटिस कन्जर्भेटिभ पार्टीभित्रकी दक्षिणपन्थी राजनीतिज्ञ लिज ट्रस आगामी प्रधानमन्त्रीका लागि भइरहेको दौडमा अग्रस्थानमा छिन् । विभिन्न विवादमा तानिएर बोरिस जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएपछि नयाँ प्रधानमन्त्री खोज्ने दौड सुरु भएको थियो । यसमा ४७ वर्षीया ट्रस भारतीय मूलका ऋषि सुनकसँग अन्तिम चरणमा पुगेकी छिन् । यी दुईजनामध्ये को बेलायतको भावी प्रधानमन्त्री हुनेछन्, त्यसको निर्णय सेप्टेम्बर ५ मा हुँदै छ ।
सन् २०१० मा पहिलोपटक सांसद भएकी ट्रस त्यसको चार वर्षपछि पहिलोपटक मन्त्री बनेकी थिइन् । त्यस समय उनले तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनको क्याबिनेटमा वातावरण, खाद्य तथा ग्रामीण मन्त्रालयको राज्यमन्त्री पद सम्हालेकी थिइन् । पछि उनले थेरेसा मे र जोनसन नेतृत्वका सरकारमा पनि विभिन्न मन्त्रालयको नेतृत्व गरिन् । सन् २०२१ देखि उनी जोनसनको क्याबिनेटमा विदेशमन्त्रीको महत्वपूर्ण शीर्ष भूमिकामा छिन् ।
ट्रस सधैँ कन्जर्भेटिभ भने थिइनन् । उनका आमाबुवा वामपन्थी थिए र किशोरकालमा उनी मध्यपन्थी दल लिबरल डेमोक्र्याटकी सदस्य थिइन् । १९ वर्षको उमेरमा उनले एकपटक ब्रिटिस राजतन्त्रको उन्मूलनको पक्षमा वकालतसमेत गरेकी थिइन् । अहिले भने ट्रस दक्षिणपन्थी विचारधारा बोक्ने कन्जर्भेटिभ पार्टीको पनि दक्षिणपन्थी गुटमा छिन् र खुला व्यापारको कडा हिमायती भएकी छिन् । ‘त्यस अर्थमा उनी असमानता घटाउने पक्षको स्वाभाविक समर्थक होइनन्,’ लिभरपुल विश्वविद्यालयका ब्रिटिस राजनीतिका अध्यापक डेभिड जेफरी टिप्पणी गर्छन् । जब कि अहिलेको बोरिस जोनसनको सरकारले असमानता कम गर्ने नीति ल्याएको थियो ।
बेलायत युरोपेली संघमा रहने कि नरहने भन्ने विषयमा सन् २०१६ जुनमा भएको ब्रेक्जिट जनमतसंग्रहमा ट्रसले जोनसनभन्दा विपरीत संघमै रहने पक्षमा प्रचार गरेकी थिइन् । जनमतसंग्रहको समयमा ‘युरोपेली संघमा रहने’ पक्षमा उभिएकी ट्रसले पछि कित्ता परिवर्तन गरिन् । अहिले उनी कट्टर ‘ब्रेक्जिट’ पक्षधर नेताजस्तो सुनिन्छिन् । ट्रस उनका प्रतिद्वन्द्वी ऋषि सुनकविपरीत विभिन्न विवादपछि पनि जोनसनलाई नछाड्ने थोरै मन्त्रीमध्ये एक हुन् । उनको यो निष्ठाको भावलाई पार्टीभित्र सराहना गरिएको देखिन्छ । त्यसैले पार्टी कार्यकर्तामाझ उनी अहिले पहिलो रोजाइमा रहेको बताइन्छ । उनले कन्जर्भेटिभ पार्टीका शीर्ष राजनीतिज्ञहरू वालेस र प्रधानमन्त्री पदका लागि पूर्वआकांक्षी टम टुगेनधटको समेत समर्थन पाएकी छिन् । सेप्टेम्बर ५ मा यस प्रतिस्पर्धाको अन्तिम नतिजा आए पनि कैयौँ मतसर्वेक्षणले अहिले नै ट्रसको जितको सम्भावना उच्च देखाइरहेका छन् ।
४७ वर्षीया ट्रस भारतीय मूलका ऋषि सुनकसँग अन्तिम चरणमा पुगेकी छिन् । यी दुईजनामध्ये को बेलायतको भावी प्रधानमन्त्री हुनेछन्, त्यसको निर्णय सेप्टेम्बर ५ मा हुँदै छ ।
अहिले उनको जितको सम्भावना देखिए पनि समय अझै बाँकी रहेकाले सुनकले सदस्यहरूलाई आकर्षित गर्न सक्दो प्रयास गर्ने र त्यसले मत परिणामलाई असर पार्न सक्ने एडिनबर्ग विश्वविद्यालयका राजनीतिशास्त्रका वरिष्ठ अध्यापक एलन कन्भरी बताउँछन् । विदेशमन्त्रीको रूपमा ट्रसले अन्तर्राष्ट्रिय राजनीतिमा बेलायतको भूमिकालाई सुदृढ पार्ने प्रयास गरेकी थिइन् । यस क्रममा उनले ‘ग्लोबल ब्रिटेन’ ब्रान्डलाई प्रवद्र्धन गरिन् । सन् २०२१ मा ट्रसले चाथम हाउसमा गरेको भाषणमा बेलायती विदेश नीतिबारे आफ्नो बुझाइ प्रस्तुत गरेकी थिइन् । त्यहाँ उनले स्वतन्त्र शासन र रुस तथा चीनजस्ता अधिनायकवादी शासनबीचको वैचारिक संघर्षमा बेलायतलाई स्वतन्त्र शासन व्यवस्थाको एक शक्तिका रूपमा प्रस्तुत गरिन् । ट्रसले प्रशान्त सागरसँग जोडिएका ११ मुलुकहरूबीचको ‘कम्प्रिहेन्सिभ एन्ड प्रोग्रेसिभ ट्रेड एग्रिमेन्ट (सिपिटिपिए)’लाई चीनविरूद्धको किल्ला बताइन् । त्यसमा लन्डन पनि सामेल हुने उनको भनाइ छ ।
द इकोनोमिस्ट म्यागेजिनले पछि ट्रसका यी विचारलाई ‘सारमा थ्याचरको विचारसँग नजिक’ भनेर औँल्यायो । ट्रस आफैँ सार्वजनिक रूपमा आफू पूर्वब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरकी ठूलो प्रशंसक भएको दोहोर्याइरहन्छिन् । थ्याचरको प्रशंसकका अतिरिक्त ट्रसले उनैलाई पछ्याएकोसमेत देखिन थालेको छ । केही महिनायता उनी विभिन्न अवसरमा थ्याचरजस्तै देखिने पहिरनमा देखापर्ने गरेकी छिन् । मस्को भ्रमणको समयमा उनले लामो कोट र भुत्ले टोपी लगाएकी थिइन्, जुन पहीरन ३५ वर्षअघि मस्को भ्रमणमा थ्याचरले लगाएजस्तै देखिन्छ । त्यस्तै, ट्रसले पनि थ्याचरले जस्तै ३० अर्ब पाउन्ड(३७ अर्ब डलर) कर कटौतीको वाचा गरेकी छिन् । थ्याचरले सन् १९८० को दशकमा आयकर घटाएकी थिइन् ।
ट्रसका अनुसार कर कटौतीले महँगीलाई नियन्त्रण गर्नेछ भने आर्थिक वृद्धिलाई बढवा दिनेछ । थ्याचरको आर्थिक नीतिको प्रमुख विशेषता अर्थतन्त्रको आपूर्ति पक्षमा जोड दिनु थियो, ‘ट्रसोनोमिक्स’ नाम दिइएको ट्रसका प्रस्तावमा पनि आपूर्ति पक्षमा जोड दिइएको छ । ट्रसको योजनामा कर्पोरेट आयकर बढाउने योजनालाई खारेज गर्ने कुरा पनि समावेश छन् । त्यस्तै, उनले सामाजिक सुरक्षामा भएको पछिल्लो वृद्धिदरलाई पनि उल्ट्याउने बताएकी छिन् । सांस्कृतिक मोर्चामा, ट्रसले ‘पहिचानको राजनीति’विरुद्ध युद्ध नै घोषणा गरेकी छिन् । ‘ट्रसले अक्सर आफूलाई थ्याचरजस्तो देखाउने प्रयास गरेकोमा कुनै शंका छैन । तर, जहाँ थ्याचरमा उनको देश कस्तो हुनुपर्छ भन्ने स्पष्ट विचार थियो, ट्रसमा उही दृष्टिकोण छ भन्ने खुलेको छैन । थ्याचरप्रतिको ट्रसको प्रशंसा (र, यस सन्दर्भमा सुनकको समेत) खासमा थ्याचरबारे तिनको आंशिक बुझाइमा आधारित छ,’ जेफरी भन्छन् ।
ट्रस सधैँ कन्जरभेटिभ भने थिइनन् । उनका आमाबुबा वामपन्थी थिए र किशोरकालमा उनी मध्यपन्थी दल लिबरल डेमोक्र्याटकी सदस्य थिइन् ।
ट्रसले बोरिस जोनसनको बहिर्गमनपछि पनि उनका नीतिको निरन्तरताको प्रतिनिधित्व गर्छिन्, विशेष गरी ब्रेक्जिटको सम्बन्धमा उनी जोनसनकै अनुयायी हुन् । युरोपेली संघबाट बाहिरिने विषयमा भएका वार्तामा ट्रस कठोर वार्ताकारका रूपमा प्रस्तुत भएकी थिइन् । भोलि प्रधानमन्त्रीका रूपमा पनि उनले यही प्रवृत्तिलाई निरन्तरता दिइन् भने त्यसले युरोपेली संघ र संयुक्त अधिराज्यबीच सुल्झिनबाँकी मुद्दा सल्ट्याउन सघाउँदैन ।
सन् २०१७ मा ब्रेक्जिट सम्बन्धमा ट्रस ‘किन संघमा रहनुपर्ने’ समूहबाट ‘संघबाट बाहिरिनुपर्ने’ समूहमा युटर्न लिएको भन्ने प्रश्नमा ट्रसले ‘(संघबाट छुट्टिएपछि) सोचिएजस्ता ठूला आर्थिक समस्या नआएको’ र ‘संघ छाड्दाको अवस्थामा नयाँ अवसर देखेको’ प्रतिक्रिया दिएकी थिइन् । उनले अब आफूलाई ब्रेक्जिटका अवसर पहिचान गर्न सक्ने नेताको रूपमा प्रस्तुत गरेकीले ज्याकोब रिजमोगजस्ता ब्रेक्जिट पक्षधर नेताहरू उनी पक्षमा उभिएका छन् । ट्रसले बेलायतको आगामी प्रधानमन्त्रीको रूपमा सुनकले भन्दा बढी जोनसनको निरन्तरतालाई प्रतिबिम्बित गर्नेछिन् । ‘प्रधानमन्त्री कार्यालयमा रहँदा ट्रसले जोनसनकालीन उत्ताउला प्रवृत्ति हटाउन सक्छिन्, तर उनले ब्रसेल्स (युरोपेली संघको मुख्यालय)सँगको कटु सम्बन्धलाई निरन्तरता दिनेछिन् । तथापि, उनले कर कटौतीको वाचा पूरा गरिन् भने जोनसन सरकारका आर्थिक प्राथमिकता परित्याग गरेको हुनेछ,’ एडिनबर्ग विश्वविद्यालयका प्रध्यापक एलान कन्भोरीको टिप्पणी छ ।
एजेन्सीहरूको सहयोगमा