मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १९ सोमबार
  • Thursday, 19 December, 2024
नारायण शिवाकोटी
श्रवण उप्रेती
२o७७ असोज १९ सोमबार o७:१९:oo
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रेसिडेन्सियल डिबेटमा मिडिया

अमेरिकी मिडियामाझ खुलेर राजनीतिक पक्षधरता लिने परम्परा छ, तर राष्ट्रपतीय डिबेटका लागि टिभी प्रस्तोतामाझबाट मोडरेटर छान्दा तटस्थ व्यक्ति खोजिन्छ

Read Time : > 7 मिनेट
नारायण शिवाकोटी
श्रवण उप्रेती
नयाँ पत्रिका
२o७७ असोज १९ सोमबार o७:१९:oo

अमेरिकी राजनीतिमा लामो समयदेखि केवल दुई पार्टी, डेमोक्र्याटिक र रिपब्लिकन हावी छन् । सन् १८५२ यताका हरेक निर्वाचन यिनै दुईमध्ये एकले जितिरहेका छन् । सन् १८५६ यता अमेरिकी व्यवस्थापिका (कंग्रेस)मा पनि यिनै दुई दलको आधिपत्य छ । समय–समयमा तेस्रो दलले पनि राज्य एवं राष्ट्रिय तहका व्यवस्थापिकामा स–साना प्रतिनिधित्व प्राप्त नगरेका भने होइनन् । तर, ती दल कहिल्यै स्थापित हुन सकेका छैनन् । यी दलबाट राष्ट्रपति हुने त सम्भावना नै देखिँदैन । राष्ट्रपतीय उम्मेदवार भनेर आमरूपमा डेमोक्रेट्स र रिपब्लिकन पार्टीका उम्मेदवार नै हुन्छन् । 

एकपटक यी दुई पार्टीले आफ्नो राष्ट्रपतीय उम्मेदवार निक्र्योल गरिसकेपछि निर्वाचन उम्मेदवारबीच राष्ट्रपतीय डिबेट हुन्छ । पछिल्लो समय डिबेट (बहस) अमेरिकी राष्ट्रपतीय चुनावको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यसको बहस तत्कालीन समयका सबैभन्दा जल्दोबल्दो विषयमा केन्द्रित हुने गर्छ । राष्ट्रपतीय बहसलाई त्यहाँ कानुनमार्फत नै वैधानिकता दिइएको छ । यसको उद्देश्य चुनावको मुखमा उम्मेदवारको अडानबारे अवगत गराउनु र लोकतन्त्रलाई सबल बनाउने रहेको छ । त्यसका अतिरिक्त कुनै दल वा उम्मेदवारबारे निर्णय नगरिसकेका मतदातालाई उम्मेदवारबारे जानकारी दिनु पनि यसको मनसाय हो । यसैले यो डिबेटलाई मतदाता शिक्षा मानिन्छ । 

अहिले अमेरिकी राजनीतिमा महत्वपूर्ण स्थान ओगटेको राष्ट्रपतीय डिबेटको इतिहास भने त्यति पुरानो छैन । राष्ट्रपतीय डिबेटको सञ्चालन अमेरिकीमाझ टेलिजिभनको प्रयोग व्यापक भइसकेको १९६० बाट सुरु भएको हो । यद्यपि, डिबेटलाई सुरुदेखि नै रेडियोहरूले पनि प्रसारण गर्ने गर्छन् । पछिल्लो समय इन्टरनेटको प्रभाव बढेसँगै ती माध्यमबाट पनि प्रसारण सुरु भएको छ ।

सन् १९६० को चुनावमा पहिलोपटक राष्ट्रपतीय डिबेट सम्पन्न भएको थियो । सिकागोस्थित सिबिएस टिभीको प्रसारण केन्द्रमा सम्पन्न डिबेटमा रिपब्लिकन पार्टीका उम्मेदवार रिचार्ड निक्सन र डेमोक्रेटिक पार्टीका प्रत्यासी जोन एफ. केनेडी सहभागी थिए । दुई प्रत्यासीबीच चार अलग–अलग डिबेट भएका थिए, तर यीमध्ये सबैभन्दा पहिलो डिबेटले धेरै प्रभाव पार्‍यो । सोही बहसले केनेडीलाई राष्ट्रपतिको आसनमा पुर्‍याउन सघाएको मानिन्छ ।

हुन त केनेडी र निक्सनबीचको बहस अमेरिकी चुनावको पहिलो राजनीतिक बहस थिएन । त्यसको सय वर्षअघि नै सन् १८५८ मा अब्राहम लिंकन र स्टफेन ए. डग्लसबीच भएको थियो । तर, सो बहस राष्ट्रपति पदका लागि भएको थिएन । ती दुई इलियानोस राज्यको सिनेट पदका लागि प्रतिस्पर्धा गर्दै थिए । मोडरेटर नराखी खुला स्थानमा सम्पन्न बहसमा दुई नेताले आफ्नो चुनावी मुद्दा सर्वसाधारणसामु राखेका थिए ।

डिबेटको केन्द्रमा तत्कालीन समयमा अमेरिकामा चर्को विवादको विषय बनेको दासप्रथा थियो । लिंकनले दासप्रथालाई प्रश्रय दिन नहुने प्रगतिशील विचार अघि सारेका थिए भने डग्लस यथास्थितिकै पक्षपाती देखिए । बहसलाई लिएर स्थानीय पत्रिकाहरू लिंकन र डग्लसको पक्ष र विपक्षमा बाँडिए । लिंकनले बहसको विषय समेटेर पछि पुस्तक नै निकाले, जुन राज्यभन्दा बाहिर पनि चर्चित बन्यो ।

बहसको व्यापक कभरेजका कारण कम परिचित राजनीतिज्ञ लिंकन एकाएक अमेरिकी राष्ट्रिय राजनीतिमा चर्चामा आए । हुन त सिनेटको चुनाव डग्लसले जिते, तर यो बहसले अब्राहम लिंकनलाई घाटा भने गरेन । सन् १८५८ को बहसका कारण उनी अमेरिकी सर्वसाधारणमाझ परिचित भए र दुई वर्षपछिको राष्ट्रपति चुनावमा बलियो प्रतिस्पर्धी बने ।

निकै ध्रुवीकृत सन् १८६० को राष्ट्रपतीय निर्वाचन अन्ततः लिंकनले जिते । यसपछि एक–दुईपटक राष्ट्रपतीय बहसको प्रयास भए पनि तिनले सार्थक रूप लिन सकिरहेका थिएनन् । त्यसपछि सन् १९४८ र सन् १९५६ मा पनि चुनावी डिबेट भए । तर, ती डिबेट राष्ट्रपतिका अन्तिम दुई उम्मेदवारबीच नभएर पार्टीले आन्तरिक आकांक्षीहरू छनोट गर्न आयोजना गरेका थिए । 

अमेरिकाको प्रभावशाली केनेडी परिवारबाट आएको भए पनि ४३ वर्षका केनेडीलाई अनुभवहीन उम्मेदवारका रूपमा हेरिएको थियो । उनी अमेरिकी राजनीतिमा शक्तिशाली मानिने सिनेटमा विजयी भएको पनि धेरै भएको थिएन । उता, निक्सन भने आठ वर्ष उपराष्ट्रपति रहिसकेका थिए । यसैले अनुभवी, परिपक्व उम्मेदवारको हिसाबमा उनले अग्रता लिएका थिए । उनले यस अग्रताका कारण हुन सक्छ, आत्मविश्वासका साथ पहिलो राष्ट्रपतीय डिबेटको तयारीमा ध्यान दिएनन् ।

बहसको व्यापक कभरेजले लिंकन एकाएक राष्ट्रिय राजनीतिज्ञका रूपमा उदाए । उनले बहसमा उठाइएका विषय समेटेर पछि पुस्तक निकाले, जुन राज्यभन्दा बाहिर पनि चर्चित बन्यो । सिनेटको चुनाव डग्लसले जिते, तर यही बहसको परिणाम अब्राहम लिंकन अमेरिकाभरका आमसर्वसाधारणमाझ परिचित भए र उनी दुई वर्षपछिको राष्ट्रपति चुनावमा बलियो प्रतिस्पर्धीका रूपमा उदाए ।

निक्सनले यस त्रुटिका कारण आफ्नो अग्रता मात्रै गुमाएनन्, राष्ट्रपतीय चुनावमा हार भोगे । निक्सन डिबेटमा एउटा राजनीतिक र्‍याली सकाएर पुगेका थिए । उनको अनुहार एकदम मलिन तथा थकित देखिएकाले डिबेट आयोजकले उनलाई मेकअपको प्रस्ताव राखेको बताइन्छ । तर, उनले आयोजकको प्रस्ताव अस्वीकार गरिदिए । बरु उनकै टिमका मानिसले उनको अनुहारमा रहेको दाह्री काट्दा बसेको डामले असर पार्ने लागेर केही क्रिम दलिदिएका थिए । तर, यसले उल्टो नकारात्मक असर गर्‍यो । डिबेट सम्पन्न भएको कक्षमा एयरकन्डिस्नरको व्यवस्था नहुँदा गर्मी थियो । यसका कारण उत्पन्न पसिनाले उनको क्रिम बगाएकाले अनुहार झनै उत्साहहीन देखिन्थ्यो । 

डिबेट अवधिभर टेलिभिजन पर्दामा निक्सनको मुहार निकै थाकेको र गलेको देखिएको थियो । डिबेटमा निक्सनको यस्तै अनुहार देखेर डिबेट सकिएलगत्तै निक्सनकी आमाले उनलाई फोन गरेर केही बिरामी भएको छ कि भनेर सोधेकी थिइन् रे । उता, केनेडी केही दिनअघिदेखि एक होटेलमा सहयोगीका साथ डिबेटको तयारीमा जुटेका थिए र डिबेटमा आउनुअघि उनले आराम गरेको बताइन्छ । उनको प्रस्तुति निकै सहज तथा आत्मविश्वासी देखिन्थ्यो । निक्सनको प्रस्तुति पनि कमजोर थिएन । तर, प्रस्तुति र बडिल्याङ्ग्वेज विषयमाथि हावी भयो ।

केनेडीले डिबेटका लागि लगाएको चहकिलो कोटले समेत उनलाई फाइदा गरेको बताइन्छ । डिबेट कक्षको भित्ताको रङ र निक्सनको खैरो रङ मिलेकाले श्यामश्वेत टेलिभिजनको जमानामा उनी त्यति खुलेका देखिएका थिएनन् । सन् १९६० को राष्ट्रपतीय डिबेटमा दुई सहभागीको एजेन्डामा खासै भिन्नता थिएन । दुवैले राष्ट्रिय सुरक्षा, कम्युनिजमको खतरा, अमेरिकी सेनाको सुदृढीकरण आदिलाई जोड दिएका थिए । बहसको एक क्षणमा निक्सन आफैँले केनेडीको भनाइमा सहमति जनाएका थिए । ऐतिहासिक रेकर्डका अनुसार निक्सनले सो दिन आफूले तयारीमा जोड नदिएकोमा पछुतो मानेका थिए । पहिलो टेलिभिजन बहसबाटै अमेरिकी राष्ट्रपतीय चुनावमा नीतिभन्दा प्रस्तुति हावी हुने युग सुरु भएको मानिन्छ ।

केनेडीको हत्या, निक्सन (केनेडीसँग हारेका निक्सनले आठ वर्षपछिको राष्ट्रपतीय चुनाव जितेका थिए)को राजिनीतिक स्क्यान्डलजस्ता कुराले सन् १९६० पछिका तीन चुनावमा पुनः राष्ट्रपतीय डिबेट भएन । तिनमा प्रभाव परेको थियो । त्यसपछि एकैपटक सन् १९७६ मा राष्ट्रपतीय डिबेट भयो । डिबेटमा रिपब्लिकन उम्मेदवार जेराल्ड फोर्ड तथा डेमोक्रेटिक प्रतिद्वन्द्वी जिमी कार्टर सहभागी भए । यही डिबेटका क्रममा फोर्डले पूर्वी युरोपमा कुनै पनि सोभियत नियन्त्रण नभएको टिप्पणी गरेपछि उनको जनमत एक्कासि खस्कियो ।

चुनावमा कार्टर विजयी भए । सन् १९८० को राष्ट्रपतीय डिबेटमा कमजोर प्रदर्शन गरेका कारण कार्टरले दोस्रो कार्यकाल शासन गर्न पाएनन् । उनले अभिनयबाट राजनीतिमा प्रवेश गरेका रोनाल्ड रेगनसँग चुनाव हार्नुपर्‍यो । पछि राष्ट्रपतीय डिबेट अमेरिकी राष्ट्रपति चुनावको अनिवार्य हिस्सा भयो । यसलाई व्यवस्थित गर्न सन् १९८७ मा एक स्वतन्त्र निकाय कमिसन अन प्रेसिडेन्सियल डिबेट्सको स्थापना गरियो ।

अमेरिकाका दुई पार्टीले यस निकायको गठनमा सहमति जनाएका थिए । पहिलो राष्ट्रपतीय डिबेट टेलिभिजन च्यानलहरूको प्रयासमा सम्भव भएको थियो । त्यसपछिका तीन डिबेट राजनीतिमा महिलाको सहभागिताको वकालत गर्ने संगठन लिग फर वुमिन भोटर्स नामक संगठनले प्रायोजन गर्‍यो । सन् १९८८ को चुनाव र त्यसपछिका हरेक राष्ट्रपतीय डिबेटको संयोजन तथा प्रायोजन कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले गरिरहेको छ ।

कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले राजनीतिक स्वतन्त्रता कायम गर्नका लागि न कुनै दलबाट अनुदान लिन्छ, न त सरकारबाट नै । उसले निजी अनुदानमार्फत उठाएको पैसाले डिबेट मात्रै गर्दैन, त्यसको तयारीसम्बन्धमा अनुसन्धान पनि गर्ने गर्छ । यो निकायमा अमेरिकाका दुवै ठूला पार्टीका पूर्वपार्टीप्रमुख बस्ने चलन छ । तिनले उम्मेदवार तथा तिनको चुनावी अभियान टिमसँग समन्वय गरेर डिबेटको फम्र्याटमा सहमति कायम गर्छन् । 

कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले डिबेटको मोडरेटरको पनि चयन गर्छ । मोडरेटरका लागि कमिसनले विभिन्न मापदण्ड तोकेको छ । कमिसनको आधिकारिक वेबसाइटका अनुसार मोडरेटरले तीनवटा मापदण्ड पूरा गरेका हुन्छन् : १) उम्मेदवारलाई राम्ररी चिनेको हुनुपर्ने र राष्ट्रपतीय चुनावी अभियानको प्रमुख मुद्दाबारे जानकार हुनुपर्ने, २) प्रत्यक्ष टेलिभिजन कार्यक्रम सञ्चालनको गहिरो अनुभव भएको, ३) डिबेटको प्रमुख ध्यान उम्मेदवारमाथि र तिनका विचारमाथि हुनुपर्छ भन्ने बुझाइ भएको । प्रश्न चयनको सम्पूर्ण जिम्मा भने मोडरेटरको मात्र हुन्छ । प्रश्न उम्मेदवारलाई मात्र होइन, तिनलाई चयन गर्ने कमिसन अन प्रेसिडेन्सियल डिबेट्सलाई पनि देखाउन पाइनेछैन ।

तिनले कुनै पनि चुनावी अभियानका टिमसँग भेट्न पाउँदैनन् र कुनै दलको चुनावी टिमले पनि यही व्यक्तिलाई मोडरेटर बना भन्न पाउँदैन । यो भूमिका भने कमिसन अन प्रेसिडेन्सियल डिबेटको मात्र हुन्छ । विगतमा एकभन्दा बढी मोडरेटर राखिने चलन भए पनि सन् १९९६ देखि भने एउटा डिबेट समारोहलाई एकजना मोडरेटरले नै सञ्चालन गरिरहेका छन् । त्यसको अपवाद भने सन् २०१६ को दोस्रो राष्ट्रपतीय डिबेट समारोह थियो । त्यसलाई एबिसी च्यानलकी मार्था रबाट र सिएनएनका एन्डरसन कुपरले संयुक्त रूपमा सञ्चालन गरेका थिए । 

कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले राजनीतिक स्वतन्त्रता कायम गर्नका लागि न कुनै दलबाट अनुदान लिन्छ, न त सरकारबाट नै । उसले निजी अनुदानमार्फत उठाएको पैसाले डिबेट मात्रै गर्दैन, त्यसको तयारीसम्बन्धमा अनुसन्धान पनि गर्ने गर्छ । यो निकायमा अमेरिकाका दुवै ठूला पार्टीका पूर्वपार्टीप्रमुख बस्ने चलन छ ।
 

अमेरिकी राष्ट्रपतीय बहसको ढाँचाको कुरा गर्दा ती सधैँ एकैनासे हुँदैनन् । कुनै बहसमा उम्मेदवार पोडियममा उभिएका हुन्छन् भने कुनैमा कन्फरेन्स टेबलका दुईतर्फ उम्मेदवार र अर्कातर्फ मोडरेटर हुन्छन् । कस्तो फम्र्याटमा बहस गर्ने, त्यसबारे पहिले नै तय गरिएको हुन्छ । कुनै ओपनिङ स्टेटमेन्ट हुँदैन, क्लोजिङ स्टेटमेन्ट मात्रै राखिन्छ । पहिलो प्रश्नको उत्तर र समापन मन्तव्य कसले दिने टसबाट निक्र्योल गरिन्छ ।

प्रश्न सोधेपछि प्रत्येक उम्मेदवारलाई उत्तरका लागि दुई मिनेट समय दिइन्छ । त्यसपछि प्रतिस्पर्धी उम्मेदवारलाई पूर्ववर्ती उत्तरदाताको उत्तरप्रति प्रतिक्रिया जनाउन र आफ्ना कुरा राख्न एक मिनेट दिइन्छ । मोडरेटरले स्वविवेकमा छलफलको अवधि हरेक उम्मेदवारका लागि ३० सेकेन्डसम्म लम्ब्याउन सक्छन् । पछिल्लो समय जनाउ दिन ट्राफिक लाइटको पनि प्रयोग गरिन थालिएको छ । यसमा हरियो बत्तीले ३० सेकेन्ड, पहेँलोले १५ सेकेन्ड र रातो बत्तीले ५ सेकेन्ड समय बाँकी रहेको जनाउँछ । समय सकिएको जनाउ दिन कहिलेकाहीँ बजरसमेत प्रयोग गरिन्छ ।

अमेरिकी मिडियामाझ खुलेर राजनीतिक पक्षधरता लिने परम्परा छ । त्यस्तो वातावरणमा काम गरेका टिभी प्रस्तोता मोडरेटर हुँदा तिनबाट कुनै एक उम्मेदवारप्रति उग्र पक्षधरता नहोस् भन्ने ख्याल गरिन्छ । पछिल्लो समय हरेकपटकका राष्ट्रपतीय डिबेटहरू अघिल्लाभन्दा उग्र भएको चर्चा चल्ने गर्छ । सन् २०२० को राष्ट्रपतीय चुनावका लागि सेप्टेम्बर २९ मा सम्पन्न पहिलो राष्ट्रपतीय चुनावमा सहभागी दुई उम्मेदवारले विगतका सबै दृष्टान्तलाई बिर्साउने गरी उग्रता देखाएको भन्दै सर्वत्र विरोध भइरहेको छ । तर, राष्ट्रपतीय बहस उम्मेदवारका चुनावी मुद्दामा भन्दा तिनको व्यक्तित्व र प्रस्तुतिमा केन्द्रित हुन लागेको यस्तो स्थिति आउनु स्वाभाविक भएको केही विज्ञले बताउने गरेका छन् ।

उम्मेदवारले राम्रो तयारीमार्फत डिबेटमा आफ्ना कमजोरीलाई ढाकछोप गर्न सक्ने र मानिसलाई भ्रमपूर्ण तरिकाले आकर्षित गर्न सक्ने तिनको विचार छ । उम्मेदवारबारे जानकारी दिने र चुनावी शिक्षाको काम गर्ने भन्ने मूल उद्देश्य गुमिसकेको ती विज्ञको आरोप छ । यस्ता विज्ञ राष्ट्रपतीय डिबेटको औचित्य नरहेको बताउँछन् । त्यसबाहेक अधिकांश राष्ट्रपतीय डिबेटमा प्रमुख दुई दलका उम्मेदवार मात्र सहभागी भएको कुरामा पनि विरोध हुने गर्छ । अमेरिकामा दुई ठूला दलका अतिरिक्त अन्य स–साना दल तथा स्वतन्त्र रूपमा पनि राष्ट्रपतीय उम्मेदवार हुन्छन् । तर, तिनलाई राष्ट्रपतीय डिबेटमा सहभागी नगराइँदा तिनको चर्चा नै हुँदैन । यसले प्रणाली सबैका लागि समान नभएको आरोप लाग्ने गरेको छ । 

तर, राष्ट्रपतीय डिबेटले राष्ट्रपति पदका प्रत्यासीबारे देशभर जानकारी हुने प्लेटफर्म दिएको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । अमेरिका निकै ठूलो देश हो । आकारले यो विश्वको चौथो ठूलो देश हो र जनसंख्याका आधारमा चीन र भारतपछि तेस्रो ठूलो देश हो । राष्ट्रपतिको प्रत्यक्ष चयनले हरेक अमेरिकी मतदातालाई देशको शासनसँग आफू पनि जोडिएको महसुस गराउने विश्वास गरिन्छ । यो विश्वास लिनेहरू राष्ट्रपतीय निर्वाचनले अमेरिकीलाई एकतामा बाँध्न सघाएको मान्छन् । अमेरिकी राजनीति र पहिचानमा यति महत्वपूर्ण स्थान ओगटेको चुनावका उम्मेदवारबारे पूर्ण जानकार हुँदा असल उम्मेदवार छानिने सम्भावना बढी हुने र त्यसले अमेरिकी लोकतन्त्र र सम्प्रभुतालाई सबल बनाउँछ भन्ने धेरैको धारणा देखिन्छ । यो धारणा राख्ने मानिसको संख्या उल्लेख्य भएकाले पनि राष्ट्रपतीय डिबेट यही रूपमा जारी रहने निश्चित छ ।