भविष्यसम्म शक्तिशाली समूहबाट पारदर्शिता माग गर्ने खोज पत्रकारहरूका लागि पानामा पेपर्स महत्वपूर्ण प्रेरणा भइरहनेछ
पानामा पेपर सन् २०१६ अप्रिलमा लिक भएको भए पनि यसको तयारी दुई वर्षअघिदेखि नै सुरु भएको थियो । सन् २०१४ को अन्तिमतिर जोन डो नामक एक छद्म नामधारी व्यक्तिले जर्मन पत्रिका सुडच जाइटुङका पत्रकार बास्टिन ओबरमायरलाई इन्क्रिप्टेट म्यासेज पठाए । जोनले बास्टिनलाई आफूसँग मोसाक फोन्सेकासम्बन्धी ठूलो परिमाणको गोप्य कागजात रहेको बताए । सुडच जाइटुङले त्यसअघि मोसाका फोन्सेकाबारे केही समाचार लेखेकाले ती स्रोत सो पत्रिकाको रिपोर्टरको सम्पर्कमा पुगेका थिए । रिपोर्टर बास्टिनका अनुसार स्रोतले उनीसँग इन्क्रिप्टेड माध्यमबाट मात्र कुराकानी गर्न जोड दिएका थिए । प्रत्यक्ष भेटको आग्रहलाई जोन डोले ‘आफ्नो ज्यान खतरा’मा रहेकाले असम्भव रहेको बताएर टारिदिए । त्यसपछि बास्टिन इन्क्रिप्टेड माध्यमबाट कुराकानी जारी राख्न सहमत भए । बास्टिनले अमेरिकी म्यागजिन ‘वायर्ड’का एन्डी ग्रिनवर्गलाई बताएअनुसार उनीहरूबीच ‘सिग्नल’ र ‘थ्रिमा’जस्ता क्रिप्टो एपबाट संवाद भएको थियो । यस्ता एपमा आदान–प्रदान भएका म्यासेज बलिया गुप्तचर एजेन्सीहरूले पनि चियो गर्न नमिल्ने बताइन्छ ।
जोन डोले पठाएको दस्तावेज पाएपछि जर्मन पत्रिकाले आइसिआइजेलाई पठायो । विश्वभर छरिएर रहेका सयौँ खोज पत्रकार तथा मिडिया संगठनको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’को छोटो रूप आइसिआइजेले स्थापनादेखि नै विभिन्न गैरकानुनी तथा अनैतिक कार्यको पर्दाफास गरेको इतिहास छ । यही इतिहास तथा ठूलो समूहका कारण जर्मन पत्रिकाले आफूले प्राप्त गरेको ठूलो परिमाणको दस्तावेज आइसिआइजेसँग साझा गरेको थियो।
एन्डीको रिपोर्टअनुसार यस परियोजनामा समन्वय गर्न आइसिआइजेका प्रतिनिधि सुडच जाइटुङको मुख्यालय म्युनिख गए । त्यहाँ गएर आइसिआइजेका सफ्टवेयर निर्माताहरूले दुई तहको सुरक्षा रहेको सर्च इन्जिन नै बनाए । त्यो वेबसाइटको ठेगाना इन्क्रिप्टेड इमेलमार्फत विश्वका प्रमुख समाचार संस्थाहरूलाई बाँडियो । उक्त साइटमा रिपोर्टरहरूले संवाद गर्नका लागि च्याटसमेत गर्न मिल्ने व्यवस्था गरिएको थियो । विशेषतः जुन देशको व्यक्तिबारेका कागजात हो, त्यही देशका रिपोर्टरले हेर्ने व्यवस्था गरिएको थियो । कसले कुन दस्तावेजमा काम गरेको हो, त्यसबारेमा खुलेर चर्चा गर्ने व्यवस्था गरिएको थियो ।
विश्वका ७६ देशका झन्डै १०७ मिडिया संस्थासम्बद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन भइरहेको थियो । कागजातको अध्ययन भएको खबर बाहिरिएमा शक्तिशाली तथा धनाढ्यहरूले रिपोर्टिङ प्रभावित पार्ने जोखिम थियो । अध्ययन चलिरहँदा यसको खबर चुहिएला भन्ने डर रहेको बास्टिनले एन्डीसँगको कुराकानीमा बताएका छन् । तर, दुई वर्षको अध्ययनका क्रममा यसको समाचार बाहिरिएन । मिडियाको इतिहासमा एउटै विषयमा संगठित रूपमा यति ठूलो अनुसन्धान पहिलोपटक भइरहेको थियो । दस्तावेजका सामग्री कसरी छाप्ने विषयमा आइसिआइजे र सहकार्य गरेका मिडियाबीच बहस चलिरहेको थियो । आइसिआइजेका निर्देशक गेरार्ड राइल आफूहरू विकिलिक्सजसरी अघि नबढ्नेमा निश्चित थिए ।
केन्द्रीय स्तरमा ओम्नी, बास्कोटा टेप प्रकरण, स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन खर्च र कोभिडका नाममा मच्चिएका डरलाग्दा लुटमाथि खोज पत्रकारिता थालिने हो भने आश्चर्यजनक तथ्यहरू बाहिरिने पक्का छ । यसर्थ पनि यसपटकको मिडिया बहसमा पानामा पेपर्स र आइसिआइजेको पत्रकारितालाई विषय बनाउन खोजिएको हो ।
विकिलिक्सले सन् २०१० मा आफूले प्राप्त गरेका गोप्य दस्तावेजहरू प्रशस्त काटछाँट नगरी छाप्दा कैयौँ निर्दोषको नाम पनि सार्वजनिक भएको थियो । राइलले सम्बद्ध सम्पूर्ण मिडिया संस्थाका रिपोर्टरहरूलाई यो गल्ती नदोहोर्याउन सल्लाह दिएका थिए । अन्ततः सन् २०१६ अप्रिल ३ मा विश्वभरका विभिन्न सञ्चारमाध्यममार्फत लिक सुरु गरियो । झन्डै २,१४,४८८ अफसोर एकाइले मोसाक फोन्सेकाका वकिलसँग गरेको कुराकानी तथा फोन्सेकाले रेकर्डमा राखेको आफ्ना ग्राहकबारेको वित्तीय विवरण समावेश एक करोड १५ लाखभन्दा बढी कागजात सार्वजनिक भएको थियो । पानामा पेपर्स लिकले निकै ठूलो हलचल निम्त्यायो । धनदौलतको बलमा समाजमा नाम र चमकधमकपूर्ण जीवनशैली बाँचेका धनाढ्यदेखि प्रभावशाली राजनीतिज्ञसम्मको काला कर्तुत सबैका सामु सार्वजनिक भयो ।
‘पानामा पेपर्स’को खुलासा (लिक्स)ले कसरी विश्वका धनाढ्य एवं शक्तिशालीले कर छल्न के कति हदसम्म हतकण्ठा अवलम्बन गर्छन् भन्ने सार्वजनिक गरिदियो । आफ्नो सम्पत्ति ट्याक्स हेभेनका व्यवसायमा लगानी गरेको देखाएर बाहिर पुर्याउने र देशको करबाट छल्ने प्रक्रियामा मोसाका फोन्सेकाजस्ता संस्थाले सघाउने रहेछन् । तिनले विभिन्न पहुँच तथा पैसा खुवाएर हुँदै नभएको संस्था सिर्जना गर्ने र तिनमा आफ्नो ग्राहकले लगानी गर्ने गरेको देखाउने रहेछन् । ट्याक्स हेभेन भनिने स्थानमा अत्यन्त न्यून वा शून्य दरको कर व्यवस्था हुन्छ । त्यहाँ लगानी गरेको देखाइदिएबापत मोसाक फोन्सेकाजस्ता संस्थाले ग्राहकबाट केही पैसा त लिन्छन्, तर त्यो रकम तिनका ग्राहकले आफ्नो देशमा तिर्नुपर्ने करभन्दा निकै कम हुने गर्छ । धनीमानीले कर छल्न विभिन्न उपाय अपनाउँछन् भन्ने कुरा पहिले पनि मिडियामा आइरहेकै थियो । तर, पानामा पेपर्सले जुन विकराल स्तरमा यो कार्य भइरहेको छ भन्ने खुलासा गर्यो, त्यसबाट विश्व नै स्तब्ध भयो ।
पानामा पेपर्स सार्वजनिक हुँदा त्यसमा १२ जना तत्कालीन वा पूर्व राज्य तथा सरकार प्रमुखको नाम पनि थियो । त्यस्तै, तिनका नातेदारको नाम पनि तिनमा थियो । पेपर्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका मित्रको नाम थियो भने चीनका राष्ट्रपति सी जिनपिङका जेठानको नामसमेत थियो । उता, ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनका पितादेखि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसम्मको नाम थियो । नेता मात्र होइन, उच्च आय गर्ने खेलाडीदेखि फिल्म स्टारसम्मको नाम पेपर्समा थियो । चर्चित फुटबल खेलाडी मेसीदेखि टाइगर वुडसम्म, ज्याकी च्यानदेखि अमिताभ बच्चनसम्मको नाम पेपर्समा थियो ।
पानामा पेपर्सको खुलासापछि विश्वका थुप्रै मुलुकमा आमप्रदर्शन पनि भए । विशेषतः पेपर्समा नाम रहेका राजनीतिक व्यक्तित्वहरूबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने एवं मुलुकहरूले वित्तीय पारदर्शिता तथा जवाफदेहिता अपनाउनुपर्ने माग भयो । धनी, शक्तिशाली र सत्तासीनप्रतिको अविश्वास चुलियो । पानामा पेपर्ससँग जोडिएको अर्को पाटो पनि छ । पछिल्लो समय विश्वमा आर्थिक असमानताको स्तर निकै विकराल बन्दै गएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतले भ्रष्टाचार करोडौँ मानिसको गरिबीका लागि जिम्मेवार रहेको भन्ने गर्छन् । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सिक्काका दुई पाटा हुन्, सम्पत्ति शुद्धीकरणले भ्रष्टाचारलाई प्रश्रय मात्रै दिइरहेको छैन, अरू वित्तीय अपराधलाई पनि जन्माइरहेको छ ।
विकराल रूपमा बढ्दो असमानताको मुख्य कारण पनि यी दुई परिघटना नै भएको पनि पछिल्लो समय अन्तर्राष्ट्रिय विमर्शमा छ । झन् जारी कोभिड–१९ को संकट त भ्रष्टाचारका लागि बढी नै फापसिद्ध भइरहेको हाम्रै उदाहरणले पनि देखाउँछ । वित्तीय अनुशासन पालना गर्नुनपर्ने अवसरका रूपमा संकटलाई उपयोग गरेर सबै तहमा लुटको अग्घोर धन्दा मौलाइरहेको दिनदिनैका समाचारले पनि पुष्टि गरिरहेकै छन् । केन्द्रीय स्तरमा ओम्नी, बास्कोटा टेप प्रकरण, स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन खर्च र कोभिडका नाममा मच्चिएका डरलाग्दा लुटमाथि खोज पत्रकारिता थालिने हो भने आश्चर्यजनक तथ्यहरू बाहिरिने पक्का छ । यसर्थ पनि यसपटकको मिडिया बहसमा पानामा पेपर्स र आइसिआइजेको पत्रकारितालाई विषय बनाउन खोजिएको हो ।
अक्सफामको रिपोर्टअनुसार विश्वका २१५३ अर्बपतिसँग विश्वका ४.६ अर्ब आमसर्वसाधारणको भन्दा बढी सम्पत्ति हुने स्थिति आएको छ । यो निकै विकराल अवस्था हो । विगतमा यो स्तरका असमानता हुँदा विश्वयुद्ध अथवा अन्य ठुल्ठूला सामाजिक विध्वंस भएको चर्चित फ्रेन्च अर्थशास्त्री थोमस पिकेटी बताउँछन् । अति धनीको सम्पत्तिमाथि उच्च कर लगाएर आर्थिक असमानतालाई सीमित राख्ने प्रयास गरिन्छ । तर, तिनले विभिन्न तिकडम प्रयोग गरेर आफ्नो सम्पत्ति तथा आयबाट तिर्नुपर्ने करबाट पनि उम्कन्छन् । यसबाट विकासोन्मुख देश झनै प्रभावित हुन्छ । त्यहाँ पूर्वाधारको अवस्था अत्यन्त कमजोर हुने भई चरम गरिबीको संख्या धेरै हुन्छ । पूर्वाधारमा लगानीदेखि सामाजिक न्यायका कार्यक्रम करमार्फत आउने रकमले नै भरपाई गरिने हो । तर, कर छलीले यसमा ठूलो अभाव सिर्जना गर्छ । त्यसैले कर छलीलाई गैरकानुनी मानिन्छ । तर, विभिन्न कानुनी लुपहोल प्रयोग गर्दै झन्डै वैधानिक रूपमा ठूलो रकम ट्याक्स हेभेनमा पुर्याउने क्रम धेरै पहिलेदेखि चलिरहेको छ ।
वास्तवमा विश्वव्यापी नियमन प्रभावकारी नहुँदा केही पूर्वउपनिवेश साना टापु–राज्य कालान्तरमा भ्रष्टाचार, करछली, गैरकानुनी कमाइ थन्क्याउने र सम्पत्ति शुद्धीकरण गर्ने थलोमा रूपान्तरित भएका हुन् । विशेषगरी, क्यारेबियन मुलुक बहमास, पानामा, केम्यान आइल्यान्ड्स, ब्रिटिस भर्जिन आइल्यान्ड्स, डोमिनिका रिपब्लिक, सेन्ट नेभिस, कोस्टारिका, बार्बादोसलगायतका मुलुकले शून्य कर नीति एवं गोपनीयताका कडा कानुनी प्रावधान अँगालेर विश्वभरका भ्रष्टका सम्पत्तिलाई आकर्षित गरेका छन् र समृद्ध बनेका छन् । यी मुलुकमा कुनै पनि कर तिर्नुनपर्ने मात्रै होइन, आफ्नो मुलुकभित्र खोलिएका कुनै पनि बैंकखाता तथा कम्पनीको उच्च वित्तीय गोपनीयता कायम गरिदिन्छन् ।
यहाँका कुनै पनि अफसोर कम्पनीले विदेशमा गरेको आम्दानीमा कुनै कर तिर्नु पर्दैन । इनकम ट्याक्स, कर्पाेरेट ट्याक्स, इन्हरिटेन्स ट्याक्स, उपहार वा पुँजीगत लाभकर केही पनि तिर्नु पर्दैन । यी ट्याक्स हेभेन मुलुकमा खोलिएका कुनै पनि अफसोर कम्पनीले ती मुलुकका कुनै पनि सरकारी निकायसमक्ष वित्तीय विवरण बुझाइराख्नु पनि पर्दैन । कम्पनी खोल्ने प्रक्रिया पनि ज्यादै सरल हुन्छ, रकम सजिलै ल्याउन–लैजान पाइन्छ । विभिन्न कम्पनीको शृंखला खडा गरेर वास्तविक मालिक पत्ता लगाउनै नसकिने गरी मिलाइन्छ । ठूला मुलुकले चाहने हो भने ती ट्याक्स हेभेन (स्विट्जरल्यान्डसमेत) तत्कालै पारदर्शी र जवाफदेही बन्नेछन् ।
आइसिआइजेको पानामा पेपर्सको खुलासापछि यो लुटको संसार कति विकराल छ भन्ने संसारसामु उजागर भयो । आइसिआइजेको खुलासाले ठूलो प्रभाव पार्यो । पानामा पेपर्समा नाम मुछिएका केही नेताले राजीनामा दिनुपर्यो । कतै नेताविरुद्ध आन्दोलन उठ्यो । त्यस्तै, कैयौँ देशमा अझै पनि यस विषयमा मुद्दामामिला चलिरहेको छ । यो प्रकरणका कारण छवि ध्वस्त भएको भन्दै विश्वको चौथो ठूलो अफसोर वित्तीय सेवाप्रदायक मोसाक मोन्सेका बन्द नै भयो । सन् २०१८ मार्च १४ मा यो फर्मले सेवा बन्द गरेको घोषणा गर्यो ।
आइसिआइजेको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टन डिसीमा हुनुले पनि यसलाई उल्लेख्य कानुनी संरक्षण रहेको छ । अन्यथा, उसले संसारका सबैभन्दा धनाढ्य र शक्तिशालीहरूको यत्रो ठूलो समूहविरुद्ध उभिन सक्दैनथ्यो होला । त्यसबाहेक उसले पत्रकारितालाई बलियो कानुनी संरक्षण दिएका मुलुक ब्रिटेन (गार्डियन), जर्मनी (सुडच जाइटुङ) सँग सहकार्य गरेको थियो ।
आइसिआइजेको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टन डिसीमा हुनुले पनि यसलाई उल्लेख्य कानुनी संरक्षण रहेको छ । अन्यथा, उसले संसारका सबैभन्दा धनाढ्य र शक्तिशालीहरूको यत्रो ठूलो समूहविरुद्ध उभिन सक्दैनथ्यो होला । त्यसबाहेक उसले पत्रकारितालाई बलियो कानुनी संरक्षण दिएको मुलुकहरू ब्रिटेन (गार्डियन), जर्मनी (सुडच जाइटुङ)सँग सहकार्य गरेको थियो । यसले पनि उनीहरूले यति जोखिमपूर्ण काम गर्न सकेका थिए । त्यस्तै, आइसिआइजे र सम्बद्ध मिडियाका रिपोर्टरहरूले आफ्नो कामप्रति इमानदारिता देखाएकाले पनि यो कामले सफलता पाएको थियो ।
सन् २०१७ नोभेम्बरमा सुडच जाइटुङ र उसको रिपोर्टर बास्टिन ओबरमायरले पुनः आइसिआइजेसँग सहकार्य गरेर पानामा पेपर्सभन्दा ठूलो अर्को लिक गर्न सफल भए । प्याराडाइज पेपर्स नाम दिइएको सो खुलासाले पनि उस्तै ठूला संस्था तथा नामले गरेको कर छली खुलासा गर्यो । त्यसबाहेक आइसिआइजेले भर्खरै मात्र गरेको फिनसेन फाइल्स खुलासा र केही अघिको लुआन्डा लिक्सलाई महत्वपूर्ण मानिन्छ । फिनसेन फाइल्स लिकले अमेरिकी सरकार तथा अमेरिकाको वित्तीय निगरानी निकाय दुवैले सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराध रोक्न खासै पहल नगरेको तथ्य सतहमा ल्यायो । त्यस्तै, आइसिआइजेको समन्वयमा अध्ययन भएको लुआन्डा लिक्सले अफ्रिकी मुलुक अंगोलासँग जोडिएको ठूलो भ्रष्टाचार काण्ड सार्वजनिक गर्यो । अंगोलाका पूर्वराष्ट्रपति जोसे इडुआर्दाे डोस सान्तोसकी जेठी छोरी इसावेल डोस सान्तोसले बाबुको सत्ता र शक्तिको आडमा कसरी दुई अर्ब डलरभन्दा बढीको आर्थिक साम्राज्य खडा गरिन् भन्ने तथ्य यही वर्ष जनवरी १९ मा एउटा खोज रिपोर्टमार्फत सार्वजनिक भयो । इसावेल फरार छिन्, उनी कुनै खाडी मुलुकमा आश्रय लिएर बसेको आशंका छ । फरार हुनुअघि सार्वजनिक फोब्र्सको विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा उनी पनि परेकी थिइन् ।
युएस ट्रेजरिज् फिनान्सियल क्राइम्स इनफोर्समेन्ट नेटवर्क (फिनसेन)बाट चुहाइएका दस्तावेजहरू बजफिड न्युज र आइसिआइजेका पत्रकारले १६ महिना लगाएर गत (२०२०) सेप्टेम्बर २० मा विश्वव्यापी रूपले सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका हुन् । अमेरिकी पत्रिका मियामी हेराल्डका अनुसार अमेरिकी सरकारी निकाय फिनसेनले सन् १९९९ देखि २०१७ सम्म विभिन्न विश्वव्यापी वित्तीय संस्थाले गरेका शंकास्पद वित्तीय गतिविधिसम्बन्धी एक करोड २० लाख दस्तावेज संकलन गरेको थियो । जसमध्ये बजफिड न्युजले २१२१ दस्तावेज प्राप्त गरेको थियो । ती दस्तावेजको मिहिन अध्ययन गर्दा २० खर्ब डलरको दुई लाखभन्दा धेरै शंकास्पद वित्तीय कारोबार भएको पाइयो ।
आइसिआइजेले अध्ययन गरेको फिनसेल लिक्सका दस्तावेजका ६२ प्रतिशत कारोबारमा जर्मनीको डच बैंक संलग्न रहेछ भने त्यसमा मुछिएका कम्पनीमा २० प्रतिशत कम्पनी ब्रिटिस भर्जिनका थिए । फिनसेलले संकलन गरेको जानकारीको ०.०२ प्रतिशत दस्तावेजले यति ठूलो शंकास्पद वित्तीय गतिविधितर्फ इंगित गर्छ भने वास्तविक अवस्था कति भयावह होला, अनुमानै गर्न सकिन्न । आइसिआइजेले फिनसेन फाइल्सको अध्ययनबाट विश्वभरबाट हरेक वर्ष पाँच खर्ब डलर कर्पाेरेट मुनाफा गैरकानुनी स्थानान्तरण हुने गरेको, कम्तीमा ७० खर्ब डलर निजी सम्पत्ति ट्याक्स हेभेनका अफसोर कम्पनीहरूमा (विश्वव्यापी जिडिपीको करिब १० प्रतिशत) थुप्रिन पुगेको र हरेक वर्ष कम्तीमा १६ खर्ब डलर मुद्रा निर्मलीकरण हुने गरेको तथ्य सार्वजनिक गरेको छ । वास्तवमा आइसिआइजेले गरेका यी खुलासाले विश्वको मौजुदा वित्तीय प्रणालीको असफलतालाई उजागर गर्छन् । यो नै खोज पत्रकारिताको सफलता पनि हो । यो बाटो पानामा पेपर्स हुँदै तय भएको हो ।
यी सम्पूर्ण खुलासामार्फत पत्रकारिताले नागरिकलाई सुसूचित गराउने सामथ्र्य मात्रै राख्दैन, बलिया संस्थाहरूलाई जवाफदेहिता पनि माग गर्छ भन्ने पुष्टि गरेको छ । आइसिआइजेको पत्रकारिताले सुसूचित राजनीतिक निर्णय निर्माणमा पनि पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने कुरा जाहेर गर्यो । स्रोतको गोपनीयता कायम राख्ने सवालमा पनि पानामा पेपर्समा आइसिआइजेको खोज पत्रकारिताले उत्कृष्ट उदाहरण पेस गरेको छ । फोन्सेकाका दस्तावेजहरू (पानामा पेपर्स) लिक गरेर दिने जोन डो अझै पनि अज्ञात छन्, उनको परिचय खुलाइएको छैन । पानामा पेपर्स भविष्यसम्म शक्तिशाली समूहबाट पारदर्शिता र जवाफदेहिता माग गर्ने खोज पत्रकारहरूका लागि प्रेरक भइरहने निश्चित छ ।