मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १५ बुधबार २३:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किर्ते मोही खडा गरी सवा करोड भुक्तानी दिने सिडिओसहित १३ जनाविरुद्ध मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १५ बुधबार २३:१६:००


गुठी संस्थानको जग्गामा किर्ते मोही खडा गरेर एक करोड १४ लाख ६६ हजार रुपैयाँ मुआब्जा दिने कार्यमा संलग्न तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

धनुषाको साबिक भरतपुर गाविसअन्तर्गत नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको नाममा रहेका जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको अभियोगमा अख्तियारले तत्कालीन सिडिओ वसन्तराज गौतमसहित १३ विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा चलाइएकामध्ये एकको निधन भइसकेको छ । 

अख्तियारका अनुसार मुआब्जा निर्धारण समितिको अध्यक्ष रहँदा सिडिओ गौतमले गुठी संस्थानको खातामा भुक्तानी हुनुपर्ने एक करोड १४ लाख ६६ हजार रुपैयाँ कानुनविपरीत किर्ते मोही खडा गरेर भुक्तानी दिएका थिए । 

धनुषाको साबिक भरतपुर गाविसअन्तर्गत नेपाली सेनाका लागि अधिग्रहण गरिएको गुठीको नामको जग्गामा किर्ते मोही कायम गरी भएको थियो मुआब्जा वितरण

मोही कायम हुनै नसक्ने गायत्रीदेवी जयसवाल र सूर्यनारायण लाल कर्णलाई मोही कायम गरेर उनले मुआब्जा दिलाएका थिए । मुआब्जा निर्धारण समितिको अध्यक्ष सम्बन्धित सिडिओ रहने व्यवस्था छ । गौतमविरुद्ध भुक्तानी दिएबराबरकै रकमलाई बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 

त्यस्तै, गुठी संस्थान शाखा कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख राजुबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ । उनीहरूविरुद्ध एक करोड १४ लाख ६६ हजार बिगो दाबी गरिएको छ । 

वास्तविकता लुकाएर कानुनविपरीत सिर्जित भएका मोहियानी हकको प्रमाणपत्रका आधारमा मुआब्जा दाबी गरी गैरकानुनी भुक्तानी लिएको आरोपमा अख्तियारले गायत्रीदेवीका छोरा शत्रुधन जयसवाललाई पनि प्रतिवादी बनाएको छ । किर्ते मोहियानी प्रमाणपत्रका आधारमा आमाछोराले ८९ लाख ८३ हजार रुपैयाँ भुक्तानी लिएका थिए । यसका लागि गुठीकै कर्मचारी मतियार बनेको आरोपपत्रमा उल्लेख छ । 

गुठी संस्थानका कर्मचारी र किर्ते मोहियानी प्रमाणपत्रका आधारमा भुक्तानी लिने पक्षबीच बिचौलियाको भूमिका निर्वाह गर्ने सुमनकान्त ठाकुरविरुद्ध पनि मुद्दा चलाइएको छ । ठाकुरलाई पनि ८९ लाख ८३ हजार नै बिगो कायम गरिएको छ । 

कानुनविपरीत सिर्जित र कुनै पनि सरकारी कागजात (नागरिकता, मृत्युदर्ता र नाता प्रमाणित प्रमाणपत्र)ले हकवाला÷नाता पुष्टि नहुने बनावटी मोहियानी हकका प्रमाणपत्र पेस गरी सूर्यनारायणलाल कर्णलाई मुआब्जा दाबी गर्न लगाई बुझ्न मञ्जुरीनामा दिएर गैरकानुनी रूपमा भुक्तानी लिएका तथा रकम बाँडफाँड गरेको आरोपमा अख्तियारले उनका भाइ उपेन्द्रलाल कर्ण कायस्थ र छोरा मनोजलाल कर्णलाई पनि प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध २४ लाख ८३ हजार बिगो कायम गरेको छ । 

प्रतिवादी बनाइएका सूर्यनारायण लाल कर्णविरुद्ध २४ लाख ८३ हजार बिगो कायम भएको छ । सूर्यनारायण लालको निधन भइसकेको छ । उनको नाममा कायम बिगो असुल प्रयोजनका लागि अख्तियारले एकासगोलका अंशियार तथा हकवालाहरू भाइ उपेन्द्रलाल कर्ण कायस्थ, पत्नी विन्दादेवी कर्ण र छोरा मनोजलाल कर्णलाई पनि प्रतिवादी बनाएको छ । 

अनियमिततामा संलग्न जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार डी हबिब साह, गुठी संस्थान शाखा, धनुषाका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसायी प्रमोदकुमार कर्णविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

गायत्रीदेवी जयसवालले गैरकानुनी रूपमा भुक्तानी लिएको मुआब्जा रकम गुठी संस्थानका नाममा फिर्ता गरिपाउन उच्च अदालत जनकपुरमा दायर गरेको मुद्दा छिनोफानो गर्ने क्रममा मिलोमतो गरेको आरोप अख्तियारले उनीहरूविरुद्ध लगाएको छ ।