मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी बेइजिङ
२०७९ भदौ १५ बुधबार ००:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन १६ अक्टोबरदेखि

Read Time : > 1 मिनेट
एजेन्सी, बेइजिङ
२०७९ भदौ १५ बुधबार ००:२७:००

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको  २०औँ महाधिवेशन  अक्टोबर १६ मा  बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको छ । बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अक्टोबर ९ तारिख बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ । 

सम्पूर्ण पार्टी र सिंगो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २०औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्वपूर्ण क्षणमा बोलाइने महाधिवेशन भएकोमा जोड दिइएको बैठकमा उल्लेख गरिएको छ । सो अवसरमा दोस्रो शताब्दी लक्ष्यतिरअगाडि बढ्न पनि आग्रह गरिएको छ । 

महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको  लक्ष्यमा मार्क्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने  जनाइएको छ ।

त्यसैगरी, महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्न परिचालन गर्ने पनि बताइएको छ ।

पञ्चक्षेत्रीय एकीकृत योजना र चारपक्षीय एकीकृत योजनालाई अगाडि बढाउन पार्टी सदस्यहरू र देशभरका सबै जातजातिका मानिसलाई परिचालन गरिने पनि बताइएको छ । 

साथै, सबैको साझा समृद्धिलाई अगाडि बढाउने, पार्टी निर्माणको महान् नयाँ परियोजनालाई अगाडि बढाउने र मानवताको साझा भविष्यसहितको समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने गरी समन्वयात्मक ढंगले विस्तारित बृहत् रणनीति  निर्माण गरिने पनि जनाइएको छ ।

चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउनका लागि सबै पार्टीका सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न परिचालन गरिने बताइएको छ ।

महाधिवेशनले अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिको गहन समीक्षा गर्दै नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापक रूपमा बुझ्ने गरी निर्णय लिनेछ ।