
प्रतिनिधिसभाको सोमबारको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ।
बैठकमा समितिका सभापति नीरादेवी जैरूले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेस गरेकी हुन्। ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको एकीकृत प्रतिवेदन, २०७९’ पेस भएको छ।
समिति गठन भएपश्चात् प्रतिवेदन तयारीको अवधिसम्म कुल ५३ बैठक भएको र संविधानमा उल्लेख भएका राज्यका विभिन्न नीतिमध्ये शिक्षा, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकाससम्बन्धी नीतिका विषयलाई प्रमुख प्राथमिकतामा राखी समितिको कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको सभापति जैरूले बताइन्।
उनले समितिलाई आगामी दिनमा प्रभावकारी र परिणाममुखी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने विश्वास व्यक्त गरिन्। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।
त्यसैगरी, सभामुख सापकोटाले नेपाली कांग्रेसका तर्फबाट सिराहा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको गत भदौ ४ गते निधन भएकाले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराएका थिए।