मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १२ आइतबार २२:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकाको फोहोर व्यवस्थापन अब रोकिँदैन : महानगर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १२ आइतबार २२:५९:००

काठमाडौं उपत्यकाको दैनिक फोहोर ढुवानी सहज बनेको छ । सिसडोल र बन्चरेडाँडावासीले पछिल्लो समय अवरोध नगरेपछि फोहोर ढुवानी सहज बनेको हो ।

काठमाडौं महानगरकी वातावरण विभाग प्रमुख सरिता राईले आइतबार दुई सयभन्दा बढी टिपर फोहोर बन्चरेडाँडामा ढुवानी भएको जानकारी दिइन् । उनका अनुसार पछिल्लो समय दिनहुँ फोहोर ढुवानी हुन थालेपछि सडकमा होल्ड भएको फोहोर सकिएको छ । 

शनिबार उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर ढुवानी सकिएपछि महानगरले आइतबारदेखि घरघरमै पुगेर नियमित फोहोर उठाउन थालेको छ । 

यस्तै, टेकुस्थित ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोर भने ढुवानी हुन बाँकी छ । त्यसमध्ये करिब १५ टिप आइतबार ढुवानी भएको छ । निजी व्यवसायीले ट्रक र टिपर उपलब्ध गराइरहेकाले पछिल्लो समय फोहोर ढुवानी निकै सहज बनेको छ । 

अहिले दैनिक दुई सय ५० देखि तीन सय गाडी फोहोर ढुवानी हुने गरेको छ । उपत्यकामा दैनिक करिब दुई सयदेखि दुई सय ५० गाडी फोहोर उत्पादन हुन्छ ।

उक्त फोहोर महानगरका १३ वटा कन्टेनरले ढुवानी गर्छन् । तर, पछिल्लो समय अन्य गाडी पनि उपलब्ध रहेको राईले बताइन् । उनले अब महानगरका कन्टेनरले पनि दैनिक उत्पादन भएको फोहोर उठाउने जानकारी दिइन् । ‘निजी ट्रक र टिपर व्यवसायीले सहयोग गर्दा निकै छिटो फोहोर ढुवानी भयो,’ राईले भनिन्, ‘अब उपत्यकाका सडकमा फोहोर थुप्रिँदैन ।’ 

उनका अनुसार टेकुस्थित ट्रान्सफर्मर सेन्टरमा करिब २३ हजार मेट्रिकटन फोहोर थुपारिएको छ । सडकको फोहोर उठाउन र ढुवानी गर्न रोकेर त्यहाँको फोहोर उठाइनेछैन । सडकको फोहोर उठाएपछि मात्रै टेकुमा रहेको फोहोर ढुवानी हुनेछ ।