माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि सहजै पारित हुने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयकले राष्ट्रियतामा कुनै संकट नल्याउने र फिँजाइएको हल्ला भ्रम मात्र भएको बताउँदै राष्ट्रिय सभाबाट पनि सहजै पारित हुने बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले वर्षाैँदेखि अधिकारबाट वञ्चित नागरिक र उनीहरूका सन्तानको भविष्यका लागि सरकारले नागरिकता विधेयक ल्याएको जिकिर गर्दै त्यो जायज भएको प्रस्ट पारे। उनले भने, ‘जुन नागरिकता विधेयकको कुरा छ, यसले कुनै गम्भीर संकट ल्याउँदैन र कुनै अप्रिय घटना पनि हुँदैन। यो राष्ट्रिय सभाबाट सहजै पारित हुन्छ।’
प्रचण्डले आगामी निर्वाचनका लागि एक सय ६५ भित्रै सजिलै सिट बाँडफाँड छिट्टै टुंगोमा पुर्याइने बताए। उनले भने, ‘कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्नु हुँदैन। सिट बाँडफाँड सहजै चाँडै टुंगो लाग्छ।’
भर्खरै माओवादी केन्द्रमा नियुक्त भएका पदाधिकारीहरू समावेशी नभएको भन्ने प्रसंगमा उनले स्थायी समितिमा ११ जना महिलालाई सहभागी गराइसकेकाले समावेशिता भएन भन्नु गलत हुने बताए। अध्यक्ष प्रचण्ड सुनसरीको धरानमा स्वर्गीय जनगायक जेबी टुहुरेको स्मृति सभामा सहभागी हुने क्रममा विराटनगर आएका हुन्।