काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्साअनुसार मात्र भौतिक संरचना बनाउन महानगरवासीलाई आग्रह गरेका छन्। नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैधानिक संरचनामा डोजर चलाएपछि उनले फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन्।
अनधिकृत रूपमा बनेका संरचना हटाउने क्रममा मेयर साहले बुधबार सुन्धारास्थित काठमाडौं मल र न्युरोडस्थित आरबी कम्प्लेक्समा डोजर लगाएका थिए। सोही क्रममा बिहीबार उनी नयाँ बानेश्वर र शंखमुल क्षेत्र पुगे।
अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि उनले फेसबुकमा लेखेका छन्, 'उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ? अब उप्रान्त यस्तो गर्न नपरोस्। सबैले आफैँ बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनुहोला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला।'
बिहीबार बिहान अनुगमनमा पुगेका मेयर साहले अवैध संरचना हटाउन आग्रह गर्दा अल्फाबिटाका निर्देशक द्विराज शर्माले अवैधानिक नरहेको जिकिर गर्दै प्रतिवादमा उत्रिएका थिए। शर्माले डन नबन्न चेतावनी दिएपछि भवनको नक्सासहित पुनः अल्फाबिटा पुगेर डोजर चलाएका साहले फेसबुकमार्फत नक्साअनुसारका संरचना बनाउन आग्रह गरेका हुन्।