काठमाडौं महानगरले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना हटाएको छ। महानगरका मेयर बालेन्द्र साह (बालेन)सहितको टोलीले अल्फाबिटाको अनधिकृत संरचना डोजर लगाएर हटाएको हो।
बिहीबार बिहान अनुगमनमा पुगेका मेयर बालेनले अवैध संरचना हटाउन आग्रह गर्दा अल्फाबिटाका निर्देशक द्विराज शर्माले अवैधानिक नरहेको जिकिर गर्दै प्रतिवादमा उत्रिएका थिए। शर्माले डन नबन्न चेतावनी दिएपछि भवनको नक्सासहित पुनः अल्फाबिटा पुगेका साहले फार्मेसीसहितका अनधिकृत संरचनामा डोजर लगाएका हुन्।
यसअघि मेयर साहले अनधिकृत रूपमा सञ्चालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर संरचना बनाएको’ जिकिर गरेका थिए। मेयर साहले वैधानिक भए ‘नक्सा देखाउन’ आग्रह गर्दा शर्माले महानगरसँगै हुनुपर्ने जवाफ दिएपछि मेयर साह ‘तपाईंको घरको नक्सा अरूसँग हुन्छ ?' भन्दै आक्रोशित भएका थिए।
अनधिकृत रूपमा बनाइएका संरचनाहरू खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर साह आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत संरचनाहरू हटाउन अग्रसर भएका छन्।