मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ भदौ ९ बिहीबार ०७:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
२०७९ भदौ ९ बिहीबार ०७:१३:००

पोखरामा गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सकिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बुधबार मध्यरातबाट चालू अधिवेशन अन्त्य गरेसँगै गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सकिएको हो । 

पूरा अवधिभर सभाले ५९ विधेयक पारित गर्‍यो । प्रदेश सभाको अधिवेशन सकिए पनि प्रदेश सभा सदस्यको कार्यकाल भने केही महिना बाँकी छ । निर्वाचन आयोगले ४ मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन मिति घोषणा गरिसकेको छ । अब निर्वाचनपछि नयाँ सदस्य आएपछि मात्र प्रदेश सभाको अर्को अधिवेशन बस्नेछ ।

०७२ मा जारी नयाँ संविधानले तीन तहको सरकारको व्यवस्था गरेअनुसार १० र २१ मंसिर ०७४ मा दुई चरणमा गरी संघीय र प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो । गण्डकीमा रहेका ११ जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ६० सदस्य प्रदेश सभामा निर्वाचित भएका हुन् । 

सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद छन् । ६० मध्ये हाल ५८ सदस्य मात्र कायम छन् । एमालेका एक सांसदले स्थानीय तहमा उम्मेवार बन्न राजीनामा दिए भने जनमोर्चाका एक सांसद निष्कासनमा परे ।

निर्वाचित प्रदेश सभा सदस्यले ७ माघ ०७४ मा पद तथा गोपनीयताको शपथ खाएका थिए भने २२ माघमा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । प्रदेश सभा स्थापनासँगै हालसम्म पाँच हिउँदे, पाँच बर्खे र दुई विशेष अधिवेशन सम्पन्न भए ।