मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ६ सोमबार ०७:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकतामा अपमानित नाम सच्चिएपछि कविराम र कर्णबहादुर दंग

Read Time : > 1 मिनेट
२०७९ भदौ ६ सोमबार ०७:१४:००

दैलेखको भगवतीमाई गाउँपालिकाका नागरिकतामा अपमानित नाम भएको दुईजनाले सच्याएको नागरिकता पाएका छन् । नागरिकतामै कुकुर कामी नाम राखिएका व्यक्तिले कविराम कामीको नाममा नागरिकता पाएका छन् । नयाँ नागरिकता पाएपछि खुसी हुँदै उनले अब गाउँमा खुलेर प्रस्तुत हुने बताए । ‘पहिला नामै भन्न लाज लाग्थ्यो, छोराछोरीले परिचय दिँदैनथे,’ उनले भने ।

सात छोराछोरी भएका कविरामका माइला छोराले ६ महिनासम्म बाबुको नागरिकता नै लुकाएको बताए । ‘घरमा दुईजनाले मात्रै आफ्नो पुरानो नामबाट नागरिकता बनाएका छन् । अब सबैको नागरिकता कविरामको नामबाट बनाउँछु र बनेका दुईजनाको नाम पनि सच्याउन सिडियोसा’पले भन्नुभा’छ, सोहीअनुसार आउँछु,’ उनले भने ।

भगवतीमाई गाउँपालिकाका ठगे कामीले कर्णबहादुर विकको नाममा नयाँ नागरिकता लिएका छन् । कक्षा ८ पढ्ने छोरीले नाम नसच्याएसम्म विद्यालयबाट सर्टिफिकेट नलिने अडान राखेपछि निकै समस्यामा परेका ठगे कामीले कर्णबहादुरको नाममा नयाँ नागरिकता पाएपछि औधि खुसी लागेको बताए । उनकी कक्षा ७ सम्म अध्ययन गरेको डकुमेन्टका आधारमा कर्णबहादुर विकको नामबाट नागरिकता प्राप्त गरेका छन् । ‘मलाई आफ्नै घरपरिवार र छोरीका लागि पनि नाम सच्याउनुपर्ने आवश्यकता थियो । सरकारले नाम सच्याउन अभियान ल्यायो, सरकारलाई धन्यवाद,’ विकले भने । 

गृह मन्त्रालयको निर्देशनअनुसार गाउँ सर्जमिन मुचुल्का, प्रहरी सर्जमिन मुचुल्का, विद्यालयमा अध्ययन रहेका डकुमेन्टका आधारमा दुवैजनालाई बिहीबार नागरिकता प्रदान गरिएको हो । पुरानो नागरिकता जिल्ला प्रशासनले राखेर नयाँ नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । जिल्लाभर नामकै कारण अपहेलित भएका व्यक्तिलाई नाम सच्याउन जिल्ला प्रशासन कार्यालय दैलेख सूचना जारी गरेर नाम सच्याउन काम धमाधम सुरु गरेको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने, ‘हामीले छिटो प्रक्रिया थालनी गरेर नाम सच्याएको नागरिकता जारी गरेका छौँ ।’ सामाजिक र पारिवारिक दृष्टिकोणले नामकै कारण कोही पनि व्यक्ति समस्यामा पर्नुहुँदैन भन्ने मनसायले जिल्ला प्रशासनले दैलेखका ११ वटै पालिकामा पत्राचारसमेत गरिसकेको प्याकुरेलको भनाइ छ । ‘जिल्लाभर सूचना जारी गरेका छौँ, जो–जो व्यक्तिहरू आउनुहुन्छ उहाँहरू सबैलाई नागरिकतामा नाम सच्याउन पहल गर्छौंँ,’ उनले भने ।