अहिलेको मौसममा धेरै बालबालिकालाई रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ । यसलाई भाइरल इन्फेक्सन मान्न सकिन्छ । त्यसमा पनि सबैभन्दा धेरै हुने इन्फ्लुएन्जा हो । यसलाई हामीले इन्फ्लुएन्जा ए र बी भन्छौँ । अलि साना बालबालिकामा रेस्पेरिटी सिन्साइटल भाइरस (आरएसबी) हुन्छ । त्यस्तै, अरू इन्फ्लुएन्जा र एडोनो भाइरसलगायत विभिन्न भाइरस पनि हुन्छन् ।
बालबालिका बिरामी हुनासाथ अभिभावक आत्तिन्छन् । ज्वरो आउनेबित्तिकै डराउने, अस्पताल दौडिने गरेको पाइन्छ । तर, कुन अवस्थामा अस्पताल जाने र कुन अवस्थामा नजाने भनेर जान्न आवश्यक छ ।
रातको समय रुघा लाग्दैमा आत्तिएर अस्पताल लैजानु पर्दैन । घरमै बच्चाको नाक सफा गर्ने, पारासिटामोल दिने गर्नुपर्छ । त्यसपछि दिउँसोको समयमा अस्पताल जाँदा राम्रो हुन्छ ।
तर, रुघाखोकी वा ज्वरो आएर बच्चालाई गाह्रो भएको छ भने तत्काल उपचार आवश्यक पर्न सक्छ । बच्चाको नाक बन्द भएर दूध खान नसक्ने, घाँटी घ्यारघ्यार हुने, सास फेर्न समस्या हुने, सास छिटोछिटो फेर्ने भयो भने बच्चालाई दम हुन सक्छ ।
खासगरी, रुघाखोकीका वेला बच्चालाई दम बढ्छ । केही बच्चामा ज्वरो आएको वेला बेहोस हुने र काम्ने समस्या हुन्छ । त्यस्तो वेला अलि ख्याल गर्नुपर्छ । अस्पतालमा गएर देखाउँदा राम्रो हुन्छ । त्यस्तै, सास फेर्न अप्ठेरो भयो भने तुरुन्त अस्पताल लैजानुपर्छ । रुघाखोकी वा ज्वरोको वेला बच्चालाई बेहोस हुने समस्या छ भने तुरुन्त अस्पताल नै आउनुपर्छ ।
जथाभावी औषधि नदिनुस्
सकेसम्म स–साना बच्चामा खोकीको औषधि र अन्य एन्टिबायोटिक औषधि प्रयोग नगर्नु नै भन्छौँ । यदि गर्नैपरे पनि डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ । तर, कतिपय अभिभावकले बच्चा सामान्य बिरामी हुनासाथ एन्टिबायोटिक र कफ सिरप खुवाउने गर्छन् ।
हाम्रो शरीरलाई केही ब्याक्टेरिया आवश्यक पनि पर्छन् । अत्यधिक एन्टिबायोटिक सेवनले शरीरलाई चाहिने ब्याक्टेरिया पनि मर्न सक्छ । त्यसले गर्दा बच्चा बारम्बार बिरामी हुने अवस्था हुन्छ ।
अर्को, खोकी लागेको वेला कफ सिरप प्रयोग गरेका हुन्छौँ । तर, यसले राम्रो गरेको छैन । यसको अनावश्यक प्रयोगले नोक्सान गर्ने अध्ययनले नै देखाएको छ ।
त्यस्तै, अर्को गल्ती भनेको हामीले बालबालिकालाई ज्वरो आए, छातीमा समस्या भए बारबार एक्स–रे गराउँछौँ र रगतको जाँच गराउँछौँ । यी गर्न नहुने कुरा हुन् । यी सबै कुराले कहिलेकाहीँ घाटा पनि हुन्छ । त्यसैले के गर्ने र के नगर्ने भनेर अभिभावकले बुझ्न जरुरी छ ।
यी कुरामा ध्यान दिनुस्
रुघाखोकी लागेको छ भने घरमै पनि उपचार गर्न सकिन्छ । नुनपानीले नाक सफा गरिदिने, महपानी पिलाइदिने, तुलसीको पानी बनाएर खुवाउने, झोलिलो कुरा प्रशस्त खुवाउने, न्यानोमा राख्नेलगायत कुरामा ध्यान दिन जरुरी छ ।
घरमा हिँडडुल गर्ने वयस्क मानिसलाई रुघा धेरै लागेको वा अन्य सदस्य बिरामी छन् भने साना बच्चा र बूढाबूढीसँग उनीहरूलाई घुलमिल हुन नदिनुस्, खोक्दा ख्याल गर्नुस् । त्यस्तै, बच्चाहरू स्कुल जाने भएपछि पनि रोग सर्ने डर हुन्छ । इन्फ्लुएन्जाको भ्याक्सिन लगाएर केही कम गर्नचाहिँ सकिन्छ । त्यसो त रुघाको ज्वरो पाँच दिनसम्म हराउँछ र रुघा पनि त्यति नै दिनसम्म कम हुन्छ ।