![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Bhim-rawal2022-02-27-03-31-13.jpeg)
एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले बालुवाटारमा बसेर पाँचदलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गरे।
गैरकानुनी रूपमा नेपालको नागरिकता लिएकाको छानबिन गरी नेपाली नागरिकलाई नागरिकता दिनुपर्नेमा जोड दिए। नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाका लागि पाँचदेखि सात वर्षपछि नागरिकता दिने संविधानको मर्म गलत नहुने भन्दै रावलले त्यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित भएको दाबी गरे।
‘नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाका लागि पाँचदेखि सात वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत हुन्छ ? यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क हो। वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा छ नेपालको राष्ट्रिय हितमा छैन र ?’ उनले प्रश्न गरे।
संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्तागठबन्धनले संविधानविरोधी काम गरिरहेको रावलको आरोप छ। ‘सात वर्षसम्मको अवधि तोक्ने कुरा त सहमति भएको थियो। आज सहमतिबाट पछि हटेर काम गर्ने ? बालुवाटारमा बस्ने पाँच दलको संयन्त्र कुन धाराअन्तर्गतको संयन्त्र हो ? त्यसले जे फैसला गर्छ त्यो संविधानभन्दा माथि हुन्छ ? यदि त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको ?’