१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २ बिहीबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २ बिहीबार १५:३०:००

नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्ने तीनजनालाई विभिन्न स्थानबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ९ का सुरेश भन्ने २८ वर्षीय प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका– ११ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– २ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका– ८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन्।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पाण्डेको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी विभिन्न कम्पनी खोलेर ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ व्यक्तिले ०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेसनल एजुकेसन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये प्रदीप उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेको, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका खेल्दै आएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेका उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिए। रासस