मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ श्रावण २८ शनिबार ०८:२६:००
Read Time : > 6 मिनेट
अर्थ प्रिन्ट संस्करण

बहुतले अपार्टमेन्टको खोजीमा उपभोक्ता

Read Time : > 6 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ श्रावण २८ शनिबार ०८:२६:००

२० प्रतिशत युनिट विदेशीलाई बिक्री गर्न दिइने भएपछि व्यवसायीहरू उच्च वर्गको मागमा मात्र केन्द्रित हुँदै देशका मुख्य सहरमा दुई दर्जन अपार्टमेन्ट निर्माणमा

सात वर्षअघि अर्थात् ०७२ साल १२ वैशाखको विनाशकारी भूकम्पमा करिब नौ हजारको ज्यान गयो । ६ लाखभन्दा बढी परिवार बेघर बन्न पुगे । भूकम्पको कम्पनले साना–साना मात्र होइन, ठूला अपार्टमेन्ट भवन पनि चर्किए । बहुतले आवासको बसाइ जोखिमपूर्ण ठहर गर्दै कतिपय परिवार अपार्टमेन्ट नै छाडेर निस्किए । पाइपलाइनमा रहेका अपार्टमेन्ट अनिश्चित बने । नेपालमा भर्खर सुरु भएको अपार्टमेन्ट कल्चरको जग नै भूकम्पले हल्लाइदियो । ०६१ सालदेखि सुरु भएको अपार्टमेन्ट व्यवसायमै ‘ब्रेक’ लाग्न पुग्यो । मान्छेले नयाँ अपार्टमेन्ट किन्न त परै जाओस्,  बैनाबट्टा गरेकाले पनि धमाधम पैसा फिर्ता लैजान थाले । ‘अब मान्छे अग्ला अपार्टमेन्टमा बस्दैनन्’ भन्ने ठहर गर्दै डेभलपरहरू पनि पछि हटे ।

मान्छेले अर्को वर्षदेखि नै कहालीलाग्दो महाभूकम्प बिर्सिंदै गए । तर, अपार्टमेन्ट व्यवसाय भने पहिलाको लयमा फर्किनै सकेन । भूकम्पपछि कसैले पनि नयाँ अपार्टमेन्ट निर्माणका लागि स्वीकृति लिएनन् । रियल इस्टेट डेभलपरले स्वीकृति लिएर पाइपलाइनमा भएका प्रोजेक्टहरू अगाडि नै बढाएनन् । निर्माणाधीन अवस्थाका कतिपय अपार्टमेन्ट परियोजनाको उद्देश्य परिवर्तन गरेर होटेल, स्कुल–कलेज, हस्पिटल, बैंकलगायतमा परिणत गरियो । अझ त्यति नै वेला सरकारले ‘हाइराइज’ भवन निर्माणमा कसिलो मापदण्ड बनाएपछि बहुतले आवास परियोजना निर्माण अझ निरुत्साहित भएको नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समितिका सभापति मीनमान श्रेष्ठ साथीभाइलाई सुनाउँथे । अपार्टमेन्ट निर्माण गर्न कस्सिएका कम्पनीहरू सिंगल युनिट घरका हाउजिङ परियोजना निर्माणमा केन्द्रित भए । भूकम्पको कम्पनले ठूला भवनको स्ट्रक्चरमा क्षति नपुगे पनि बाहिरको सिमेन्ट चर्किँदा धेरैजसो मान्छे बहुतले भवनमा बस्न डराएको उनको बुझाइ छ ।

भूकम्प गएको सात–आठ वर्षपछि मान्छेले त्यसको कम्पन पूरै बिर्सिसकेका छन् । भूकम्पको घाउ बिर्सिँदै पुनः अपार्टमेन्ट बसाइ रोजाइमा पर्न थालेको छ । तर, भूकम्पयता नयाँ अपार्टमेन्ट नबनेको हुँदा बिक्रीका लागि स्टक युनिट नै नभएको श्रेष्ठ बताउँछन् । भूकम्पपछि मर्मत–सम्भार गरेर पुनः ब्युँताइएका पुराना अपार्टमेन्ट मात्रै किनबेच भइरहेका छन् । ‘पछिल्लो केही वर्षयता अपार्टमेन्ट किन्न खोज्ने ग्राहक बाक्लिन थालेका छन्,’ नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले भन्छन्, ‘स्टकमा अपार्टमेन्ट नै छैनन्, के बिक्री गर्नु ?’ अहिलेसम्म ३८ व्यवसायीलाई बहुतले संयुक्त आवास निर्माण गर्न दुई हजार आठ सय ७३ आवास इकाइको स्वीकृति दिएको भवन निर्माण विभागले जनाएको छ ।

११ महिनामा ४८० अपार्टमेन्ट बिक्री
अघिल्लो आवको ११ महिनामा चार सय ८० अपार्टमेन्ट बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक छ । जबकि, यही अवधिमा देशभर करिब सात लाख घरजग्गा किनबेच भएका छन् । सबैभन्दा बढी चैतमा ६७ युनिट बिक्री भएको छ भने सबैभन्दा कम पुसमा ३० युनिट बिक्री भएको छ । 

घरजग्गा व्यवसायी वाग्ले भन्छन्, ‘अहिले अपार्टमेन्ट किन्ने ग्राहकहरू नभएर किनबेच न्यून भएको चाहिँ होइन, नयाँ अपार्टमेन्ट नआउँदा पुरानो स्टक सकिँदै गएपछि किनबेच पनि घट्दै गएको हो ।’ अपार्टमेन्ट युनिट कम भएपछि मूल्य पनि चर्किएको छ । रिङरोडबाट बाहिरै जाँदा पनि ठिक्कको दुई बेडरुम अपार्टमेन्टलाई पनि डेढ करोड रुपैयाँ लगानी गर्नुपर्छ । रियल इस्टेटको पायोनियर सिई ग्रुपका अध्यक्ष विजय राजभण्डारीका अनुसार विदेशमा बसेर फर्किने नेपालीहरू बढी अपार्टमेन्टमा बस्न खोज्ने गरेको देखिन्छ । ‘नेपालमै बस्नेले अझै अपार्टमेन्ट डाइजेस्ट गर्न सकेका छैनन्, सकेसम्म सिंगल घर नै खोज्छन्,’ उनको अनुभव छ, ‘विदेशमा अपार्टमेन्टमै बसेर फर्किएका नेपालीहरूको रोजाइमा भने अपार्टमेन्ट पर्न थालेको छ ।’

दुई दर्जन अपार्टमेन्ट आउँदै
पछिल्लो समय ग्राहकको माग बढ्न थालेपछि रियल इस्टेट डेभलपर हाइराइज आवास परियोजनामा अपार्टमेन्ट बनाउन कस्सिएका छन् । काठमाडौं उपत्यका, पोखरा, भैरहवा, वीरगन्जदेखि विराटनगरसम्म अपार्टमेन्ट परियोजना घोषणा भएका छन् । तर, सबै अपार्टमेन्ट परियोजनाका आवासको मूल्य भने अत्यन्तै चर्को छ । एकातिर सहरी क्षेत्रमा जग्गाको मूल्य चर्किँदै गएको र अर्कोतिर सरकारले पनि हाइराइज भवन निर्माणमा कसिलो नीति लिएको हुँदा अपार्टमेन्टको मूल्य महँगो पर्न गएको व्यवसायीको भनाइ छ । तर, हालै सहरी विकास मन्त्रालयले भवन निर्माण मापदण्ड संशोधन गरेर बहुतले अवास परियोजनालाई प्रोत्साहन गरेको छ । नयाँ मापदण्डमा फ्लोर एरिया रेसियो (फार) र सँधियारतर्फ अनिवार्य छाड्नुपर्ने न्यूनतम सेटब्याक बहुतले भवनलाई प्रोत्साहन गर्ने गरी संशोधन गरिएको छ । सरकारले मापदण्डमा काठमाडौं उपत्यकामा ठाउँ हेरीकन आवासीय अपार्टमेन्ट भवन बनाउँदा फारको रेसियो ४.५ सम्म कायम गरिदिएको छ । यो व्यवस्थाले भवनको उचाइ थप बढाउन सकिने हुँदा अपार्टमेन्टको मूल्य पनि २० प्रतिशतसम्म सस्तो हुन सक्ने अध्यक्ष वाग्ले बताउँछन् । ‘पहिला १० तला बनाउन पाउने ठाउँमा १३ तलासम्म जान सकिने भयो,’ उनले भने, ‘सोही जग्गामा अग्लो भवन बनाउँदा अपार्टमेन्ट युनिट पनि बढ्ने हुनाले मूल्य पक्कै घट्नेछ ।’ सहरी भेगमा अपार्टमेन्ट परियोजनाको लहर आउने उनको बुझाइ छ ।

‘सहरमा खाली जग्गा कम हुँदै जानुका साथै मूल्य पनि अचाक्ली बढेर चुलीमा पुगेपछि जोकोहीले जग्गा किनेर घर बनाएर बस्न सक्ने अवस्था छैन । सुपथ मूल्यमा अपार्टमेन्ट पाइन थाल्यो भने धेरैको रोजाइ बहुतले आवास नै हुने वाग्ले बताउँछन् । उनी थप्छन्, ‘अब अपार्टमेन्ट निर्माणले गति लिनेछ, विश्वभरि नै मुख्य सहरको बसाइ भनेकै अपार्टमेन्ट नै हो ।’ काठमाडौंको रिङरोडबाहिर तीन–चार किलोमिटर दूरीमा ५–६ तलाका ८–१० भवन बनाएर अपार्टमेन्ट कोलोनी बनाउन सकिने उनको बुझाइ छ । नयाँ नीतिले थोरै जग्गामा पनि अग्लो भवनमा जान सकिने व्यवस्था गरेको छ । २० प्रतिशत युनिट विदेशीलाई बिक्री गर्न सकिने हुँदा पनि धेरै अपार्टमेन्ट युनिट आउन सक्ने रियल इस्टेट व्यवसायीहरू बताउँछन् ।

कहाँ–कहाँ बन्दै छन् अपार्टमेन्ट ?

महाराजगन्जमा बन्दै गरेको कर्मा अपार्टमेन्ट

काठमाडौं उपत्यकाभित्र डाउनटाउन हाउजिङले ललितपुरको धापाखेलमा एक सय युनिटको अपार्टमेन्ट बनाउँदै छ भने पाटन चाकुपाटमा पनि अर्को अपार्टमेन्ट बनाउने तयारीमा छ । यस्तै, एमएस समूहले भक्तपुरको ठिमीमा दुई सय फ्ल्याटको ‘सनराइज हाइराइज अपार्टमेन्ट’ निर्माण गर्न उद्योग विभागबाट लगानीको स्वीकृति लिइसकेको छ । एमएसले ठिमीमा रहेको १५ रोपनी जग्गामा लक्जरी अपार्टमेन्ट र हाउजिङ परियोजना निर्माण गर्न लागेको हो । यो परियोजनामा जग्गाबाहेक ३९ करोड रुपैयाँ लगानी हुनेछ । 

गोल्यान समूह पनि टेकुमा अर्को लक्जरी अपार्टमेन्ट बनाउने तयारीमा छ । चौधरी ग्रुपले ललितपुरको कुपण्डोलमा पाँचतारे होटेलसहितको अपार्टमेन्ट परियोजना सुरु गरिसकेको छ । एक सय ६० युनिटको लक्जरी अपार्टमेन्ट ‘समिट रेसिडेन्सेस’मा एक युनिटको ३० करोड रुपैयाँसम्ममा बिक्री भएको बताइएको छ । दुगड ग्रुपले पानीपोखरीमा अपार्टमेन्ट बनाउँदै छ भने गुड कर्मा ग्रुप अफ कम्पनीले महाराजगन्जमा अपार्टमेन्ट निर्माण सुरु गरेको छ । एक सय ६२ युनिट रहने अपार्टमेन्टमा सबैभन्दा सानो युनिट १२ सय वर्गफिटको हुनेछ, जसको मूल्य नै चार करोड रुपैयाँ तोकिएको छ । अहिले अपार्टमेन्टको प्रि–बुकिङ भइरहेको र छिट्टै भव्य कार्यक्रमसहित बुकिङ खुला गर्न लागेको गुड कर्मा ग्रुपका अध्यक्ष कर्मा तेन्जिङले बताए ।

पायोनियर रियल इस्टेट कम्पनी सिई ग्रुपले थापाथलीमा रहेको तीन रोपनी क्षेत्रफलमा १० तलाको अपार्टमेन्ट बनाउँदै छ । ६७ युनिट रहने अपार्टमेन्ट निर्माण सुरु नहुँदै करिब बुकिङ फुल भइसकेको बताइएको छ । यो अपार्टमेन्टमा क्षेत्रफल हेरी न्यूनतम डेढ करोडदेखि अधिकतम तीन करोड रुपैयाँसम्म मूल्य तोकिएको थियो । यस्तै, गुण ग्रुपले धुम्बाराहीमा निर्माण गरिरहेको १३ तले अपार्टमेन्टको काम अन्तिम चरणमा छ । दुईवटा १३ तले भवनका अपार्टमेन्टमा बस्न न्यूनतम ८० लाखदेखि अधिकतम डेढ करोडसम्म लगानी गर्नुपर्ने हुन्छ । सात सय १२ वर्गफिटको अपार्टमेन्टको मूल्य ८० लाख रुपैयाँ तोकिएको छ । यो अपार्टमेन्टले मध्यम वर्गको घरको सपना पूरा गरिदिने अध्यक्ष राजेन्द्र शाक्य बताउँछन् ।

अपार्टमेन्टको हब बन्दै पोखरा
कुनै समय पोखरामा तीन–चार तलाभन्दा अग्लो घर बनाउन दिइँदैनथ्यो । ठूला घरहरू भासिने डरले अढाई–तीन तलाका एकै प्रकारका घरहरू देखिन्थे । तर, पछिल्लो समय पोखरामा १३ तलासम्मका अग्ला भवन निर्माण हुँदै छन् । त्यसो त पोखराले बहुतले अपार्टमेन्ट परियोजनाको हबका रूपमा नयाँ परिचय बनाउँदै छ । पोखरामा करिब सात सय युनिटका एक दर्जन हाराहारी अपार्टमेन्ट परियोजना निर्माण सुरु भएका छन् ।

पोखरामा बन्दै गरेको अन्नपूर्ण अपार्टमेन्ट

पोखरामा ह्वाइट हर्स डेभलपर्सले पर्स्याङमा लभ्ली हिल्स अपार्टमेन्ट परियोजना अन्तिम चरणमा पुर्‍याएको छ । ४४ युनिट अपार्टमेन्ट रहने यस परियोजनाभित्र १३ वटा सिंगल युनिट घरहरू पनि निर्माण भइरहेका छन् । पोखराकै केसी ग्रुप र केएल ग्रुपले सराङकोटको पदेँलीमा ‘सूर्योत्थान लक्जरी अपार्टमेन्ट’ निर्माण सुरु गरेका छन् । १८ रोपनी क्षेत्रफलमा बन्ने तीनवटा भवनमा एक सय ४१ अपार्टमेन्ट हुनेछन्, जसको मूल्य एक करोड ५० लाखदेखि तीन करोड ५० लाख रुपैयाँसम्म तोकिएको छ ।

सिई ग्रुपले पोखरामा झन्डै पाँच अर्ब रुपैयाँ लगानी गरेर दुईवटा हाउजिङ तथा अपार्टमेन्ट परियोजना ल्याउँदै छ । सिईले लेकसाइडमा लेक भ्यु अपार्टमेन्ट र चाउथेमा फेवा प्रिन्स अपार्टमेन्ट निर्माण गर्न लागेको हो । लेक भ्युमा ६० युनिट र फेवा प्रिन्स रेसिडेन्सीमा ५५ युनिटको अपार्टमेन्ट निर्माण गर्ने जनाएको छ । यी अपार्टमेन्टको मूल्य सवा करोडदेखि दुई करोडसम्म हुने बताइएको छ ।

बिएन्डबी समूहले पोखराको सेदीमा ‘इभोलुसन बिएनबी लेक भ्यु रिसोर्ट एन्ड अपार्टमेन्ट’ निर्माण सुरु गरिसकेको छ । कुल ३२ रोपनी क्षेत्रफलमा निर्माण हुने अपार्टमेन्टमा एक सय १० युनिट रहने र मूल्य ५० लाखदेखि तीन करोडसम्म पर्ने बताइएको छ । यो अपार्टमेन्टमा बनाइने चारवटै पेन्टहाउस बुकिङ भइसकेका छन् । सद्भावना हाउजिङले फूलबारीमा १३ तलाको सुनगाभा अपार्टमेन्ट बनाउँदै छ । ५२ युनिट रहने अपार्टमेन्टको मूल्य साढे दुई करोडदेखि साढे तीन करोड रुपैयाँसम्म तोकिएको छ ।

घरजग्गा व्यसवायी कालु गुरुङको रोड सोले पामेकै सेदी र मासबारमा अपार्टमेन्ट निर्माण सुरु गरेको छ । मासबारमा दुई रोपनी क्षेत्रफलमा बन्ने ४१ युनिटको अपार्टमेन्टमा बस्न एक करोड रुपैयाँभन्दा कम लगानी गर्दा पुग्छ । रोड सोले नै सेदीमा बनाइरहेको ६० युनिट रहने १० तलाको अन्नपूर्ण अपार्टमेन्टको मूल्य एक करोड ८० लाखदेखि दुई करोड रुपैयाँसम्म तोकिएको छ । कम्फर्ट गुडविल डेभलपर्सले पोखराको तेर्सापट्टीमा एक सय सात युनिट रहेको १० तले अपार्टमेन्ट बनाएर ग्राहकलाई चाबी हस्तान्तरण गरिसकेको छ । यस्तै, जय भद्रकाली डेभलपर्सले पोखरामै एक अर्ब ५७ करोड रुपैयाँ लगानी गरेर अपार्टमेन्ट बनाउन उद्योग विभागबाट लगानीको स्वीकृति लिइसकेको छ ।

औद्योगिक नगरी मानिने वीरगन्जमा पनि अपार्टमेन्ट निर्माणले तीव्रता पाएको छ । रियल इस्टेट व्यसवायीले पर्सामा काठमाडौं–वीरगन्ज आउजाउ गरिरहने उद्यमी–व्यवसायीलाई लक्षित गरी अपार्टमेन्ट निर्माण गर्न लागेका हुन् । सालिमार होम्सले वीरगन्जमा ९५ युनिटको अपार्टमेन्ट बनाउँदै छ भने वीरगन्जकै पानीट्यांकीनजिक १३ तलाको ‘रोध कृपा’ अपार्टमेन्ट निर्माण भइरहेको छ । यस्तै, सिई ग्रुपसहितको टिमले भैरहवामा मेगाप्रोजेक्ट ‘द हब लुम्बिनी’ नाममा अपार्टमेन्ट परियोजना पनि ल्याउँदै छ । यो परियोजनाभित्र बन्ने अपार्टमेन्ट पूरै बुकिङ भइसकेका छन् ।

मध्यम वर्गको पहुँचमा छैन
पछिल्लो समय बन्दै गरेका सबै अपार्टमेन्टको मूल्य मध्यम वर्गको पहुँचभन्दा धेरै टाढा छ । यी अपार्टमेन्ट मध्यम वर्गभन्दा पनि एलिट र उच्च वर्गलाई तार्गेट गरेर बनाउन लागिएको हो । मध्यम वर्गलाई भन्दा उच्च वर्गलाई तार्गेट गरेर अपार्टमेन्ट बनाउँदा केही सेवा–सुविधा थपेकै भरमा चर्को मूल्यमा बिक्री गर्न पाइने र नाफा पनि उच्च हुने हुँदा अधिकांश डेभलपर कम्पनी लक्जरी अपार्टमेन्ट निर्माणमा कस्सिएका छन् । काठमाडौं उपत्यकामा एक हजार स्क्वायर फिटको दुई बेडरुम अपार्टमेन्टको मूल्य रिङरोडबाट बाहिरै जाँदा पनि दुई करोडभन्दा बढी तिर्नुपर्ने अवस्था छ । ठिक्कको अपार्टमेन्ट खरिद गर्दा पनि डेढ करोड रुपैयाँ लगानी गर्नुपर्छ । अर्थात्, अपार्टमेन्ट बसाइका लागि पनि घरको भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।