१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चोरी लुकाउन तमसुक, तमसुक लुकाउन हत्या

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o२:oo

महोत्तरीमा एक वर्ष पहिले गरेको चोरीको घटना लुकाउन तमसुक बनाइएकोमा सोही तमसुकको ताकेता गर्दा हत्या गरिएको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार पत्रकार सम्मेलन गर्दै जनकपुर उपमहानगरपालिका–७ का १८ वर्षीय अजय भनिने अर्जुन शाहको हत्यामा संलग्न पाँचजनालाई  सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीका अनुसार एक वर्ष पहिले गरिएको चोरीको घटना पीडितपक्षले थाहा पाएर मुद्दा हाल्ने भनेपछि तमसुक बनाइएको र सोही तमसुकका आधारमा पीडित पक्षले पैसा तिर्न ताकेता गरेपछि हत्याको योजना बनाएको आरोपितहरूले प्रहरीलाई दिएको बयानमा खुलाएका छन् ।

यस्तो थियो घटना

जनकपुर–७, माछा बजार बस्ने १८ वर्षीय अजय भनिने अर्जुन शाह पेसाले ई रिक्सा चालक थिए । उनी श्रावण २० गतेदेखि परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीसमेतको सहयोगमा खोजतलास गरेको थियो । खोज तलासका क्रममा श्रावण २३ गते लोहारपट्टी नगरपालिका–८, भगवानपुर चोकस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिमपट्टि अर्जुनको शव परिवारले भेटाएका थिए । 

त्यसपछि प्रहरीले अनुसन्धान गर्दा उनको हत्यामा संलग्न रहेको आरोपमा लोहारपट्टी–४ घर भई हाल धनुषाको जनकपुर–७ मा डेरा गरी बस्ने ३२ वर्षीय जितकुमार यादव, उनका भाइ कृष्ण यादव, जनकपुर–१८ घर भइ हाल वडा नं. ७, जिरोमाईल चोकमा कोठा भाडामा बस्दै आएका २५ वर्षीय सन्तोषकुमार, धनुषाकै औरही गाउँपालिका–२ घर भई हाल क्षीरेश्वरनाथ नगरपालिका–३, महेन्द्रनगरमा डेरा गरी बस्ने २७ वर्षीय बिगुल मुखिया र उनकी श्रीमती २१ वर्षीया किरण भनिने प्रमिला महरालाई प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

यस्तो थियो हत्याको कारण 
प्रहरीले आरोपीहरूलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा हत्याको कारण खुलेको जनाएको छ । करिब एक वर्ष पहिले प्रमिला महरा, उनका श्रीमान बिगुल र कृष्ण यादवले अर्जुनको घरबाट एक लाख नगदसहित सुनका गरगहना चोरी गरेका थिए। करिब छ महिनापश्चात् अर्जुनकी आमाले प्रमिला र कृष्णलाई ‘तिमीहरूले नै मेरो घरमा चोरी गरेको मैले थाहा पाइसकेँ अब तिमीहरूमाथि मुद्दा हाल्छु’ भनेकी थिइन् । त्यसपछि आपसी छलफल गरी उक्त रकम तिर्नको लागि प्रमिलाका श्रीमान बिगुलले एक लाख १७ हजार र कृष्णले दुई लाख ४६ हजारको तमसुक बनाएका थिए । 

तर, तमसुक बनाए पनि पैसा नतिरेपछि घटना हुनुभन्दा करिब २०-२५ दिनअगाडि अर्जुनकी आमाले पुनः पैसा नतिरेमा आफूले प्रहरीमा उजुरी गर्ने बताएपछि हत्या योजना बुनिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्या गर्न तीस हजारको सुपारी
आफूहरूलाई चोरीको आरोपमा प्रहरीले समात्न सक्ने भएपछि अर्जुन र उनकी आमा दुवैलाई  सिध्याउने भन्दै प्रमिला, बिगुल र कृष्णले आफूहरूले बनाएको तमसुक र थप गरगहनासमेत लुट्ने योजना बनाए ।

सोही योजनासहित कृष्णले आफ्ना दाइ जितकुमार र सन्तोषकुमारलाई उनीहरूको हत्या गर्नका लागि तीस हजारको सुपारी दिए । त्यसपछि श्रावण २० गते जित कुमार यादवले अजयलाई फोन गर्दै एक हजारमा उनको टेम्पो लोहारपट्टीको फुलबरिया जाने भनेर बुक गरे । सोही राति जितकुमार र सन्तोष टेम्पोमा बसी लोहारपट्टी जाने क्रममा शव भेटिएको स्थानमा पुगेर पछाडिबाट गम्छा घाँटीमा पासो लगाई हत्या गरे । हत्यापश्चात् शव सोही ठाउँको नहरमा फाली ई-रिक्सा लिएर भागे ।  पछि उक्त रिक्सा जनकपुर उपमहानगरपालिका–७, मुसहरी टोलस्थित माँ जानकी सप्लायर्स प्रालिनजिकको सडकमा छोडी उनीहरू फरार भए । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतका कार्यालयहरू, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगन्ज र जनकपुरबाट खटिएका संयुक्त प्रहरी टोलीसमेतले विभिन्न पक्षबाट घटनाको अनुसन्धान गरेका थिए ।  नियमित तथा प्राविधिक अनुसन्धान तथा विश्लेषणको आधारमा हत्या भएको पुष्टिसहित हत्यामा संलग्न पाँचैजनालाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी पंगेनीले बताए ।

ad
ad