मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
सौरभ यादव सप्तरी
२०७९ श्रावण २६ बिहीबार ०६:२९:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मिटरब्याजी साहुकारहरूले उठीबास लगाएका नागरिकका पीडा सिंहदरबारले पनि सुनेन

Read Time : > 7 मिनेट
टेकराज थामी, काठमाडाैं
सौरभ यादव, सप्तरी
२०७९ श्रावण २६ बिहीबार ०६:२९:००

नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश बानियाँ र उनको परिवारले उठीबास लगाएपछि पीडितहरू गत २९ जेठमा काठमाडौं आए । माइतीघर मण्डलामा धर्ना बसे । गृह मन्त्रालय र पीडितबीच वार्ता भयो । दुई पक्षबीच ‘पीडितलाई न्याय दिलाउने, दोषीलाई कारबाही गर्ने’ सम्झौता पनि भयो । पीडितहरू न्याय मिल्ने आसमा घर फर्किए । तर, समस्याको गाँठो फुक्न सकेन । 

गृहसँग सहमति भएको महिना दिनपछि पुनः धर्नाका लागि काठमाडौं आएका पीडित प्रतापपुर– २ का रामशरण गुप्ताले भने, ‘साहुकार जगदीशले गाउँ नै उठिबास लगाएपछि हामी महिना दिनअघि माइतीघर मण्डलामा आएर धर्ना दियौँ । १४ दिनपछि गृहसँग सम्झौता भयो । समस्या सधैँका लागि समाधान हुने आसले फुरुंग भयौँ । घर फर्कियौँ । तर, समस्या समाधान भएन । हामीलाई त सरकारले नै झुक्यानमा पारेझैँ लागिरहेको छ ।’ उनीहरूको दोस्रो चरणको धर्ना १० दिनदेखि चलिरहेको छ । 

रामशरणका अनुसार गृहसँगको सम्झौतापछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजी जगदीश र उनका भाइ सुरेश बानियाँलाई पक्राउ गर्‍यो । हिरासतमा राख्यो । जगदीश र उनको परिवारबाट शोषणमा परेका पीडित क्रमशः जिप्रका आउँदै थिए । तर, प्रहरीले जगदीश र सुरेशलाई २१ दिनमा हिरासतमुक्त गरिदियो । 

माइतीघर मण्डलामा धर्नारत गुप्ताले भने, ‘गाउँमा जगदीश परिवारबाट मात्रै पीडित पाँच सयभन्दा धेरै छन् । कागजात लिएर पीडित प्रहरी कार्यालय आउँदै थिए । तर, प्रहरीले सबै पीडितको समस्या हेर्दै नहेरी जगदीश दाजुभाइलाई छाडिदियो । जिल्लाबाट समस्या समाधान हुने नदेखेपछि पुनः काठमाडौं आउन बाध्य भयौँ ।’

१३ असारको वार्तामा गृहका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेल सहभागी थिए । दुई पक्षबीच दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति भएको थियो । तर, पीडित जब प्रतापपुर पुगे, सहमति कार्यान्वयन हुन सकेन । पीडितको आन्दोलनमा सहभागी हुँदै आएका नृगराज नवीनले भने, ‘गृहसँग सहमति भयो । पीडितको आँखामा छारो हाल्न दुईजनालाई पक्राउ पनि गरियो । हतार–हतार केही तमसुक च्यातियो पनि । तर, गहिरो ढंगले अनुसन्धान भएन । अन्य साहुकार पक्राउ गर्नतिर पनि प्रहरीले चासो देखाएन । त्यसैले पीडित पुनः धर्ना दिन काठमाडौं आउनुपरेको हो ।’

तर, नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सहमतिअनुसार साहुकारलाई पक्राउ गरिएको र २० वटा तमसुक पनि च्यातिएको बताए । उनले भने, ‘गृहसँगको सम्झौताअनुुसार नै हामीले दुई साहुकारलाई पक्राउ गर्‍यौँ । २१ दिन थुन्यौँ । २५ जना पीडित हामीकहाँ आएका थिए । २० वटा तमसुक च्यात्यौँ । त्यसपछि छाडेका हौँ ।’

यता गृह सहप्रवक्ता वसन्त भट्टराई भने साहुकारपीडितसँग गृहले कुनै लिखित सम्झौता नगरेको, तर समस्याप्रति जानकार रहेको बताए । उनका अनुसार साहुकारसँगको लेनदेनबारे पीडितसँग प्रमाणका लागि आवश्यक कागजात नभएको हुँदा समस्या समाधान गर्न गाह्रो छ । ‘साहुकारपीडितबारे गृह जानकार छ । केही हप्ताअघि गृहमा केही पीडित आएका थिए । वार्ता पनि भएको हो । समस्या समाधान गर्ने भनेका हौँ । तर, लिखित सम्झौता गरिएजस्तो लाग्दैन । यद्यपि, पीडित पीडित नै हुन् । समस्या समाधान गर्न गृह तत्पर छ ।’

को हुन् जगदीश बानियाँ ?
नवलपरासीको प्रतापपुर र सुस्तामा सयौँ परिवारको उठिबास लगाउनेमा जगदीशसहित उनका भाइहरू सुरेश, सुजित र सुनील बानियाँ छन् । उनीहरूले मात्रै गाउँमा पाँच सयभन्दा धेरैलाई उठिबास लगाएका छन् । सोही धन्दाबाट आर्जेको धनले उनीहरू अहिले करोडपति बनेका छन् । पीडितका अनुसार विगतमा उनीहरू गाउँमै ढुंगा र बालुवाको काम गर्थे । प्रगति नभएपछि उनीहरू अमेरिका जाने डिभी (डाइभर्सिटी भिसा) भर्ने पेसामा लागे । त्यसबाट केही रकम जम्मा गरे । उक्त रकम मिटरब्याजमा लगाए । जालसाझीपूर्वक स्थानीयको जग्गा दृष्टिबन्धकमा लिए । कतिको जग्गा बेचिदिए । सोही रकमबाट धन आर्जन गरे । अहिले उनीहरूको प्रतापपुरमा स्विमिङ पुलसहितको महल छ । जिल्लामा उनीहरूकै रजगज चल्छ । राजनीतिक दलका नेता उनीहरूकै प्रभावमा चल्छन् । सिडिओदेखि प्रहरी–प्रशासनमा उनीहरूको बाक्लो उठबस छ । सोही आडमा उनीहरू स्थानीयलाई बेपर्वाह उठिबास लगाइरहेका छन् ।

सिंहदरबारसँग न्यायको गुहार माग्दै नवलपरासीका ७७ पीडित माइतीघरमा दोस्रो पटक १० दिनदेखि धर्नामा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नवलपरासी प्रतापपुर गाउँपालिका– ५ श्रीरामपुरका ६२ वर्षीय प्रेम चन्दले छोरालाई वैदेशिक रोजगारमा पठाउन गाउँकै महाजन जगदीश कानूसँग दुई लाख रुपैयाँ ऋण लिए । तर, त्यही ऋणको पासोले अहिले उनी घर न घाटका भएका छन् । 

०६६ मा उनले साढे १५ कट्ठा जमिन दृष्टिबन्धक राखेर जगदीशसँग ऋण लिएका थिए । दुई वर्षमा ऋण चुक्ता गर्ने भाका थियो । ऋण लिएको १३ वर्षमा उनले जगदीशलाई पाँच लाख ६० हजार बुझाइसके । तर, हालसम्म न ऋण चुक्ता भएको छ, न त दृष्टिबन्धकमा राखेको जग्गा नै फिर्ता भएको छ । जगदीशले उनीसँग अझै सात लाख मागेका छन् । नत्र दृष्टिबन्धकको जग्गा सधैँका लागि जफत हुने चेतावनी दिएका छन् ।

पुर्ख्यौली थलोमै सुकुमबासी बन्ने अवस्था सिर्जना भएपछि सरकारसँग गुहार माग्न उनी अहिले काठमाडौंं आइपुगेका छन् । ‘सम्पत्तिको नाममा मेरो साढे १५ कट्ठा मात्रै जमिन हो । छोरालाई विदेश पठाउन महाजनसँग ऋण लिएँ । साँवाब्याजसहित पाँच लाख ६० हजार बुझाइसकेँ । तर, उनले अझै सात लाख रुपैयाँ थप मागेका छन् । नबुझाए जग्गा जफत हुने भनेका छन् । पुर्ख्यौली थलोमै सुकुमबासी बन्ने अवस्था आएपछि गुहार माग्न आएका छौँ,’ माइतीघर मण्डला धर्नास्थलमा भेटिएका उनले भने ।

नवलपुर बर्दघाट नगरपालिका– १५ पृथ्वी बस्तीका ४४ वर्षीय जितबहादुर थापामगरलाई भने चितवन भरतपुरका हेमराज थापाले सुकुमबासी बनाइदिएका छन् । ०७२ मा घर बनाउन उनले हेमराजसँग सात लाख रुपैयाँ ऋण लिएका थिए । त्यसका लागि उनले १६ कट्ठा सात धुर जमिन दृष्टिबन्धकमा राखेका थिए । दुई वर्षभित्र ऋण चुक्ता गर्ने दुई पक्षबीच सर्त थियो । सर्तअनुसार जितबहादुरले दुई वर्षसम्म साँवाब्याज तिर्दै आए । जब जग्गा फिर्ता गर्ने दिन आयो हेमराज बेपत्ता भए । हेमराजको खोजीमा उनी भरतपुरको गल्लीगल्ली चहारे । तर, कहीँ फेला पर्न नसकेपछि घर फर्के । त्यसको केही महिनापछि चितवन भरतपुरकै पदमपाणि खरेल जग्गामा हकदाबी जताउँदै लालपुर्जा बोकेर घर आइपुगे । लालपुर्जा अध्ययन गर्दा पो थाहा पाए, हेमराजले पत्तै नपाई जग्गा त पदमपाणिलाई बेचिसकेछन् । 

जग्गा फिर्ता लिन पदमपाणिले उनीसँग अहिले तीन करोड रुपैयाँ मागिरहेका छन् । रकम नदिए जग्गाबाट जबर्जस्ती हटाउने धम्की दिँदै आएका छन् । तर, उनीसँग माग भएबमोजिमको रकम दिने हैसियत छैन । थातथलोबाटै सुकुमबासी बन्ने अवस्था आएपछि उनी पनि गुहार माग्दै माइतीघर मण्डला आइपुगेका छन् । 

नवलपरासी बर्दघाट नगरपालिका– १५ पृथ्वीबस्तीकै २८ वर्षीय अजय आले पनि हेमराजबाटै पीडित भएका छन् । उनले पनि हेमराजसँग ०७२ मा एक लाख ऋण लिएका थिए । जसका लागि कागज भने सात लाखको बनाइएको थियो । २१ कट्ठा १० धुर जमिन उनले हेमराजको नाममा दृष्टिबन्धक पास गरिदिएका थिए । साँवा र ब्याज उनले समयमै तिरे । तर, उनको जग्गा फिर्ता भएको छैन । 

खोजीका लागि उनले पनि भरतपुरको गल्लीगल्ली चहारेका छन् । तर, भेट्टाउन सकेका छैन । दृष्टिबन्धकमा राखेको जग्गा हेमराजले अरूलाई नै बेचिदेला भन्ने भयले अजयको निद्रा हराएको धेरै वर्ष भयो । तर, समस्या समाधान हुने छाँट उनले देखेका छैनन् । सरकारलाई पीडा सुनाउन माइतीघर मण्डला आइपुगेका उनले भने, ‘लाख कोसिस गर्दा पनि हेमराजलाई भेट्टाउन सकिएन । उसले गाउँमा धेरैलाई सुकुमबासी बनाएको छ । मेरो जग्गा पनि उसको नाममा दृष्टिबन्धक छ । बेचिदेला भन्ने ठूलो पिर छ । समस्या राख्न यहाँसम्म आइपुगका छौँ,’ उनले भने ।

नवलपरासी बर्दघाट पृथ्वी बस्तीकै ४० वर्षीया दुर्गामाया दमाई चितवन भरतपुरका मिटरब्याजी सूर्य अर्यालबाट पीडित छिन् । ०७३ मा दुर्गामायाका बाबु दिलबहादुरले सूर्यसँग दुई लाख ऋण लिएका थिए । दृष्टिबन्धकमा पाँच कट्ठा आठ धुर जमिन सूर्यलाई पास गरेर दिएका थिए । जालसाजीपूर्वक सूर्यले दुर्गामायाका भाइसँग १३ लाखको अर्को काजग गरे । 

पटक–पटक गरेर दुर्गामायाले सूर्यलाई तीन लाख बुझाइन् । तर, न जग्गा फिर्ता भयो, न १३ लाख रुपैयाँको कागज नै च्यातियो । सूर्यले दृष्टिबन्धकको जग्गा पाँच लाख १३ हजार रुपैयाँमा इन्द्रजित हमाललाई पहिले नै बेचिसकेछन् । इन्द्रजितले पनि उक्त जग्गा सुनिता विकलाई बेचिदिएछन् । दुर्गामायाका बाबु दिलबहादुरले सूर्यको नाममा दृष्टिबन्धकमा पास गरिदिएको जग्गा अहिले सुनिताको नाममा छ । 

सुनिता जग्गा खाली गर्न दैनिकजसो दुर्गामायाको घर आउने गर्छिन् । तर, सुनितासँग लड्ने कानुनी आधार दुर्गामायासँग छैन । किनकि जग्गाको लालपुर्जा सुनितासँग छ । त्यसैले दुर्गामाया अहिले पुर्ख्यौली थलोमै सुकुमबासी बन्न पुगेकी छिन् । पीडा सहन नसकेर उनका भाइ भारत पलायन भइसकेका छन् । माइतीघर मण्डलास्थित धर्नास्थलमा भेटिएकी दुर्गामायाले भनिन्, ‘हेर्दाहेर्दै पुर्ख्यौली थलोमै सुकुमबासी भइयो । भाइ यही पिरले बेपत्ता भयो । घर खाली गर्न दैनिक दबाब छ । आफ्नै जग्गाको लालपुर्जा अरूको हातमा छ । लड्नका लागि कानुनी आधार पनि छैन । ऋणको पासोले यस्तो हबिगत भयो ।’

खुँखार मिटरब्याजी रामदेवले उठीबास लगाएका सप्तरीका पीडित न्याय खोज्दै जेठदेखि निरन्तर सडकमा

सप्तरी/खुँखार मिटरब्याजी रामदेव साह तेलीले उठीबास लगाएका सप्तरीका पीडित न्याय माग्दै गत जेठ अन्तिम सातादेखि सडक आन्दोलनमा छन् । गाउँगाउँबाट आएर उनीहरूले हरेक साताजसो सदरमुकाम राजविराजमा प्रदर्शन गरिरहेका छन् । बुधबार पनि उच्च अदालत जनकपुरको राजविराज इजलास हुँदै बजार परिक्रमा गरेका छन् । पीडितहरूले मिटरब्याजी साहपीडित संघर्ष समिति नै बनाएका छन् ।  

‘हेर्दाहेर्दै साहुकार रामदेवले हामीलाई सुकुमबासी बनाइदियो । जालसाजीपूर्वक घर र जग्गा खायो । हामीमाथि अन्याय भएको छ, न्याय नपाएसम्म संघर्ष गरिरहन्छौँ,’ पीडित तैयब अलीले  भने, ‘न्याय नपाए अब अदालतअगाडि नै मर्छौँ, हामी गरिबसँग अब अर्को विकल्प छैन ।’ साहुकार रामदेवले ९५ लाख तिरिसक्दासमेत आफ्नो घरसहित एक बिघा १० कट्ठा जग्गा कब्जा गरेको उनले बताए । 

प्रहरीले रामदेवका छोरा नन्दकिशोरलाई २७ जेठमा धरानबाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरमा पीडितहरूले उजुरी दर्ता गरेपछि मुख्य आरोपी रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह भने फरार छन् ।

पक्राउ परेका छोरा नन्दकिशोर र छोरी अनुराधालाई भने २२ असारमा पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । तर, आरोपीलाई उन्मुक्ति दिने त्रासका कारण न्यायका लागि आफूहरू संघर्षमा उत्रिनुपरेको संघर्ष समितिका संयोजक छेदीलाल पासवानले बताए ।

सर्लाहीका साहुकार परदेशीविरुद्ध चार करोड बिगो दाबीसहित मुद्दा
काठमाडौं/ सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । सोझा गाउँलेलाई ऋण लगाएर महँगो ब्याज असुल्ने साह र पत्नी मञ्जु देवीसमेतलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । 

२० साउनमा दर्ता भएको मुद्दामा साहविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ र पत्नी मञ्जुविरुद्ध ६५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ गरी कुल तीन करोड ८६ लाख ५८ हजार बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण कानुनअनुसार बिगोको दोब्बर जरिवानासमेत माग दाबी विभागले गरेको छ । 

साहले गाउँका विपन्नलाई आफू, पत्नी, छोरा–बुहारी, छोरी–ज्वाइँका नाममा ऋण लगानी गर्ने, त्यसको चक्रवर्ती ब्याज असुल गर्ने गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । साहले एउटै ऋणमा ऋणीका आफन्त, नातागोतासमेतलाई झुक्याएर किर्ते तमसुक गराउने, ऋण लिएभन्दा पाँच गुणासम्म बढाएर कागजपत्र बनाउने, तिरेको ऋणको निस्सा नदिएर ऋण कायम गर्नेजस्ता ठगी गरेको विभाग बताउँछ । उनीविरुद्ध विभागले २५ पृष्ठको अभियोग अदालतमा पेस गरेको छ । 

साहविरुद्ध सर्लाही प्रहरीले यसअघि नै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा चलाइसकेको छ । त्यसमा सम्पत्ति शुद्धीकरणसमेत गरेको देखिएपछि प्रहरीले उक्त कसुरमाथि अनुसन्धान गर्न विभागलाई सूचना प्रवाह गरेको थियो । उजुरीउपर साहमाथि विभागले दुई वर्ष लामो छानबिन र अनुसन्धान गरेको छ । साह भने ठगी मुद्दामा अहिले पनि जेलमा छन् । सोझा जनतालाई ऋणको पासोमा पार्ने उनी अब कसुर प्रमाणित भए सम्पत्ति शुद्धीकरणको कडा कानुनअनुसार अरू अधिकतम १० वर्ष जेल बस्नुपर्नेछ । 

विभागले अदालतमा दर्ता गरेको अभियोगपत्रअनुसार साहले गाउँका ४८ जनालाई एक करोड एक लाख ९२ हजार ऋण लगानी गरेका थिए । उक्त रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ गरी एक करोड ५३ लाख ३१ हजार अतिरिक्त आर्जन गरेको आरोपपत्रमा उल्लेख छ । ऋण लगानी र त्यसबाट गरेको ठगीसमेत जोड्दा आउने दुई करोड ५५ लाख २३ हजार तथा त्यसैबाट जोडेका अन्य चलअचल सम्पत्तिसमेतको कुल तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ साहले सम्पत्ति शुद्धीकरण गरेको विभागको ठहर छ । यही रकमलाई बिगो कायम गरेर विभागले साहविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को व्यवस्थाबमोजिम मुद्दा दायर गरेको हो । 

पत्नी मञ्जुको हकमा भने उनको नामको घरजग्गातर्फ लगानी मूल्यांकन र बैंकको मौज्दातसमेत गरी ६५ लाख ६५ हजार तीन सय ५५ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण ऐनको व्यवस्थाअनुसार बिगोका अतिरिक्त जरिवाना, सम्पत्ति जफत र कैद सजाय मागको दाबी गरिएको छ ।