१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २२ आइतबार
  • Friday, 09 May, 2025
२o७९ श्रावण २२ आइतबार १o:४४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

काभ्रेमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगको महामारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २२ आइतबार १o:४४:oo

हजारभन्दा बढी बंगुर मरेपछि किसानको करोडौँ क्षति 

काभ्रे जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण हजारौँ बंगुर मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । नेपालमा भ्याक्सिन नभएका कारण किसानका भरिभराउ बंगुरका खोर रित्तिन थालेका हुन् ।

कतारको वैदेशिक रोजगारीबाट फर्किएका रामेछापका प्रकाश बस्नेतले ६ वर्षअघि पनौती नगरपालिका–५, गैरीगाउँमा टिम भिजन एग्रो प्रालि दर्ता गरी बंगुर पाल्न सुरु गरे । सुरुमा ३० लाख खर्च गरेर साथी रामकुमार श्रेष्ठसँग पार्टनरमा सुरु गरेका उनको फार्म अहिले लगभग खाली भएको छ । ‘म एउटा बाहुनको छोरो, हामीले चुनौतीका बाबजुद बंगुर पाल्न सुरु गर्‍यौँ । सुरुमा ३० लाख र पछि थप गरी संरचना बनाउनका लागि मात्र ६० लाख खर्च गरेर हामीले तीन सय ७० बंगुर पालेका थियौँ,’ उनले भने, ‘अफ्रिकन स्वाइन फिभर रोगका कारण हाम्रो फार्म लगभग खाली भएको छ । दिनमै ८–१० वटा बंगुर मर्छन् ।’ उनको फार्ममा मात्रै तीन सयभन्दा बढी बंगुर मरिसकेका छन् ।

वार्षिक एक लाख ४० हजार भाडा तिरेर साढे पाँच रोपनी जग्गामा पालेको बंगुर अब ७० वटा मात्र बाँकी रहेका छन् । ३० वटा बियाउने माउ र अन्य पाठा गरी तीन सयवटा मरिसकेको टिम भिजनका सञ्चालक बस्नेतले बताए । चलनचल्तीको भाउअनुसार ८० लाखभन्दा बढीको घाटा लागेको उनले बताए । ‘सुरुमा बंगुरहरू रगत छादेर मर्न थालेपछि विभिन्न उपचार गर्‍यौँ । ४० हजारभन्दा बढीको औषधिउपचार गर्‍यौँ, तर पनि केही कम भएन,’ उनले भने, ‘डाक्टर गणेश बन्जरा सरले बंगुरको रगत ल्याबमा लगेर परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भयो । नेपालमा यसको उपचार नै नहुने रहेछ । मरेको बंगुर पुर्नुबाहेक केही गर्न सकेको छैन ।’

पनौती नगरपालिका–५, गैरीगाउँमै रहेको गैरीगाउँ कृषि फार्ममा पनि त्यही हालत छ । उक्त फार्ममा एक सय ८३ वटा बंगुर रहेकामा अहिले एउटा मात्रै छ । त्यस्तै, पनौती नगरपालिका–१० मा रहेको श्रेष्ठ बंगुर फार्ममा तीन सय ५० वटा रहेकामा दुई सय ५५ वटा मरेका छन् । धुलिखेल नगरपालिकाको नोबेल पशुपक्षी फार्ममा ७० वटा पालेकामा ५७ वटा मरेका छन् । यो विवरण त भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र धुलिखेलमा आएको तथ्यांक मात्र हो । जानकारी नगराएका थुप्रै ठाउँमा मरेका हुन सक्ने केन्द्रका प्रमुख राजकुमार हुमागाईंले जानकारी दिए ।

‘काभ्रेमा अफ्रिकन स्वाइन फिभरका कारण हजारौँ बंगुर मरिसकेका छन् । दर्ता नभएका फार्महरूमा पनि बंगुरहरू मरिरहेको भन्ने कुरा अनौपचारिक रूपमा खबर आएको छ,’ हुमागाईंले भने, ‘अहिलेसम्म यो रोगको भ्याक्सिन नभएका कारण रोकथामबाहेक अरू कुनै उपचार छैन । हामीले चुन छर्न लगाउने, बंगुर ओसारपसार गर्न रोक लगाउनेबाहेक केही गर्न सकेका छैनौँ ।’ बंगुर मर्‍र्या भन्ने खबर आएपछि त्यसको ल्याब परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि गरेको हुमागाईंले बताए ।

सरकारले बेवास्ता गर्‍यो 
 दैनिक १२–१३ वटा बंगुर मर्न थालेपछि सरकारलाई जानकारी गराए पनि कुनै सहयोग नपाएको कृषकहरूको गुनासो छ । रोग पहिचानपछि पनौती नगरपालिका–५ को कार्यालय, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालयमा अवगत गराएको बस्नेतले बताए । 

‘केही दिनअगाडि नै वडा कार्यालय र विज्ञकेन्द्रमा जानकारी गराएका थियौँ । हिजो प्रदेश मन्त्री बसुन्धरा हुमागाईंलाई पनि जानकारी दिएका छौँ,’ उनले भने, ‘प्रदेश मन्त्री हुमागाईंले मन्त्रालयमा कुरा राख्ने, तर अहिलेसम्म त्यस्तो बजेट व्यवस्था नभएकाले के हुन्छ हेरौँला भनेर भन्नुभयो ।’ आफूहरूलाई लाखौँको क्षति भएको पीडा लिएर जाँदा पनि मन्त्रीले सहज रूपमा लिएको उनीहरूको गुनासो छ ।

भेटेरिनरी तथा पशुसेवा विज्ञकेन्द्रका प्रमुख राजकुमार हुमागाईंका अनुसार जिल्लामा १६ हजार पाँच सय ८५ वटा बंगुर रहेका छन् । हालसम्म एक सय ६२ वटा बंगुर फार्म दर्तामा छन् भने अन्य धेरै फार्महरू दर्ताविनै पनि सञ्चालनमा छन् । धेरै संख्यामा विवरणबाहिर पनि बंगुर फार्म रहेका छन् ।

टिम भिजनका सञ्चालक प्रकाश बस्नेतले ६ वर्ष खाडीमा दुःख गरी कमाएको पैसाले नेपालमै केही गर्नुपर्छ भनेर बंगुर व्यवसाय गरेको बताए । सधँै अर्काको देशमा पसिना बगाउनुहुन्न, देशमै केही गरी खानुपर्छ भन्ने हेतुले टिम भिजन एग्रो प्रालि दर्ता गरेर व्यवसाय सुरु गरेको, तर बंगुर मरेर तनाव भएको बताए ।
सरकारले व्यवसायीको भावना बुझेदेखि फेरि बिदेसिनुनपर्ने, तर सरकारले नहेरे फेरि बिदेसिनुपर्ने बाध्यता रहेको बस्नेतले बताए ।