मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चिनियाँ नागरिकलाई अपहरण गरी बन्धक बनाउने अपहरणकारीलाई बुधबार गोंगबुस्थित न्यु स्वर्गद्वारी लजबाट पक्राउपछि सार्वजनिक गर्दै प्रहरी ।
मुख्य समाचार प्रिन्ट संस्करण

बर्दीको आडमा अपहरणदेखि बलात्कार प्रयाससम्म 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ श्रावण २० शुक्रबार ०९:३५:००

चार वर्षमा सात हजार आठ सय ४८ प्रहरीमाथि कारबाही, दुई सय ८० जागिरबाटै निकालिए 

चिनियाँ नागरिक याङ्ग याङ्ग अपहरणमा परेको र छुटाउन एक करोड रुपैयाँ फिरौती माग भएको सूचनापछि प्रहरी घटनास्थलतर्फ खटियो । नभन्दै अपहरणकारीले याङ्गलाई गोंगबुस्थित न्यु स्वर्गद्वारी प्युठान होटेल एन्ड लजमा बन्धक बनाएको खुल्यो । प्रहरीले चारैतिरबाट लजलाई घेरा हाल्यो । करिब डेढ घन्टाको प्रयासपछि अपहरणमा संलग्नहरू पक्राउ परे । प्रहरीले याङ्गको सकुशल उद्धार गर्‍यो । 

प्रहरी जब अपहरणको सूक्ष्म अनुसन्धानमा लाग्यो, घटनामा प्रहरीकै सुरक्षाकर्मी संलग्न रहेको खुल्यो । अपहरणमा प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र शिव सुनुवार संलग्न रहेको खुलेको छ । कर्णबहादुर उच्च अदालत पाटनका न्यायाधीशका पिएसओ हुन् । शिव महानगरीय प्रहरी वृत्त बलाजुका घुमुवा हुन् । उनलाई केही महिनाअघि वृत्तका तत्कालीन प्रमुख गौतम मिश्रले राखेका थिए ।

डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी
प्रहरीको काम सेवा गर्नु हो । तर, केहीमा अनावश्यक महत्वाकांक्षा हुन्छ । रातारात धनी बन्ने चाहना जाग्छ । लोभ पलाउँछ । जसले अपराध गर्न प्रेरित गर्छ । संगठनमा केही यस्ता व्यक्ति हुन्छन्, अनुसन्धानपछि पत्ता लाग्छ र कारबाही पनि तुरुन्तै हुन्छ । कारबाही गरिएकाको सूची हामीकहाँ सुरक्षित छ ।

उनीहरूसँगै घटनामा संलग्न रहेका सर्लाहीको लालबन्दी नगरपालिका–११ का २९ वर्षीय रोहित मगर, प्युठानको प्युठान नगरपालिका–८ बागदुलाका २८ वर्षीय विशाल मगर, नुवाकोटको शिवपुरी गाउँपालिका–६ पालथोकका २७ वर्षीय विनोद केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले याङ्गलाई बुधबार बेलुका लाजिम्पाटको खरेलटोलस्थित घरबाट लिएर गएका थिए । त्यसअघि उनीहरूले ओखलढुंगा चिसागढी गाउँपालिका–५ चिसापानीका २६ वर्षीय सूर्यबहादुर राईको अपहरण गरेका थिए । 

अपराध कर्ममा नेपाल प्रहरीका को कहिले पक्राउ परे ?
अपराध कर्ममा संलग्न हुने सुरक्षाकर्मी कर्ण र शिव दुईजना मात्रै छैनन्, बर्दीको आडमा अपराध गर्ने सुरक्षाकर्मी नेपाल प्रहरीमा अन्य पनि धेरै छन् । गत १६ साउनमा हिरासतभित्र रहेकी एक थुनुवा महिलामाथि बलात्कार गर्न सुरक्षामा खटिएका प्रहरी नै सामेल भएका थिए । बाँकेको नेपालगन्जस्थित इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रवीण चौलागाईं थुनुवा महिलामाथि बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका थिए । पीडित महिलाको जाहेरीपछि चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा नै दर्ता भएको छ । बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलामाथि उनले रातको २ बजे बलात्कार प्रयास गरेका थिए । 

गत ८ जेठमा लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट सुन खरिद गर्न ल्याएको ३५ लाख रुपैयाँ लुटियो । घटनामा संलग्न भएको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ का २५ वर्षीय पेम्बा तामाङ र दाङ बंगलाचुली–३ का ३४ वर्षीय शालिकराम नेपाली पक्राउ परे । पक्राउ परेकामध्ये शालिकराम नेपाल प्रहरीका हवल्दार हुन् । उनी मालिगाउँस्थित प्रहरी वृत्तमा कार्यरत थिए । प्रहरीका अनुसार सस्तोमा सुन बेच्ने प्रलोभनमा उनीहरूले ग्राहकलाई सम्पर्कमा ल्याएका थिए । सोही क्रममा उनीहरूले ग्राहकलाई लैनचौरस्थित ब्याडमिन्टन कोर्टमा बोलाएका थिए । ग्राहकबाट रकम लिएपछि उनीहरू एकाएक फरार भएका थिए । 

१३ साउन ०७७ बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक प्रहरीको बहादुरीपूर्ण गाथा क्षणभर टिकेन, जब घटनामा प्रहरीकै मिलेमतोकोे तथ्य बाहिरियो । लगत्तै प्रहरी जवानद्वय बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठ पक्राउ परे । अनुसन्धानपछि खुल्यो– उनीहरू घटनामा ‘डबल इन्फर्मर’को भूमिकामा थिए । घटनामा संलग्न अभियुक्त महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत थिए । सुन्धाराबाट बरामद नक्कली सुन प्रकरणमा दुई प्रहरी जवान निलम्बनमा परे । 

७ असार ०७७ मै हुन्डी कारोबारमा संलग्न भनिएका विकास अग्रवालले न्युरोडस्थित समृद्धि ऋण तथा सहकारीबाट १० लाख रुपैयाँ झिके । सहकारीमा कार्यरत रेणु श्रेष्ठ र सौरभ अधिकारीमार्फत रकम झिकेको सूचना प्रहरी जवान विक्रम चन्द र हवल्दार धिरेन विष्टले पाए । उनीहरू न्युरोडमा पुगेर अग्रवालको प्रतीक्षामा बसे । अग्रवाल सडक पार गर्दै थिए । रकम लिएर हवल्दारद्वय फरार भएका थिए । 

९ चैत ०७७ मा मकवानपुर कैलाश गाउँपालिका–५ चौकीटार गोगनेकी ५० वर्षीया धनलक्ष्मी गुरुङको १२.२६ ग्राम हिरा लुटियो । घटना सम्बन्धमा प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो । नभन्दै लुटमा संलग्न चार भाइ थाहा नगरपालिकाबाट पक्राउ परे । अनुसन्धानपछि खुल्यो, पक्राउ पर्ने अरू नभएर महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असइ सरेन्द्र बसेल, प्रहरी जवानद्वय वीरबहादुर बस्नेत र हिमकान्त पुनमगर थिए । 

अपराधमा संलग्न एक हजार आठ सय ६० प्रहरी कर्मचारी कारबाहीमा
बर्दीको आडमा अपराध कर्ममा संलग्न माथिका केही उदाहरण मात्रै हुन् । अपराधका यस्ता फेहरिस्त केलाउँदा नेपाल प्रहरीमा निकै धेरै भेटिन्छ । प्रत्येक महिना नेपाल प्रहरीले बनाउने कारबाहीको सूचीले पनि यी तथ्यलाई पुष्टि गर्छ । 

तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा अपराधमा संलग्न एक हजार आठ सय ६० प्रहरी कर्मचारीलाई प्रहरीले कारबाही गरेको छ । जसमध्ये दुई सय ८० लाई जागिरबाटै निकालिएको छ । निकालिनेमा प्रहरी निरीक्षक मात्रै तीनजना छन् । बाँकी सइ, असइ, हवल्दार र जवान छन् । 

यस अवधिमा सेवाबाट बर्खास्तमा परेका प्रहरी सातजना छन् । नौ सय नौजनाले नसिहत पाएका छन् । बाँकीमध्ये केहीको दर्ता घटुवा गरिएको छ । केहीलाई निलम्बनमा राखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले अनावश्यक महत्वाकांक्षा र लोभका कारण संगठनमा आबद्धमध्ये केही अपराध कर्ममा लाग्ने गरेको स्वीकार गरे ।  तथ्यांकअनुसार कारबाहीमा पर्ने प्रहरी उपरीक्षक पनि छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले नसिहत लिनेदेखि निलम्बनसम्म गरेको थियो । त्यस्तै, यस अवधिमा तीन डिएसपी र १७ प्रहरी निरीक्षक कारबाहीमा परेका छन् । बाँकी भने सइ, असइ, हवल्दार र जवान छन् ।