मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोरङको बेलबारी–९ मा ४० करोड लगानी हुने आरजु राइस मिल
नवीन अर्याल काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:३०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षमै ३६ खाद्यान्न उद्योग दर्ता, सवा २२ अर्ब लगानी प्रतिबद्धता

खाद्यान्नमा परनिर्भर हुँदै गइरहेका वेला स्वदेशमै २२ अर्ब २५ करोड लगानीका खाद्यान्न प्रशोधन उद्योग सञ्चालनमा आउँदै

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:३०:००

गत आर्थिक वर्ष ०७८/७९ मा विभिन्न प्रकारका खाद्य वस्तु तथा पेय पदार्थ उत्पादन गर्न ३६ खाद्यान्न उद्योग दर्ता भएका छन् । खाद्यान्नमा विदेशी मुलुकसँग परनिर्भर हुँदै गइरहेका वेलामा स्वदेशमै २२ अर्ब २५ करोड लगानीका खाद्यान्न प्रशोधन गर्ने उद्योग सञ्चालनमा आउन लागेका हुन् । गत वर्ष १० वटा चामल उद्योगमा सवा पाँच अर्ब लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । त्यस्तै, विभिन्न प्रकारका दाल, खाने तेल, जुस, इनर्जी ड्रिंक्स, चाउचाउ, बिस्कुट, भुजिया, दालमोठ, स्न्याक्सलगायत खाद्यान्न उत्पादन गर्ने २६ उद्योगमा सवा १७ अर्ब लगानी हुनेछ । 

प्रतिबद्धता आएकामध्ये सबैभन्दा बढी दुई अर्ब ५६ करोड लगानी गर्ने गरी जिराभवानी–४, पर्सामा अन्नपूर्ण एग्रो एन्ड रिफाइनरी उद्योग सञ्चालनमा आउने भएको छ । यस्तै, व्यावसायिक घराना लक्ष्मी ग्रुपले सिद्धिलक्ष्मी फुड्स प्रालिका नाममा दुईवटा खाद्यान्न प्रशोधन उद्योग दर्ता गरेको छ । नवलपरासीको रामग्राम नगरपालिकामा सञ्चालन गरिने दुई उद्योगमा दुई अर्ब ८६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ । लक्ष्मी ग्रुपले एउटा उद्योगबाट वार्षिक ३३ हजार आठ सय ४० मेट्रिकटन चामल उत्पादन गर्नेछ भने अर्को उद्योगबाट पाम, सोयाबिन, रिफाइन्ड सनफ्लावर, मस्टर्ड, एसिडलगायत विभिन्न प्रकारका खाने तेल उत्पादन गर्ने जनाएको छ ।

आरएमसी ग्रुपले बाराको जितपुर उपमहानगर–८ मा ३० करोड लगानीमा आरएमसी फुड्स उद्योग खोल्ने भएको छ । यस उद्योगबाट वार्षिक ३० हजार मेट्रिकटन चामल उत्पादन गर्ने उद्योग विभागमा प्रतिबद्धता गरिएको । यो उद्योग सञ्चालनमा आउँदा ८० जनाले रोजगारी पाउनेछन् । देशलाई चामलमा आत्मनिर्भर बनाउने अभियानस्वरूप चामल उद्योगमा लगानी गर्न लागेको आरएमसी ग्रुपका अध्यक्ष राजेश अग्रवालले बताए । यस्तै, एक अर्ब १७ करोड ५२ लाख रुपैयाँ लगानीमा बिर्तामोड नगरपालिका–२, झापामा सिद्धिविनायक आयल एन्ड एग्रो इन्डस्ट्रिज उद्योग खुल्ने भएको छ । यस उद्योगबाट ठूलो भोल्युममा विभिन्न प्रकारका खाने तेल उत्पादन हुने बताइएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पुख्र्यौली थलो मोरङको बेलबारी–९ मा अत्याधुनिक चामल उद्योग सञ्चालन गर्दै छन् । ४० करोड लगानी हुने आरजु राइस मिलमा अहिले धमाधम पूर्वाधार जडान कार्य जारी छ । आगामी हिउँददेखि सञ्चालनमा उद्योगले किसानसँग प्रतिकिलो ३० रुपैयाँका दरले धान खरिद गर्न पनि सुरु गरिसकेको छ । ‘हामीले मोरङको डाँगीहाटमा नमुना प्रोजेक्ट सञ्चालन गर्दै छौँ,’ बस्नेतले भने, ‘सप्तरी र सिराहासम्म स्थानीय र किसानलाई साझेदार बनाएर १० वटा चामल उद्योग खोल्ने योजना छ ।’ यो उद्योगले चैते र अगनी धान खरिद गरेर प्रशोधन गर्नेछ ।

यस्तै, धादिङको धुनिबेँसीमा दुई अर्ब रुपैयाँ लगानीमा सरस वेभरेज उद्योग खुल्ने भएको छ । यो उद्योगबाट वार्षिक १० हजार किलोलिटर जुस, २० हजार किलोलिटर कार्बोनेटेड सफ्ट ड्रिंक्स, ३० हजार किलोलिटर इनर्जी ड्रिंक्स उत्पादन गर्ने प्रतिबद्धता छ । उद्योग सञ्चालनमा आउँदा एक सय ८० जनाले रोजगारी पाउनेछन् ।  विभिन्न भेराइटीका खाने तेल उत्पादन गर्ने गरी जितपुरसिमरा–७, बारामा शिवम् भेज आयल उद्योग खुल्ने भएको छ । यो उद्योगमा ७५ करोड लगानी गर्ने प्रतिबद्धता छ । यस्तै, खाने तेल प्रशोधन गर्ने उद्देश्यसहित ५० करोड लगानीमा शिवशक्ति आयल एन्ड फ्याट्स उद्योग खुल्ने उद्योग विभागले जनाएको छ ।

प्रतिबद्धता आएकामध्ये सबैभन्दा बढी दुई अर्ब ५६ करोड लगानी गर्ने गरी जिराभवानी–४, पर्सामा अन्नपूर्ण एग्रो एन्ड रिफाइनरी उद्योग सञ्चालनमा आउने भएको छ

रामग्राम–१५, नवलपरासीमा ७५ करोड रुपैयाँ लगानी गरेर खाने तेल उत्पादन गर्ने गरी सिद्धिविनायक आयल्स उद्योग दर्ता भएको छ । बाराको जितपुर–सिमरामै ७३ करोड लगानी गरेर सौरभ फुड प्रोडक्ट्स उद्योग खुल्नेछ, जहाँ विभिन्न प्रकारको खाने तेल उत्पादन हुनेछ । सुनसरीको इटहरीमा ४३ करोड ६५ लाख लगानी गरेर खाने तेल उत्पादन गर्न रोयल एडिबल आयल उद्योग दर्ता भएको छ । रुपन्देहीमा खुल्ने अर्पित एग्रो इन्डस्ट्रिजले दाल उत्पादन गर्ने विभागले जनाएको छ ।

यस्तै, १६ करोड ६० लाखमा ग्लोबल प्रोटिन एन्ड आयल उद्योग, १७ करोड लगानीमा बुढीगंगा गापा–३, मोरङबाट जुस, इनर्जी ड्रिंक्स, कार्बोनेटेड ड्रिंक्स उत्पादन गर्ने गरी सूर्य मारुती बेभरेजेज उद्योग दर्ता भएको छ । १६ करोड २५ लाखमा रत्ननगर चितवनमा खोल्ने भनिएको सौभाग्य फुड एन्ड कन्फेक्सनरी उद्योगबाट दालमोठ, भुजिया, नमकिन, पफ कर्न स्टिक, पोटाटो चिप्स उत्पादन हुनेछ । रुपन्देहीबाट दाल उत्पादन गर्ने गरी ३२ करोड लगानीको क्लासिक फुड इन्डस्ट्रिज दर्ता भएको छ । १५ करोड लगानीको पर्सामा नमस्ते फ्लोर मिल, ७३ करोड लगानीको रुपन्देहीमा पोटाटो चिप्स, फ्रेन्च फ्राई उत्पादन गर्ने गरी फस्ट च्वाइस फुड्स उद्योग खुल्ने भएको छ ।

पर्साको वीरगन्जमा चामल उद्योग स्थापना गर्ने गरी उद्योग विभागमा त्रिवेणी राइस इन्डस्ट्रिज प्रालि दर्ता भएको छ । मोरङको बुढीगंगामा ३६ करोड ३० लाख रुपैयाँ लगानीमा स्वस्तिक राइस एन्ड दाल मिल खुल्ने भएको छ । पर्साको वीरगन्ज–२१ मा २४ करोड लगानीमा मोर नेचुरल फुड्स, पर्साकै वीरगन्ज–२२ मा ६२ करोड लगानीमा महावीर एग्रो प्रडक्ट, रुपन्देहीको ओमसतियामा ५५ करोड ६० लाख लगानीमा सरोबर एग्रो इन्डस्ट्रिज सञ्चालनमा आउने भएको छ । यस्तै, कपिलवस्तुको बाणगंगामा ७६ करोड रुपैयाँ लगानीमा महालक्ष्मी मल्टी एग्री इन्डस्ट्रिज सञ्चालन गर्न उद्योग विभागमा मिल दर्ता गरिएको छ ।