मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १९ बिहीबार ०८:४६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धराशायी बन्दै हेटौँडा सिमेन्ट उद्योग चार वर्षमा साढे ६५ करोड घाटा

Read Time : > 1 मिनेट
२०७९ श्रावण १९ बिहीबार ०८:४६:००

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग धराशायी बन्दै गएको छ । हेटौँडा सिमेन्टको उत्पादन क्षमता र बिक्रीसमेत घट्दा निरन्तर घाटा व्यहोर्दै धराशायी बन्दै गएको हो । उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ रुपैयाँ नोक्सान व्यहोरेको तथ्यांक छ । आव २०७४/०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको हेटौँडा सिमेन्ट त्यसपछि निरन्तर नोक्सानमा छ ।

२०७५/०७६ मा उद्योगले एक करोड पाँच लाख नोक्सान व्यहोरेको थियो । त्यसैगरी, आव २०७६/०७७ मा २३ करोड ८२ लाख, आव २०७७/०७८ मा १७ करोड चार लाख घाटा व्यहोरेको छ । गत आर्थिक वर्षमा उद्योगले एक अर्ब २२ करोड आम्दानी गरेर एक अर्ब ३९ करोड खर्च गरेको छ । 

यसरी गत वर्ष उद्योगको नोक्सान २३ करोड ५५ लाख रहेको तथ्यांक छ । दैनिक सात सय ५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता छ । तर, पछिल्लो दशकदेखि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनसकेको छैन । जसका कारण उद्योग निरन्तर घाटामा गइरहेको हो । १३ असोज २०३३ मा हेटौँडा सिमेन्ट एसियाली विकास बैंक र नेपाल सरकारको लगानीमा स्थापना गरिएको हो ।

 समस्यैसमस्यामा उद्योग
उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगको वर्तमान स्थितिमा समस्यैसमस्या रहेको बताए । कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका समस्या उद्योगमा रहेको बताए । ‘उद्योगको सांगठनिक तालिकाअनुरूपको स्वीकृत स्थायी दरबन्दी ६ सय ५५ जना रहेको र हाल उद्योगमा दुई सय २४ जना मात्रै कार्यरत छन् । चार सय ३१ स्थायी दरबन्दी खाली भएकाले उद्योगको दैनिक कार्य–सञ्चालनमा जनशक्ति समस्या छ,’ उनले भने । जनशक्ति अभावले कर्मचारीलाई ओभरटाइममा लगाउनुपरेको र ओभरटाइमको रकम भुक्तानी नहुँदा कर्मचारीको कार्यगत मनोबलमा ह्रास देखिएको उनले गुनासो सुनाए ।

यसैगरी, उद्योगको जडित उपकरण, मेसिनरी औजार पुरानो प्रविधि भएकाले निरन्तर उत्पादन हुन नसकेको, मेसिनरी संयन्त्रको मर्मत–सम्भारमा बढी श्रम समय र जनशक्ति खर्चिनुपरेको, स्थानीय औद्योगिक बजारको अभावका कारण मेसिन उपकरणको मर्मत, प्रतिस्थापनमा बढी समय लाग्ने, उत्पादन अवरुद्ध भएकाले उत्पादन लागत बढी भएकाले बजारमूल्य समायोजन गर्न नसक्नुजस्ता समस्या देखिएका छन् ।

उत्पादन र बिक्रीमा पनि गिरावट
आव २०७४/०७५ मा एक लाख नौ हजार मेट्रिकटन उत्पादन गरेको सिमेन्ट उद्योगले एक लाख ६ हजार मेट्रिकटन बिक्री गरेको थियो । उत्पादनको तुलनामा सो वर्ष तीन हजार चार सय मेट्रिकटन बिक्री कम देखिन्छ ।

 यसैगरी, आव २०७५/०७६ मा एक लाख नौ हजार मेट्रिकटन उत्पादन गरेर एक लाख चार टन बिक्री गरिएको छ । २०७६/७७ मा ८१ हजार नौ सय मेट्रिकटन उत्पादन र ७२ हजार सात सय बिक्री गरेको तथ्यांक छ । २०७७/०७८ मा ८९ हजार दुई सय मेट्रिकटन उत्पादन र ९२ हजार ६ सय मेट्रिकटन बिक्री रहेको छ । गत आव २०७८/०७९ मा ८५ हजार दुई सय मेट्रिकटन उत्पादन र ८० हजार ६ सय मेट्रिकटन उद्योगले बिक्री रहेको छ ।