
मधेस प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने २३ वटा उद्योगलाई पुरस्कृत गरेको छ । प्रदेशको आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारको कार्यबारे बाराको सिमरामा आयोजना भएको औद्योगिक सम्मेलनमा २३ वटा उद्योगलाई पुरस्कृत गरिएको हो।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार साँझ शुभारम्भ गरिएको मधेस प्रदेश औद्योगिक सम्मेलनमा प्रदेशमा रोजगार उपलब्ध गराउँदै आर्थिक वृद्धिमा योगदान गरेको भन्दै २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको हो। रोजगारी, सर्वोत्कृष्ट कर, कृषि र प्रविधिको क्षेत्रमा योगदान पुर्याएका उद्योगहरूलाई पुरस्कृत गर्दै मुख्यमन्त्री राउतले आर्थिक समृद्धि र बेरोजगारी समस्या समाधानमा उद्योग क्षेत्रको योगदान प्रशंसनीय रहेको बताए।
त्रिवेणी स्पिनिङ, जय स्पिनिङ, एनपी ड्रग्स, गणपति वनस्पति, अन्नपूर्ण भेजिटेबल, नारायणी भेजिटेबल, सूर्या नेपाल, डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट, निम्बस ग्रुप, इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव पेज, हुलास स्टिल, शिवशक्ति म्यानुफ्याक्चरिङ, आरसी ब्याट्री, महालक्ष्मी सोलमेन्ट एन्ड रिफाइनरी, वर्ल्डलिंक, इन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी, सालिमार ग्रुप र जगदम्बा सिमेन्ट पुरस्कृत भएका हुन्।
सीप परियोजनाको सहकार्यमा जारी सम्मेलन बुधबारसम्म चल्नेछ। आर्थिक वृद्धिका लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरूबारे समूहगत तथा सामूहिक छलफल गरिने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयको सञ्चार सचिवालयले जनाएको छ।