निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
कमल थापा
२०७९ श्रावण १७ मंगलबार ०७:०७:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सनातन हिन्दूराष्ट्र नै किन ?

राष्ट्रिय एकताको आधारलाई बलियो बनाउन पनि संविधानमै सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम हुनुपर्छ

Read Time : > 6 मिनेट
कमल थापा
२०७९ श्रावण १७ मंगलबार ०७:०७:००

दोस्रो जनआन्दोलन ०६२/६३ को राजनीतिक परिवर्तनले पहिलो प्रहार नेपालको हिन्दूराष्ट्रको पहिचानमाथि गर्‍यो । माओवादीको दशवर्षे सशस्त्र हिसांत्मक द्वन्द्वकालमा सनातन धर्म, संस्कृति र परम्पराविरुद्ध गतिविधि भए पनि हिन्दूराष्ट्रको पहिचान समाप्त पार्ने विषय सशक्त रूपमा उठेको थिएन । ०६२/६३ को उन्नाइस दिने जनआन्दोलनका दौरानसमेत हिन्दूराष्ट्रविरुद्ध कहीँ कतै आवाज उठेको थिएन ।

तर, सात राजनीतिक दल र माओवादीको संयुक्त आन्दोलनपश्चात् राजासँगको सम्झौताअनुरूप पुनस्र्थापित प्रतिनिधिसभाले ४ जेठ ०६३ मा जारी गरेको विवादास्पद घोषणामार्फत नेपाल अधिराज्यको संविधानमा भएको व्यवस्थालाई उल्ट्याउँदै धर्मनिरपेक्षता लाद्ने काम गरियो । यो कार्य जनताको अभिमतविपरीत थियो । संविधानको भावना र प्रक्रियाको ठाडो उल्लंघन थियो ।

आफ्नो निहित राजनीतिक अभीष्ट र स्वार्थ परिपूर्ति गर्न चाहने नेपालका उग्रवामपन्थी शक्ति तथा नेपालमा धार्मिक सांस्कृतिक प्रभाव विस्तार गर्न चाहने केही पश्चिमा राष्ट्रहरूको संयुक्त षड्यन्त्रको परिणामस्वरूप हिन्दूराष्ट्र समाप्त पारी ‘धर्मनिरपेक्षता’ कायम गरिएको हो । यसमा कांग्रेस लाचार साक्षी र सहकर्मी बन्न पुग्यो ।त्यसबखत आन्दोलनको रापताप र अन्योलपूर्ण घडीमा यस कार्यको ठूलो विरोध र प्रतिवाद हुन सकेन । केही सामाजिक अभियन्ता र धार्मिक व्यक्तित्वले झिनो स्वरमा यस कार्यको भत्र्सना गरेका भए पनि त्यसबखत धर्मनिरपेक्षताको विरोध तथा हिन्दूराष्ट्रको पक्षमा संगठित रूपमा आवाज उठाउने र सडकमा संघर्ष गर्ने पहिलो र एक मात्र राजनीतिक दल राप्रपा नेपाल मात्र थियो ।

हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउन थालेपछि विभिन्न कोण र शक्ति केन्द्रबाट राप्रपा नेपालविरुद्ध आक्रमण हुन थाल्यो । धर्मका आधारमा राजनीति गर्न खोजेको, समाजमा धार्मिक भावना भड्काएर अस्थिरता सिर्जना गर्न खोजेको तथा राजसंस्थाका पक्षमा जनमत तयार गर्न हिन्दूराष्ट्रको आवरण बोकेको जस्ता आरोप लगाइयो । पछिल्लो पन्ध्र वर्षको राजनीतिक अभ्यासपछि भने ती आरोपको वजन र महत्व क्रमशः घट्दै गएको छ । धर्मनिरपेक्षता कायम गर्नुको अन्तर्निहित उद्देश्य तथा त्यसपछाडिका शक्ति को थिए र के नियत थियो भन्नेबारे बिस्तारै सर्वसाधारणले समेत बुझ्न थालेका छन् । हिन्दूराष्ट्रको पहिचान समाप्त पारेर धर्मनिरपेक्षता कायम गर्नुको उद्देश्य धार्मिक स्वतन्त्रता र समानता कायम गर्नु होइन, बरु धर्मनिरपेक्षताको आडमा उग्रवामपन्थी शक्तिको वर्चस्व स्थापित गर्नु र धर्म परिवर्तन गराएर नेपालको पहिचान कमजोर बनाउनु रहेछ भन्ने अब जनतालाई स्पष्ट भएको छ ।

राप्रपा नेपालले हिन्दूराष्ट्रको एजेन्डा बोकेर धर्मका आधारमा राजनीति गर्न खोजेको छ भन्ने आरोप भ्रममूलक त छँदै छ, त्यसमा राप्रपा नेपालको सिद्धान्तबारे ज्ञानको अभावसमेत देखिन्छ । राप्रपा नेपालले हिन्दूराष्ट्रको पक्षमा आवाज उठाएर धर्मका आधारमा देशको शासन व्यवस्था सञ्चालन हुनुपर्छ भन्ने माग गरेको होइन । त्यसैगरी राज्यले हिन्दू धर्मलाई विशेष संरक्षण र सुविधा दिनुपर्छ भन्ने माग पनि गरेको छैन उसले । राप्रपा नेपाल धार्मिक राज्यको पक्षपाती होइन । राप्रपा नेपाल सर्वधर्म समभाव तथा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्रको पक्षमा छ । राप्रपा नेपाल सबै धर्मबीच सद्भाव र सहकार्यको पक्षधर हो ।

हाम्रो संविधानमा हिन्दूराष्ट्रको प्रवधान लेखिनुपूर्व पनि सदियौँदेखि नेपाल सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र रहँदै आएको छ । संविधानमा हिन्दू शब्दको प्रयोग वा हिन्दूराष्ट्र लेख्ने कामको प्रारम्भ २०१५ मा बनेको संविधानदेखि भएको हो । त्यसपछि २०१९ मा बनेको पञ्चायती संविधान र पहिलो जनआन्दोलनपछि स्वयं आन्दोलनकारी शक्तिले बनाएको ०४७ सालको संविधानले समेत त्यही व्यवस्थालाई निरन्तरता दिए । 

हिन्दूराष्ट्रको पहिचान समाप्त पारी धर्मनिरपेक्षता कायम गर्नुको उद्देश्य धार्मिक स्वतन्त्रता र समानता कायम गर्नु होइन, बरु धर्मनिरपेक्षताको आडमा उग्रवामपन्थी शक्तिको वर्चस्व स्थापित गर्नु र धर्म परिवर्तन गराएर नेपालको पहिचान कमजोर बनाउनु रहेछ भन्ने अहिले आएर प्रस्ट भएको छ

नेपाल अधिराज्यको संविधान २०४७ मा भएको तत्सम्बन्धी व्यवस्थालाई असंवैधानिक रूपमा हटाउने काम ४ जेठ ०६३ को घोषणाबाट भएको हो । ०४७ को संविधानलाई विस्थापित गरी बनाइएको नेपालको अन्तरिम संविधान २०६३ मा पहिलोपटक ‘धर्मनिरपेक्षता’लाई संविधानको अंग बनाइयो । पछि सोही व्यवस्थालाई नेपालको संविधान २०७२ मा समेत कायम गरियो । यी सबै कार्य कार्यान्वयन गर्दा प्रत्यक्ष वा परोक्ष रूपले जनताको अभिमत बुझ्ने काम भएको छैन । बरु संविधानसभाबाट संविधान निर्माण हुनुअघि जनताको सुझाव लिने क्रममा करिब नब्बे प्रतिशत जनताले धर्मनिरपेक्षताको खारेजी र हिन्दूराष्ट्र कायम गर्न दिएको सुझावलाई संविधान निर्माताहरूले रद्दीको टोकरीमा फालिदिएका थिए ।

हिन्दूराष्ट्र हटाउने काम धार्मिक सांस्कृतिक क्षेत्रको अगुवाइ वा आग्रहमा भएको पनि होइन । यो कार्य नितान्त राजनीतिक दलहरूबाट भएको हो । राजनीतिक दलहरूले गरेको यो फोहोरलाई सफा गर्ने दायित्व पनि राजनीतिक दलहरूकै हो । राप्रपा नेपालले यही जिम्मेवारी निर्वाह गर्न खोजेको हो । राप्रपा नेपालको यो जिम्मेवारीबोधलाई धर्मको आधारमा राजनीति गरेको आरोप लगाउनु सर्वथा अतिशयोक्तिपूर्ण छ । 

सनातन धर्म केवल संकीर्ण अर्थमा बुझिने धार्मिक कृत्य वा पूजा, आराधना र उपासनाको विषय मात्र होइन । संसारमा हामी नेपाली भनेर चिनिन्छौँ । नेपाली भन्ने हाम्रो पहिचान छ । आखिर यो पहिचानको आधार के हो ? पहिचानविना न व्यक्ति जीवन्त रहन्छ, न समाज वा राष्ट्र नै जीवन्त रहन सक्छ । गोपाल वंशदेखि किराँत, लिच्छवि, मल्ल र शाह वंशको कालमा नेपाली समाजको आफ्नो साझा र विशिष्ट संस्कृति एवं पहिचान बनेको छ । यो पहिचान एक दिनमा बनेको होइन । हजारौँ वर्षको हाम्रो धर्म, रीतिथिति, परम्परा र आस्थाका आधारमा संसारमा अन्त कहीँ नभएको हामी नेपालीको एउटा मौलिक र विशिष्ट संस्कृति एवं पहिचान बनेको छ । 

संसारमा हिन्दू धर्मप्रति आस्था राख्नेको पनि ठूलो संख्या छ । यसैगरी बुद्ध धर्ममा आस्था राख्नेहरूको पनि ठूलो संख्या छ । तर, नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ हिन्दू र बुद्ध धर्म मान्नेबीचको लामो सांस्कृतिक सहकार्य वा संयोजनबाट एउटा विशिष्ट नेपाली संस्कृति र पहिचान निर्माण भएको छ । यो पहिचान निर्माणमा किराँत धर्मावलम्बी एवं प्रकृतिपूजकहरूको पनि योगदान छ । यो पहिचान विशिष्ट र मौलिक छ । सनातन धर्मको मूल स्रोतबाट निःसृत कर्म, आस्था र मान्यताको समष्टि हो, नेपाली पहिचानको आधार । यही पहिचानको रक्षार्थ नै हामीले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुनस्र्थापनाको आवाज उठाएका हौँ । 

नेपालमा सयभन्दा बढी जातजातिको बसोवास छ । त्योभन्दा बढीको संख्याका भिन्न–भिन्न भाषाभाषी छन् । हामी कोही हिमालमा बस्छौँ, कोही पहाड, कोही तराई मधेसमा बस्छौँ । जुनसुकै जातिको भए पनि, जुनसुकै भाषा बोल्ने भए पनि, जुनसुकै ठाउँमा बसोवास गर्ने भए पनि हामी सबै नेपालीको साझा भगवान् छन् । हामी को हिन्दू, को बुद्धिस्ट आपसमा अंकमाल गरेर भगवान् पशुपतिनाथको दर्शन गर्छौं, हलेसी महादेवको मन्दिरमा जान्छौँ । हामी हिन्दू र बुद्धिष्टहरू आपसमा हातेमालो गरेर भगवान् बुद्धको पूजा आराधना गर्न लुम्बिनी जान्छौँ । चाहे टोपी लगाउने होस्, चाहे धोती, हामी सबैलाई एकताको सूत्रमा गाँस्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको छ । चाहे मैथिली भाषा बोल्ने होस्, चाहे नेवार वा तामाङ अथवा खस भाषा बोल्ने होस्, हामी सबैलाई एकताको सूत्रमा आबद्ध गर्ने काम यही सनातन धर्म र संस्कृतिले गरेको छ । विविधतामा एकता नेपालीको राष्ट्रिय संस्कार हो । यो एकताको आधारलाई बलियो बनाउन हामीले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्रको पक्षमा आवाज उठाएका हौँ । 

आदिकालदेखि जब नेपाल राज्यको सिर्जना भयो, त्यस वेलादेखि हाम्रो समाज, परिवार र राज्यव्यवस्था सञ्चालनको आधार यही सनातन धर्म, संस्कृति, परम्परा, मूल्य र मान्यता रहिआएको छ । वैदिक सभ्यता हाम्रो अस्तित्वको मूल स्रोत हो । वैदिक दर्शन हाम्रो पहिचानको मूल स्तम्भ हो ।०६२/६३ को राजनीतिक परिवर्तनसँगै जनताको प्रत्यक्ष अभिमतविनै, नेपालको हिन्दूराष्ट्रको पहिचान समाप्त पारियो । जनताले सुन्दै नसुनेको, कहीँ कतै आवाज नउठेको धर्मनिरपेक्षताको मान्यता लाद्ने काम गरियो । धर्मनिरपेक्षताको आडमा अहिले योजनाबद्ध र संगठित रूपमा धर्म परिवर्तन गराउने कार्य भइरहेको छ । लोभलालच, भ्रम र दबाबका आधारमा गत पन्ध्र वर्षमा मात्र दसौँ लाखको धर्मपरिवर्तन गराइएको छ । 

धर्म परिवर्तनको निसानामा सबैभन्दा बढी आदिवासी जनजाति र दलित समुदायका व्यक्ति परेका छन् । केबल हिन्दू मात्र होइन, बुद्धिष्ट र किराँतीको पनि ठूलो संख्यामा धर्म परिवर्तन गराइएको छ । यही गतिमा धर्म परिवर्तन हुँदै जाने हो भने नेपालको राष्ट्रिय पहिचान, राष्ट्रिय एकता र राष्ट्रिय अस्तित्वको आधारका रूपमा रहेको सनातन धर्म अर्थात् हिन्दू र बौद्ध धर्मावलम्बी नै नेपालमा अल्पमतमा पर्न सक्ने खतरा छ । २००७ सालमा नगण्य संख्यामा रहेका इसाई अहिले नै नेपालको तेस्रो ठूलो धार्मिक सम्प्रदाय, किराँतीभन्दा ठुलो संख्यामा पुगिसकेका छन् । हामी कुनै धर्म वा आस्थाका विरोधी होइनौँ, तर धर्म परिवर्तनको यो डढेलोलाई नरोक्ने हो भने सदियौँदेखि कायम रहँदै आएको सामाजिक सद्भाव र एकता खलबलिएर नेपाल धार्मिक द्वन्द्वको दलदलमा फस्न सक्ने खतरा छ ।

नेपालका उग्रवामपन्थी शक्तिले आफ्नो राजनीतिक अभीष्ट र स्वार्थ पूरा गर्न तथा केही पश्चिमा मुलुकले नेपालमा धार्मिक सांस्कृतिक प्रभाव कायम गर्न गरिएको षड्यन्त्र वा प्रयासको परिणामस्वरूप सनातन धर्म संस्कृतिमाथि अहिले आक्रमण भइरहेको हो । यो धार्मिक सांस्कृतिक आक्रमणले हाम्रो पहिचान, एकताको आधार र राष्ट्रिय अस्तित्वको मुहानलाई खल्बलाइदिएको मात्र होइन, धर्म परिवर्तनसँगै आएका विकृति र विसंगतिले राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा समेत नेपाललाई नराम्रोसँग क्षतविक्षत् तुल्याएको छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा हाल तीव्र गतिले बढ्दै गइरहेको विकृति, विसंगति, व्यभिचार, भ्रष्टाचार, अनैतिकता र संकटको मुख्य कारणमध्ये धार्मिक सांस्कृतिक क्षेत्रमा देखिएको विचलन र स्खलन पनि एक हो । धार्मिक सांस्कृतिक अतिक्रमणले नेपालको हिन्दूराष्ट्रको पहिचान कमजोर पारेको मात्र होइन, अन्ततः यसले नेपालको अस्तित्वलाई नै आघात पु¥याउने अवश्यम्भावी छ । 

त्यसर्थ, नेपालको राष्ट्रिय एकता, पहिचान र अस्तित्वको आधारलाई फेरि सशक्त तुल्याउन राप्रपा नेपालले हिन्दूराष्ट्र पुनस्र्थापना गर्ने दृढ संकल्प गरेको हो । संविधानमा ‘हिन्दूराष्ट्र’ लेखाउन मात्र राप्रपा नेपालले हिन्दूराष्ट्र पुनस्र्थापनाको विषय उठाएको होइन । निश्चय पनि संविधानमा हिन्दूराष्ट्र कायम गर्ने हाम्रो संकल्प हो । तर, राप्रपा नेपाल नेपालको सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको आधार परम्परादेखि नेपालमा चलिआएको सनातन एवं वैदिक दर्शन, मूल्य र मान्यता हो तथा भविष्यमा पनि कायम हुनुपर्छ भन्ने विचारलाई आत्मसात् गर्छ । जसरी केही पार्टी माक्र्सवाद, साम्यवाद, समाजवाद, पुँजीवादलाई आफ्नो आदर्श वा वैचारिक दर्शनका रूपमा लिन्छन्, त्यसैगरी राप्रपा नेपालले राष्ट्रियता, लोकतन्त्र, आर्थिक उदारवाद र वैदिक दर्शनको बृहत् चिन्तनमा आधारित ‘संवर्धनवाद’लाई राष्ट्र–निर्माणको वैकल्पिक मार्गचित्र र आफ्नो पार्टीको वैचारिक दर्शनका रूपमा आत्मसात् गरेको छ । 

कतिपयले प्रश्न गर्छन्, राप्रपा नेपालले यो धार्मिक विषलाई किन उठाइरहेको छ । नेपालको हिन्दू राष्ट्रको पहिचान धार्मिक विषय मात्र होइन, यो पूजा–आराधना गर्न पाउने हक र अधिकारको विषय मात्र पनि होइन, यो हाम्रो पहिचान, एकता, संस्कृति र राष्ट्रिय अस्तित्वसँग गाँसिएको विषय हो । नेपाल विश्वका महान् धर्म र संस्कृतिको उद्गमस्थल हो । सनातन धर्म संस्कृति र परम्पराको आलोकमा आयुर्वेद, ब्रह्माण्ड विज्ञान, ज्योतिष शास्त्र, योग जस्ता मान्यता र अभ्यास प्रादुर्भाव भएको हो । सनातन धर्म विश्वको सबैभन्दा प्राचीन, समृद्ध र गौरवशाली मान्यता हो । यस मान्यताको भावभूमि नेपाल हो ।

समयक्रममा परिमार्जन गर्दै यो मान्यताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । यही कर्तव्यको निर्वाहका निम्ति निहित हामीले सर्वधर्म र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्रका पक्षमा आवाज उठाएका हौँ । राजनीतिक स्वार्थ वा चुनावमा अल्पसंख्यकको संगठित भोट पाइन्छ भन्ने लोभमा पहिचान, एकता र राष्ट्रियतासँग गाँसिएको विषयमा मौन रहनु बेइमानी मात्र होइन, राष्ट्रप्रतिको गद्दारी पनि हो ।हामी नेपालमा हिन्दूराष्ट्रको संवैधानिक पुनस्र्थापना मात्र होइन, नेपालको आर्थिक विकास र समृद्धि तथा व्यक्ति, परिवार, समाज र राज्य सञ्चालनको धरातल र आदर्शसमेत ‘संवर्धनवाद’ हुनुपर्छ भन्नेमा विश्वास गर्छौं ।