
मंकीपक्स प्रकोपका कारण अमेरिकाको न्युयोर्क सहरमा शनिबार सार्वजनिक स्वास्थ्य संकटको अवस्था घोषणा गरिएको छ । न्युयोर्कका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनद्वारा संयुक्त रूपमा जारी वक्तव्यमा न्युयोर्क राज्यमा कुल एक हजार तीन सय ८३ जनामा मंकीपक्स संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
‘हाल न्युयोर्क सहर यो प्रकोपको केन्द्र हो र हाम्रो अनुमानअनुसार हाल करिब एक लाख ५० हजार न्युयोर्कवासी मंकीपक्स संक्रमणको जोखिममा पर्न सक्छन्,’ उक्त वक्तव्यमा लेखिएको छ ।
यस घोषणाले स्वास्थ्य विभागलाई सहरी स्वास्थ्य नियमअन्तर्गत आकस्मिक आदेश जारी गर्न र संक्रमण विस्तारलाई सुस्त बनाउन नियम तथा प्रावधानहरूमा संशोधन गर्न अनुमति दिनेछ । न्युयोर्कका गभर्नर क्याथी होचुलले राज्यमा मंकिपक्स संक्रमणले प्रकोपको रूप लिएको घोषणा गरेको एक दिनपछि नयाँ घोषणा भएको बताए ।
बिहीबार न्युयोर्क स्वास्थ्य विभागले मंकीपक्स संक्रमणलाई ‘जनस्वास्थ्यका लागि आउनै लागेको खतरा’ को घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकअनुसार शुक्रबारसम्म अमेरिकाभर पाँच हजार १८९ जनामा मंकीपक्सको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा मंकीपक्स संक्रमणलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य संकटका रूपमा घोषणा गरेको थियो । रासस