१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Sunday, 06 July, 2025
२o७९ श्रावण १५ आइतबार १३:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

टरिगाउँ विमानस्थलको इन्धन डिपो निर्माणस्थलमा तालाबन्दी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १३:२७:oo

दाङको तुलसीपुर– १२ टरिगाउँस्थित विमानस्थलमा निर्माण भइरहेको इन्धन डिपोस्थलमा स्थानीयले तालाबन्दी गरेका छन्। विमानस्थलमा आएको बाउजर लिन काठमाडौंबाट टोली आएपछि त्यसलाई रोक्न स्थानीयले तालाबन्दी गरेका हुन्।

काठमाडौंबाट रामेछाप लैजाने तयारी भएको भन्दै त्यसलाई रोक्न यस क्षेत्रका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवालाले तालाबन्दी गरेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन्। ‘एयरपोर्टमा बाउजर आएपछि यस क्षेत्रका नागरिक खुसी थियौँ,’ उनले भनिन्, ‘तर, इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको वेला बाउजर लैजान खोजेपछि हामीलाई शंका लागेको छ।’

काठमाडौंबाट तीन–चारजनाको टोली आएर उक्त बाउजरलाई आजै काठमाडौं लैजाने तयारी गरेपछि इन्धन डिपोस्थलको दुईवटा गेटमा तालाबन्दी गरिएको तुलसीपुर– १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए। विमानस्थल विस्तारको पहल भइरहेको वेला यसरी बाउजर लैजान खोज्नुले विमानस्थलप्रति षड्यन्त्र भएको हुन सक्ने भन्दै कुनै पनि हालतमा बाउजर लैजान नदिन तालाबन्दी गरिएको उनको भनाइ छ। यसपटक केन्द्रको बजेटले पनि सम्बोधन गरेको भन्दै विमानस्थलको स्तरवृद्धिको काम भइरहेको वेला यसरी बाउजर लैजानु गलत मनसाय भएको वडाध्यक्ष चौधरीले बताए।

विगतमा दाङ ल्याउने भनिएको बाउजर एकैपटक जनकपुर लगिएको इतिहास भएको भन्दै आइसकेको बाउजरलाई लिन खोज्नुले शंका उत्पन्न भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए। ‘बाउजर लैजाँदै छन् भन्ने हिजो दिउँसो ३ बजेतिर मलाई खबर आएको थियो,’ उनले भने, ‘विगत दुई वर्षअघि तुलसीपुर ल्याउने भनिएको बाउजर जनकपुर लगिएको इतिहास पनि छ, अहिले पनि आइसकेको बाउजर लिनुले शंका उत्पन्न भएको छ।’

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठका अनुसार केन्द्रबाट लैजाने भनी निर्णय भएको र सोहीअनुसार काठमाडौं पठाउन  लागिएको हो। यसको सट्टामा अर्को बाउजर ल्याउन लागिएको हो। ‘यो पठाएर अर्को ल्याउने कुरा हो, स्थानीयले तालाबन्दी गरिदिनुभयो, उहाँहरूलाई कन्भिन्स गरेर काठमाडौं पठाउने तयारी गर्दै छु,’ उनले भने, ‘उताको बिग्रिएकाले त्यो मर्मत भएपछि दाङ ल्याइनेछ।’ तुलसीपुरको इन्धन डिपो सञ्चालनमा नआएकाले पनि यहाँ राखिरहनुभन्दा उता लगेर काम चलाउँदै गर्ने र यहाँ सुचारु भएमा तत्काल ल्याउने गरी निर्णय भएको उनले बताए ।

बाउजरले डिपोबाट जहाजसम्म इन्धन ओसार्ने काम गर्छ। त्यसका लागि जेठ १२ गते तुलसीपुरमा बाउजर ल्याएपछि यस क्षेत्रका नागरिक खुसी भएका थिए। डिपो निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले दाङ–काठमाडौं हवाई भाडा कम हुने अपेक्षा लिइएको थियो। तर, बाउजर लिने कुराले यस क्षेत्रका नागरिक निराश भएका छन्। ११ हजार लिटर क्षमताको उक्त बाउजर रामेछापको मन्थली विमानस्थलमा लैजाने तयारी भइरहेको छ। ०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा अहिले हप्तामा पाँच दिन उडान हुने गरेको छ। शनिबार र शुक्रबारबाहेक सबै दिन उडान भर्ने गरेको उक्त विमानस्थलमा ठूला जहाज बस्न नसक्दा यात्रुहरू महँगो भाडा तिर्न बाध्य छन्।