काठमाडौंमा गुरुयोजना बन्यो, लेन बनेन
ललितपुरमा बन्यो हालसम्म ३२ किलोमिटर साइकल लेन
ललितपुर महानगरपालिकाले साइकल लेनमा साइकल मात्र गुड्ने बनाउने ब्यारिकेडेट पोल (साइकलका लागि मात्रै छुट्याइएको) राख्न सुरु गरेको छ । यस्तो पोल राखेको ठाउँमा साइकलयात्रीले आफ्नो लेनमा सहज र सुरक्षित तरिकाले यात्रा गर्न पाउनेछन् । हालसम्म महानगरभित्र ३२ किलोमिटर साइकल लेन बनाइएको छ ।
महानगरले लगनखेलको बटुक भैरव मन्दिरदेखि सातदोबाटोसम्म ६ सय मिटर सडकमा पोल राखेको छ । ट्रायलका लागि राखिएको यस्तो पोलको विस्तार गर्दै लगिने महानगरले जनाएको छ । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार तीन फिटजतिको रबरको पोलले साइकलयात्रीको यात्रा सहज र सुरक्षित बनाउनेछ ।
‘ट्रायलका रूपमा हामीले बटुक भैरव मन्दिरदेखि सातदोबाटोसम्मको सडकमा पोल राखेका छौँ । पोल विस्तारका लागि सडक विभागसँग पनि छलफल गरिरहेका छौँ । विभागले सहयोग गर्ने भनेको छ,’ उनले भने, ‘साइकल लेनमा राखिएका यस्ता पोलका कारण साइकलयात्रीलाई पक्कै सहज हुनेछ ।’
महानगरले तीन चरणमा साइकल लेन बनाएको छ । पहिलो चरणमा महानगरले १४ मंसिर ०७६ मा साढे १० किलोमिटर साइकल लेनको शुभारम्भ गरेको थियो । त्यतिवेला महानगरपालिकाले कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार हुँदै पाटन दरबार स्क्वायरसम्म पुग्ने साइकल लेन सञ्चालनमा ल्याएको थियो । महानगरले नेपाल साइकल एसोसिएसनसँग सहकार्य गरेर साइकल लेन सञ्चालनमा ल्याएको हो ।
दोस्रो चरणमा २२ किलोमिटर साइकल लेन निर्माण भएको थियो । महानगरभित्रका एकान्तकुना हुँदै पुल्चोक आउने, पुल्चोकदेखि लगनखेल, टंगाल हुँदै मंगलबजार जाने, पुल्चोकबाट गाःबहाल हुँदै मंगलबजारसम्म पुग्ने, कुपन्डोलबाट पुल्चोक हुँदै सीधा दरबार स्क्वायरसम्म साइकल लेन बनेको हो । ०७७ पुसको पहिलो साताबाट ती साइकल लेन प्रयोगमा आएका थिए । महानगरले जावलाखेल, पाटनढोका, मंगलबजार, लगनखेल र महानगरको प्रांगणलगायत १० ठाउँमा साइकल स्ट्यान्ड राखिसकेको छ ।
महानगरले साइकल लेनका लागि पहिलो चरणमा आर्थिक वर्ष ०७५/७६ को बजेटमा ५० लाख र आव ०७६/७७ मा पनि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष ०७९/८० का लागि पनि ५० लाख विनियोजन गरेको छ ।
साइकल ऐन तयार
हालसम्म संघीय र प्रदेश दुवै सरकारले साइकलसम्बन्धी कुनै पनि नीति तथा कानुन निर्माण गर्न सकेका छैनन् । तर, महानगरले भने साइकल ऐन लगभग तयार गरिसकेको छ । प्रवक्ता महर्जनको अनुसार ऐनको मस्यौदा भइसकेको छ र अन्तिम रूप दिँदै पास गर्न बाँकी छ ।
‘राम्रो व्यवस्थापन नभएका कारण साइकल चढ्नेको भवितव्यको सम्भावना छ । त्यसलाई सम्बोधन गर्न साइकल ऐन ल्याउन लागेका छौँ । मस्यौदा तयार भइसकेको छ । अब कार्यपालिका बैठकबाट पास मात्र हुन बाँकी छ,’ उनले भने, ‘संघीय सरकार र प्रदेश सरकारले यस्ता खालका ऐन बनाएका छैनन्, हामीले ऐन बनाउन समाउने हाँगोसमेत भेट्टाएनौँ । त्यसैले संघ र प्रदेशले बनाएको अवस्थामा जहाँ बाझिन्छ, त्यहाँ मिलाउँला भनेर अगाडि बढेका हौँ ।’
काठमाडौंको तयारी शून्य
ललितपुर महानगरपालिकाले साइकल लेन बनाउनेदेखि डेडिकेडेट पोलसमेत राखिसक्दा काठमाडौं महानगर अझै अन्योलमै छ । महानगरले साइकल लेन बनाउन भन्दै ०७६ मै गुरुयोजना तयार गरे पनि हालसम्म कुनै काम अगाडि बढ्न सकेको छैन ।
महानगरअन्तर्गत सहरी योजना आयोगले बनाएको गुरुयोजनाअनुसार माइतीघरदेखि बानेश्वर हुँदै तिनकुने–कोटेश्वरसम्म साइकल लेन बनाउने भनिए पनि हालसम्म कुनै पनि कामले गति लिन सकेको छैन । आयोगका सचिवालय प्रमुख कुमारी राईले साइकल लेन बनाउनेबारे आफूलाई जानकारी नभएको बताइन् । ‘पहिला काम गर्नुभएको कोही पनि आयोगमा हुनुहुन्न । मलाई यसबारेमा जानकारी छैन,’ उनले भनिन् । मेयर बालेन्द्र साहले भने साइकल लेन बनाउन नहुने बताउँदै आएका छन् ।
साइकल प्रयोग गरे प्रदूषण कम हुन्छ
संसारका प्रदूषित सहरमा काठमाडौं पनि पर्छ । विश्व वायु गुणस्तर सूचक (एक्युआई) २०२० अनुसार काठमाडौं विश्वमै १९औँ प्रदूषित सहर हो । प्रदूषणको स्रोतमध्ये पहिलो नम्बरमै पर्छ– सवारीसाधनको चाप र त्यसबाट निस्किने हानिकारक धुवाँ । प्रदूषण कम गराउनकै लागि विकसित र ठूला सहरले इन्धनको उपयोग नहुने विद्युतीय सवारीसाधन र साइकललाई प्राथमिकतामा राख्न थालेका छन् । साइकलको प्रयोगका कारण वायु प्रदूषण कम गर्नसमेत उत्तिकै सहयोग हुने साइकल अभियन्ता बताउँछन् । ‘गाडीमा हाल्ने तेलकै लागि देशको अर्बौँ रुपैयाँ बिदेसिने गरेको छ । तेल खरिदकै लागि महँगो रकम बिदेसिने क्रम रोक्न पनि साइकल चढ्न आवश्यक छ । हरेक दिन ६–७ किलोमिटर साइकलयात्रा गर्दा स्वास्थ्यलाई पनि राम्रो हुन्छ,’ अभियन्ता सैल श्रेष्ठले भने ।