एक हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुन्छ : सम्मानित नेता खनाल

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण
एक हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुन्छ : सम्मानित नेता खनाल

फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अबको एक हप्ताभित्र संघीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्। शनिबार नेपाल आदिवासी जनजाति महासंघ समाजवादी काभ्रेको जिल्ला भेलामा खनालले यस्तो कुरा बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार चुनावको मिति घोषणाको तयारीमा लागेको बताए। ‘अब हप्ता–दश दिनभित्र संघीय निर्वाचनको मिति घोषणा हुन्छ,’ खनालले भने, ‘मिति घोषणा हुनु भनेको आउने मंसिर पहिलो हप्ताभित्र संघीय निर्वाचन हुने कुराहरू छन्।’

निर्वाचनको मिति घोषणा भएपछि सिंगो देश निर्वाचनमा केन्द्रित हुने भन्दै उनले त्यसैअनुसार तयारीका साथ लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए। निर्वाचन आफ्नो पक्षमा ल्याउन वडा तहसम्मै कमिटी बनाएर लाग्न र बोरामा पैसा बोकेर मत किन्न हिँड्नेहरूविरुद्ध लड्न उनले कार्यकर्ताहरूलाई अह्वान गरे।

‘निर्वाचन घोषणा भएसँगै केही मान्छेहरू बोरामा पैसा बोकेर मत किन्न हिँड्नेछन्,’ खनालले भने, ‘त्यस्ता मान्छेविरुद्ध लड्नुपर्ने अवस्था छ। तयारीका साथ लाग्नुपर्छ।’

सुझावित समाचार