१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०६:०३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दबाबपछि एमाले रणनीति : सातै प्रदेशमा प्रशिक्षण, बहुमतको लक्ष्यसहित आमचुनावको तयारी 

Read Time : > 1 मिनेट
२०७९ श्रावण ११ बुधबार ०६:०३:००

प्रदेश प्रशिक्षणका चार सन्देश 

  • स्थानीय चुनावको समीक्षात्मक सन्देश 
  • चुनावी असमझदारीको अन्त्य 
  • बहुमतको लक्ष्यसहित आमचुनावको तयारी 
  • जनप्रतिनिधिलाई प्रशिक्षण

अहिलेकै गठबन्धनबीच आगामी निर्वाचनमा समेत तालमेल गर्ने पाँच दलको निर्णयपछि दबाबमा आएको प्रमुख विपक्षी दल एमालेले एकल बहुमतको लक्ष्यसहित सातवटै प्रदेशमा कार्यकर्ता प्रशिक्षण चलाइरहेको छ । प्रशिक्षणबाट स्थानीय चुनावको प्रतिरक्षात्मक मनोविज्ञानबाट पार्टीपंक्तिलाई आमचुनावका लागि आक्रामक तयारीमा उतार्ने एमालेको योजना छ । 

प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णालीको प्रशिक्षणपछि एमालेले मंगलबार सुदूरपश्चिम र बुधबार लुम्बिनी प्रदेशमा प्रशिक्षण आयोजना गरेको छ । पार्टी केन्द्रीय स्कुल विभागको संयोजन र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूको नेतृत्वमा सञ्चालित सबै प्रदेशस्तरीय प्रशिक्षणमा अध्यक्ष केपी ओली आफैँ सहभागी हुँदै आएका छन् । 

उपमहासचिव तथा स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले मूलतः चार उद्देश्यसहित अहिले पार्टीले प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी दिए । ‘स्थानीय चुनावमा जनमतमा पहिलो भयौँ, तर पहिलेभन्दा सिट संख्यामा तल झर्‍यौँ, यसलाई तलसम्म बुझ्ने सवालमा एकरूपता ल्याउने गरी समीक्षात्मक सन्देश प्रवाह गर्ने पहिलो उद्देश्य छ । दोस्रो, स्थानीय चुनावमा तल देखिएका असमझदारी अन्त्य गर्ने उद्देश्य छ,’ उपमहासचिव ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘तेस्रो, सिंगो पार्टीपंक्तिलाई एकाग्र भएर चुनावमा लाग्न प्रेरित गर्ने र चौथो, निर्वाचित जनप्रतिनिधिलाई पार्टीको कार्यदिशाअनुसार काम गर्ने निर्देशित गर्ने उद्देश्य छ ।’ 

प्रशिक्षणको सवालमा जारी अन्तरपार्टी निर्देशनमा एमालेले प्रतिरक्षात्मक मनोविज्ञानबाट बाहिर ल्याएर आगामी चुनौती सामना गर्नका लागि सक्षम तुल्याउने भनिएको छ । निर्वाचनको परिणामपछि अनावश्यक रूपमा सिर्जित प्रतिरक्षात्मक मनोविज्ञानबाट कार्यकर्तापंक्तिलाई बाहिर ल्याई उनीहरूलाई आगामी चुनौतीका लागि सहज सामना गर्न सक्ने तुल्याउन तत्काल देशव्यापी प्रशिक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ । 

स्थानीय चुनावमा प्राप्त ३४ प्रतिशत लोकप्रिय मतलाई १६ प्रतिशत वृद्धि गरेर आमचुनावमा ५० प्रतिशतसम्म पुर्‍याउने एमालेको महत्वाकांक्षी योजना छ । नयाँ पुस्तामा विशेष ध्यान, जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ र कमजोर भएको ठाउँमा विस्तारमा जोड दिने नीतिमार्फत लक्ष्य हासिल गर्न सकिने एमालेको विश्वास छ । 

प्रदेशस्तरीय प्रशिक्षणमा सम्बन्धित प्रदेशका केन्द्रीयस्तरका नेता, जनसंगठनका पदाधिकारीहरू, प्रदेशका पदाधिकारी र सदस्यहरू, प्रदेश सम्पर्क समन्वयका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, जिल्ला सम्पर्क मञ्चका अध्यक्षहरू, पालिका कमिटीका अध्यक्ष, सांसदहरू, जनप्रतिनिधि सहभागी हुँदै आएका छन् ।

जसअनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई संयोजकको जिम्मेवारी तोकिएको छ । उपाध्यक्षहरूलाई आवश्यकताअनुसार जिल्लाहरूको प्रशिक्षणको तयारी गर्न र सहभागी हुनसमेत निर्देशित गरिएको छ ।