सोमबार नेप्से परिसूचक ५४ अंकले बढेर दुई हजार एक सय ३२.९६ बिन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ९.०५ अंकले बढेर चार सय ७.३८ बिन्दुमा पुगेको छ।
मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा हरियाली छाएको छ। अघिल्लो दिन आइतबार नेप्से सूचक ६१ अंकले बढेको थियो। मौद्रिक नीतिमा लगानीकर्ताहरूले उठाउँदै आएको मागलाई आंशिक भए पनि सम्बोधन गरिएको छ। अर्कोतर्फ नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनीहरूले साधारण सभा बोलाउने र बोनस सेयर घोषणा गर्ने वेला भएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको बुझाइ छ।
सोमबार नेप्सेले दुई सय बिन्दुको परीक्षण गरेको छ। दुई हजार अंकको मनौवैज्ञानिक बिन्दु बनाइरहेको नेप्सले सो दिन २१ सयको मनोवैज्ञानिक परीक्षण गरेको हो।
नेप्से सूचक उच्च अंकले बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। लगानीकर्ताहरूले नाफा बुक राख्दा कारोबार रकम बढेको छ। छोटो समयमा पनि राम्रो आम्दानी देखेपछि लगानीकर्ताहरू यतिवेला नाफा बुक गर्न तम्सिएका हुन्। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १४ कम्पनीका करिब एक करोड कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ।
आज सर्वाधिक सेयर कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको १५ करोड २९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अरुण काबेली पावर, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, अपर तामाकोसी हाइड्रोपावर कम्पनीको १० करोड रुपैयाँदेखि १४ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
सोमबार आठवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सौर्यदय वमी लघुवित्त, ग्रिन डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रो पावर, मानुषी लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। उच्च अंकले बढेको बजारमा अधिकांश ऋणपत्र कम्पनीको सेयर मूल्य घटेका छन्।