मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Saturday, 23 November, 2024
टीकाकुमारी विश्वकर्मा
२o७९ श्रावण ९ सोमबार o६:५८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अन्तर्जातीय प्रेमले जन्माएको अपराध

Read Time : > 4 मिनेट
टीकाकुमारी विश्वकर्मा
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार o६:५८:oo

नेपाली समाजको सामाजिक बनोट जात–व्यवस्थाका आधारमा निर्माण भएको हो । वर्गीय र जातीय समाजमा माया, प्रेम, विवाह पनि सोहीअनुरूप नै वर्गीय र जातीय बनाइँदोरहेछ । आजभन्दा केही वर्षअघिसम्म छोरा भए पढाउने र छोरी भए घरको काम, मेलापात, घाँसदाउराको काम मात्रै सिकाउने चलन थियो । त्यसैगरी, गाउँघर र सहरबजार सबैतिर जात–व्यवस्थाका आधारमा छुट्याइएको गैरदलित भनिएकाहरूले मात्रै पढ्न पाउने अवस्था थियो । समाजमा रहेको आर्थिक असमानता, सत्ता र शासकद्वारा गरिने अमानवीय दमन र उत्पीडन, सामाजिक रूपमा तिरस्कार, शैक्षिक रूपमा लेखपढ गर्न नपाउने र नसक्ने अवस्था, राजनीतिक चेतनाको कमी, सांस्कृतिक रूपमा छुवाछुत प्रथा आदिका कारणले गर्दा दलितहरू सबै हिसाबले पछाडि पारिएका समुदाय हुन् ।

उनीहरू आफैँ पछाडि परेका नभई सत्ताको नीति र योजनामै पछाडि पारिएका हुन् । यो समुदायमाथिको अपमान, विभेद र उत्पीडनकै कारण आजको २१औँ शताब्दीमा पनि प्रेम गर्न नपाउने, आफूले रोजेको मान्छेसँग विवाह गर्न नपाउने, छोराले गैरदलित बुहारी विवाह गरेर ल्यायो भने बुबाले अपहरणको मुद्दामा हिरासत र जेल बस्नुपर्ने, अपमान र विभेद मात्रै नभई कुटपिट, लछारपछार र हत्या नै गरिनेजस्ता थुप्रै विभेदकारी व्यवहार आजका दिनसम्म पनि यो समुदायले भोग्दै आएका छन् । अहिलेको विज्ञान र प्रविधिको युगमा समाजभित्रका एकाथरी मान्छेले दलित र गैरदलितबीच हुने अन्तर्जातीय प्रेम र विवाहलाई स्विकार्न नसक्दा आपराधिक मानसिकताको विकास भई ठुल्ठूला अपराधका घटना भइरहेका छन् । 

अन्तर्जातीय प्रेमको लहर :  हाम्रो नेपाली समाजमा पछिल्ला केही वर्षदेखि मुख्यतः दलित र गैरदलित युवा–युवतीबीच प्रेम गर्ने र भागी विवाह गर्ने प्रवृत्ति बढेको देखिन्छ । पहिला–पहिला पनि राणाकी छोरीलाई एउटा सामान्य परिवारको दलितले प्रेम गरेर भगाएका घटना हुन् वा साहु वा जिम्मावाल वा मुखियाका घरमा हली बस्ने दलितले आफ्नै साहुकी छोरी भगाउने, मास्टरकी छोरी भगाउने, बालीघरे कामी वा दमाईंंका छोराले गैरदलितकी छोरी भगाउनेजस्ता प्रेममय घटना हुने गरेकै थिए । तर, समयानुसारको परिवर्तन, दलित बस्ती र समुदायमा विकसित भएको चेतना, आर्थिक र शैक्षिक क्षेत्रमा भएको सुधार तथा गैरदलित युवा–युवतीमा विकसित छुवाछुतविरोधी चेतना आदिको कुल जोडबाटै अन्तर्जातीय प्रेममा बढवा र प्रोत्साहन भएको हो ।

वास्तवमा समाजमा परम्पराकालदेखि नै दुई तरिकाले नातागोता इस्टमित्रबाट र केटाकेटीबीचको सहकार्यबाट विवाह हुने गथ्र्यो । त्यतिवेला सहकार्य गर्ने क्षेत्र र दायरा असाध्यै साँघुरो हुन्थ्यो । छोराछोरीको विवाह गर्दा प्रायः आफ्नै अभिभावकले केटीकेटा हेरेर ठिक्क पारेपछि छोरी या छोरालाई सोधेजस्तो गर्ने चलन थियो । एकाध मात्रै प्रेम गरेर भागी विवाह गर्थे । त्यतिवेला अधिकांश केटाकेटीको विवाह सानै उमेरमा गरिन्थ्यो । एकाधले मात्रै आफ्नो परिवार र समाजसँग विद्रोह गरेर अन्तर्जातीय विवाह गर्ने आँट गर्थे । तर, उनीहरू भागेर धेरै टाढा चिनजान नभएको ठाउँमा जानुपथ्र्यो । उनीहरूलाई अभिभावक न त खोज्न जान्थे न त कतै उजुरबाजुर नै गर्थे । अहिलेजस्तो जोडीलाई अलग गर्ने या लखेटी–लखेटी क्रुर ढंगले हत्या गर्ने चलन त्यतिवेला थिएन ।  

अहिले जमाना फेरिएको छ । मान्छेको सोच, चिन्तन र व्यवहारमा परिवर्तन आएको छ । अहिलेका युवा–युवतीले सामन्तवादी समाजले चलाएको गलत मूल्य–मान्यतालाई कुल्चँदै जातपातको कुनै पर्वाह नगरी आफूलाई चाहिने जीवनसाथी खोज्न र रोज्न थालेका छन्, जुन असाध्यै महत्वपूर्ण र वैज्ञानिक पनि छ, तर फेरि यही प्रेम विवाहले दलितको हत्या हुने, झुटा मुद्दामा फसाएर जेल हाल्नेजस्ता अपराधका नयाँनयाँ रूप र उत्पीडनका थप शृंखला देखिन थालेका छन् । दलित केटाले गैरदलित केटीलाई प्रेम गर्दा विगतमा काभ्रेका अजित मिजारले ज्यानै गुमाउनुपर्‍यो ।

त्यसैगरी, केही दिनअघि मात्रै बाग्लुङको बडीगाड– ८ रणसिंकिटिनीका सुनील सुनार र जलजलाकी जनजाति युवतीले लामो समयको प्रेमपछि भागी विवाह गरे । तर, पछि सुनीलका बुबा बिर्खमान सुनारलाई अपहरण र सुनीललाई बलात्कारको मुद्दा लगाइएपछि हाल सुनील पुर्पक्षका लागि थुनामा छन् भने उनका बुबाले झुटा मुद्दा खेपिरहेका छन् । देशव्यापी रूपमा यस्ता थुप्रै घटनाक्रम बढेका छन्, जसले दलित मात्रै नभई सबै युवा–युवतीको मानव अधिकार र आत्मनिर्णयको अधिकारलाई समेत छिन्नभिन्न पारिदिएको छ । यस्ता आपराधिक घटनाक्रम बढ्नुले ‘बूढी मरी भन्दा पनि काल पल्क्यो’ भन्ने परम्परावादी सामन्ती उखानलाई चरितार्थ गरेको छ । 

समाजभित्रका एकथरी मान्छेले दलित र गैरदलितबीच हुने अन्तर्जातीय प्रेम र विवाहलाई स्विकार्न नसक्दा आपराधिक मानसिकताको विकास भई ठुल्ठूला अपराधका घटना भइरहेका छन् 

अपराधिक मानसिकता र प्रवृत्तिमा विकास : वर्गविहीन आदिम साम्यवादी समाजबाट विकसित हुँदै जाने क्रममा एउटा सचेत र टाठोबाठो तप्काले चेतना कमजोर भएका, आफ्नो श्रममा मात्रै भर परेर गरिखाने सामान्य वर्गका मान्छेलाई विभिन्न तरिकाले शोषण गरेर कजाउँदै जाने क्रममा समाजमा वर्गको जन्म भयो । यही वर्गीय समाज विकासको प्रक्रियासँगै विशेषतः दक्षिण एसियाको नेपाली र भारतीय समाजमा वर्णाश्रम व्यवस्थाका आधारमा जात–व्यवस्थाले जरा फैलाउन पुगेको तथ्य प्रमाणित भएको छ । भारतमा विकसित जात–व्यवस्था निकै लामो अन्तरालमा नेपालमा समेत स्थापित हुन पुग्यो । यही जात–व्यवस्थाको मारमा आजको विज्ञान र प्रविधिको जमानामा पनि नेपाली समाजका दलितले प्रेमका नाममा दिनानुदिन उत्पीडन भोगिरहेका छन् ।

केही वर्षअघि बाग्लुङ बजारनजिक अमृता विश्वकर्मा र श्रवणकुमार श्रेष्ठबीच लामो समयको प्रेम सम्बन्धलाई श्रेष्ठ परिवारले अस्वीकार गरेपछि ती दुई प्रेमजोडी एक–अर्काबीच अँगालोमा बाँधिएर कम्मरमा डोरी लगाई सदरमुकामनजिकैको गलुवाको भिरबाट हामफाली सामूहिक आत्महत्या गरे । उनीहरूसँगै मरे पनि यो समाजले उनीहरूलाई सँगै अन्त्येष्टि गर्न दिएन । यस्तै, जैमिनी नगरपालिकाकी दलित सार्की थरकी युवती र बाग्लुङ, बलेवाका सुवेदी थरको युवकबीच प्रेमविवाह भएपछि उनीहरूबीच सम्बन्ध राम्रै थियो । तर, केही दिनपछि केटीका हजुरबाले नातिनीलाई खोज्दै आएपछि युवती दलित भन्ने थाहा पाएपछि उनलाई गलहत्याएर निकालियो । यस्ता थुप्रै विभेदजन्य घटनाक्रम देशैभरि घट्दै आएका छन् । 

आजभोलि समाजमा विगतको तुलनामा छुवाछुत र जातीय विभेदमा धेरै हदसम्म कमी आए पनि यस्ता खाले अन्तर्जातीय प्रेम र विवाहका कारण हुने अपराध भने झनै बढेका छन् । यसो हुनुको मुख्य कारणबारे खोजी गर्नु आवश्यक छ । समाजमा दलित समुदायमाथि विभेद हुनुका पछाडि घृणा, अपमान र विभेदजन्य मानसिकता र व्यवहार कायमै रहनु, विभेदविरोधी कानुन बने पनि त्यसको सही रूपमा गाउँगाउँमा जनताको तहसम्म प्रचार–प्रसार हुन नसक्नु र विभेदजन्य सबै प्रकारका कार्य गर्नु अपराध हो भन्ने जानकारी नहुनु, दलित आन्दोलन पनि थप प्रभावकारी नहुनु, राज्य र सरकारका अंगको भूमिका प्रभावकारी नहुनु, दलित अमान्छे हुन्, यिनलाई जे गरे पनि हुन्छ भन्ने गलत चिन्तनले काम गर्नु आदि कारण रहेका छन् । जसकारणले गर्दा नेपाली समाजमा दलितमाथिको विभेद भयंकर अपराधका रूपमा स्थापित हुँदै छ । यसलाई मुख्यतः राज्यले र समाजका सबै सचेत तप्काले गम्भीर रूपमा लिनुपर्छ ।

राज्यको गर्नैपर्ने काम : छुवाछुत दलित समुदायको समस्या नभई आजको २१औँ शताव्दीमा राज्यकै समस्या हो भनेर बुझ्नुपर्छ । राज्य र यसका निकायमा समस्याको ठीक बुझाइ भएपछि यसको समाधान गर्न सजिलो हुन्छ । दलित समुदायप्रतिको गलत बुझाइ र विभेदजन्य व्यवहारको अन्त्य गर्दै त्यस्ता अपराधजन्य काममा रोक लगाउनका राज्यले निम्न कार्य गर्नुपर्छ । एक, पुरानो शिक्षा प्रणाली र पाठ्यक्रममा सुधार गरी दलित समुदायलाई उचित सम्मान गर्ने खालको पाठ्यक्रम बनाउनुपर्छ । दुई, संविधान र कानुनमा व्यवस्था भएका विभेदविरोधी प्रावधानबारे सरकारले व्यापक रूपमा प्रचार–प्रसार गरिनुपर्छ । तीन, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लाई प्रभावकारी रूपमा राज्यले कार्यान्वयन गर्नुपर्छ ।

चार, दलित भनेर विभेद गरिएको होस् वा अन्तर्जातीय प्रेमविवाहका नाममा विभेद गरिएको होस्, ती सबै घटनालाई ढाकछोप गर्न मेरी छोरीलाई अपहरण गरेको, ललाइफकाइ बेच्न लान खोजेको, बालविवाह गरेको जस्ता आरोप लगाएर झुटा मुद्दामा फसाउने वा केटाकेटीको हत्यासम्म गर्नेजस्ता अपराधका घटनामा संलग्न अपराधीलाई कुनै पनि बहानामा दण्ड, सजाय दिनबाट उन्मुक्ति दिनुहुँदैन । पाँच, दलित आन्दोलनसँग सरोकार राख्ने विभिन्न राजनीतिक संगठन र सामाजिक संघ, संस्थाले पनि यस्ताखाले अपराधबाट जोगिनका लागि सदैव खबरदारी गरिराख्नुपर्छ । 

यसरी राज्यपक्ष, राजनीतिक क्रियाकलापमा लाग्ने पक्ष र सबै पक्षले विभिन्न किसिमका तरिका अपनाएर पछिल्लो चरणमा नेपाली समाजमा अन्तर्जातीय प्रेम र विवाहमा विकास भएका आपराधिक घटनाक्रमलाई रोक्न सकिन्छ । यसमा सबै सरोकारवाला पक्षको विशेष ध्यान जान आवश्यक छ । समाजको सबैभन्दा पिँधमा पारेर छुवाछुतजस्तो अत्यन्त अमानवीय प्रथाबाट उत्पीडन गरिएको हुनाले सञ्चार क्षेत्रले यसमा अझ बढी प्राथमिकतामा राखिनुपर्छ । 
(विश्वकर्मा अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य तथा दलित अधिकारकर्मी हुन्)