१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

टेकु अस्पतालमा करारका ६८ कर्मचारी कटौती, २१ बेड आइसियू बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१३:oo

रेबिजको इमुनोग्लोबुलिन भ्याक्सिन सेवा रोकियो, कोरोनाविरुद्धको खोप पनि बन्द हुने अवस्था

दरबन्दीअनुसार कर्मचारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकैपटक करारका ६८ कर्मचारी पनि कटौती गरिएको छ । देशको एक मात्र सरुवारोग अस्पतालमा कोरोना कालमा थपिएका २१ बेड आइसियू पनि कर्मचारी कटौतीसँगै बन्द भएका छन् । 

स्वास्थ्यसचिव डा. रोशन पोखरेल भन्छन्–

अहिले करारका कर्मचारी चाहिँदैन, आवश्यक परे फेरि राख्न सकिन्छ 

कोरोनाअघि तीन बेड आइसियू/भेन्टिलेटर रहेकामा संक्रमितको चाप बढेसँगै २४ पुर्‍याइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ असारमा निर्णय गर्दै १ साउनदेखि करारका सबै कर्मचारी कटौती गरेपछि विगतमा दिँदै आइएको सेवा दिन सकस भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । 

‘करारका ६८ कर्मचारीको म्याद नथपिएपछि बिरामीले निःशुल्क पाउने २१ बेड आइसियू सेवा दिन नसकिने अवस्था आयो । अब बिरामी धेरै आए पनि तीनवटाभन्दा धेरै आइसियू बेड चलाउन सकिँदैन । पिसिआर सेवा पनि पहिलेजस्तो दिन सक्ने अवस्था छैन । अस्पतालको सेवा प्रवाहमा सकस भएको छ,’ उनले भने । निजी अस्पतालमा आइसियू/भेन्टिलेटरमा बसेको एकै दिनको ४० हजारभन्दा बढी तिर्नुपर्छ । 

कर्मचारी कटौतीसँगै अस्पतालले रेबिजविरुद्धको इमुनोग्लोबुलिन भ्याक्सिन सेवा पनि बन्द गरेको छ । यो भ्याक्सिन बिरामीमा गम्भीर घाउ भएको जटिल अवस्थामा दिइन्छ, जुन रेडिमेड एन्टिबडी हो । निजी अस्पतालले यो भ्याक्सिनका लागि एक लाखसम्म शुल्क लिन्छन् । कर्मचारी अभाव भएको भन्दै टेकु अस्पतालले मंगलबारदेखि कोरोनाविरुद्धको भ्याक्सिन सेवा पनि बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

टेकु अस्पतालका अनुसार हटाइएका जनशक्तिमा तीन चिकित्सक, दुई रेडियोग्राफर, पाँच ल्याब टेक्निसियन, पाँच हेल्थ असिस्टेन्ट, एक नर्सिङ अधिकृत, १९ स्टार्फ नर्स, एक बायोमेडिकल टेक्निसियन, दुई सहचालक र ३० कार्यालय सहयोगी छन् । कोरोना बढ्दा स्थायी कर्मचारी अभावसँगै यी कर्मचारी भर्ना गरिएका थिए । अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख लीलानाथ भण्डारी कर्मचारी कटौतीले नियमित सेवा प्रभावित भएको बताउँछन् । 

स्वास्थ्यसचिव डा. रोशन पोखरेलले आवश्यक परे करारमा कर्मचारी राख्न सकिने बताए । ‘अहिले करारका कर्मचारी चाहिँदैन, आवश्यक परे फेरि राख्न सकिन्छ,’ उनले संक्षिप्त प्रतिक्रया दिए । 

सेवा प्रवाहमा समस्या भएको छ  : नवराज गौतम सूचना अधिकारी टेकु अस्पताल

बिरामीले निःशुल्क पाउने २१ बेड आइसियू सेवा दिन नसकिने अवस्था आयो । अब बिरामी धेरै आए पनि तीनवटाभन्दा धेरै आइसियू बेड चलाउन सकिँदैन । पिसिआर सेवा पनि पहिलेजस्तो दिन सक्ने अवस्था छैन । अस्पतालको सेवा प्रवाहमा सकस भएको छ । 

दरबन्दीकै कर्मचारी छैनन्, भएका पनि बिदामा

टेकु अस्पतालमा ७६ कर्मचारीको दरबन्दी छ । जसमध्ये २० दरबन्दी खाली छ । भएका कर्मचारी पनि कतिपय बिदामा छन् । ट्रपिकल मेडिसिनको दरबन्दी दुईवटा रहेकामा दुवै खाली छन् । सामान्य चिकित्सक सेवाका पनि दुई दरबन्दीमा दुवै रिक्त छन् । त्यस्तै, सातजना मेडिकल अधिकृतको स्वीकृत दरबन्दी रहेकामा दुईजना फाजिलमा छन् । तीनजना अध्ययन बिदामा छन् । बाँकी दुईजना विशेषज्ञ पढाइ सकाएर आएका छन्, जसले मेडिकल अधिकृतको काम गर्दैनन् । वरिष्ठ नर्सिङ अधिकृतको दुईजनाको दरबन्दी रहेकामा एकजना मात्रै कार्यरत छन् । ३६ स्टाफ नर्सको दरबन्दीमा ३२ जना कार्यरत छन् । तर, यीमध्ये दुईजना बिदामा छन् । डाइटिसियनको एक मात्र दरबन्दी पनि खाली छ ।

ad
ad