मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ५ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ५ बिहीबार १६:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा र राप्रपा नेपालका नेता एक–अर्को पार्टीमा प्रवेश, कमल थापा भन्छन्– म अरूभन्दा कम राजावादी होइन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ५ बिहीबार १६:२२:oo

राप्रपा र राप्रपा नेपालमा नेताहरू एक–अर्को पार्टी प्रवेशको क्रम सुरु भएको छ। राप्रपा नेपालका नेताहरू उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ बिहीबार राप्रपाको केन्द्रीय सदस्य मनोनीत भएकै दिन राप्रपा नेताहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेत, दिनेश श्रेष्ठलगायत राप्रपा नेपाल प्रवेश गरेका छन्। विगतमा राजेन्द्र लिङ्देनलाई निर्वाचनमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरू उक्त निर्णय गलत भएको भन्दै राप्रपा नेपाल प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले अरूभन्दा आफू कम राजावादी नभएको, तर परिवर्तित परिस्थितिमा राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिगत एजेन्डा बनाउन नसकिने बताए। उनले राप्रपा नेपाल बलियो शक्ति बनेपछि राजसंस्थाका विषयमा उपयुक्त निर्णय लिन सकिने पनि बताए।

‘अहिले हामी बलियो राष्ट्रवादी शक्ति निर्माण गरौँ। भविष्यमा उपयुक्त समयमा राजसंस्थाबारे उपयुक्त निर्णय गर्न हामी खुला छौँ। प्रजातान्त्रिक पार्टी भएकाले राप्रपा नेपालभित्र विविध विचारको स्थान र सम्मान छ,’ थापाले भने, ‘राजसंस्थाप्रति मेरो सम्मानमा कुनै कमी आएको छैन।’ थापाले राप्रपाको शक्तिले मात्रै राजसंस्था पुनर्स्थापना सम्भव नभएको ठोकुवा गरे। ‘तपाईंहरू भविष्यमा राजसंस्था पुनर्स्थापना गर्न चाहनुहुन्छ भने पनि राप्रपा नेपालमा आउनुस्, हामी सँगै काम गरौँ,’ थापाले भने।

राप्रपा नेपालले राप्रपाका नेताहरूलाई आकर्षित गर्न राजसंस्थाप्रति नरम नीति अख्तियार गर्न खोजेको एक नेताले बताए। ‘राप्रपा नेपालले राजसंस्थाका लागि अहिले कुनै कदम नचाले पनि त्यो विचारलाई स्थान सुरक्षित गर्ने अनि राप्रपासहित राजावादी समूहमा रहेकाहरूलाई पार्टीमा आकर्षित गराउने यो रणनीति हो,’ उक्त पार्टीका एक नेताले नयाँ पत्रिकासँग भने।

यसैबीच, संसदीय निर्वाचनबारे छलफल गर्न राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। पार्टी बैठकअघि राप्रपा अध्यक्ष लिङ्देनले ४९ केन्द्रीय सदस्य थपेर बिहीबार शपथग्रहण गराएका छन्।

को–को थपिए राप्रपा केन्द्रीय सदस्य ? 
तोरणबहादुर गुरुङ, रामचन्द्र राय, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दीपकबहादुर सिंह, जगतप्रसाद गौचन, राजाराम श्रेष्ठ, रामशरण पाठक, पर्शुराम तामाङ, जयलाल पुन, प्रेमकुमार श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, विनोद भारती, जगदीश राजभण्डारी, इन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, राम थोकर, हजबुल मियाँ, नवराज पनेरू, तोयानाथ लम्साल, प्रेम थाम्सुहाङ, मानदेव केरुङ, सोभित उप्रेती, उदय सापकोटा, अनुबमसिंह श्रेष्ठ, युवराज घिमिरे, गणेश चन्द, मीनबहादुर कुँवर, शक्ति सापकोटा, सरिता देवकोटा, अभिषेक जोशी, विश्वमोहन थापा, चेतनारायण शर्मा न्यौपाने, अजय थापा, अंगद ठाकुर, शिवराम थापा, विनिता मगैया, सीता बस्याल, हुमा पाण्डे, राजु बस्नेत, केदारबहादुर अधिकारी, केदार न्यौपाने, सम्झना चौधरी, उदयसिंह मुस्याजु, शिवशंकर यादव, गणेश विष्ट, अशोक गोयन्का र देवी कँडेल ।