१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o७:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राजीनामा दिएको दुई घन्टामै पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:o७:oo
  •  क्यानडामा रहेको परिवारलाई समय दिनुपरेका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएको पुबुदु दासानायकेको भनाइ
  •  दोस्रोपटकको कार्यकाल सम्हाल्दा पुबुदुले नेपाललाई चार एकदिवसीय तथा १० टी–२० खेलमा जित दिलाए
  •  पुबुदुकै प्रशिक्षणमा नेपालले सन् २०१४ को बंगलादेशमा भएको टी–२० विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको थियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको दुई घन्टापछि नै पुबुदु दासानायके क्यानेडियन राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका छन् । क्यानडा क्रिकेट संघले बुधबार आफ्नो सामाजिक सञ्जालबाट पुबुदुलाई राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । ‘पुबुदु दासानायकेलाई हाम्रो राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ,’ क्यानडा क्रिकेट संघको फेसबुक पेजमा भनिएको छ । 

पुबुदु क्यानेडियन क्रिकेट टोलीमा मुख्य प्रशिक्षक बनेको दोस्रोपटक हो । यसअघि सन् २००७ देखि ०११ सम्म उनी क्यानडाका प्रशिक्षक तथा कप्तान थिए । उनकै प्रशिक्षण तथा कप्तानीमा क्यानडाले सन् २०११ मा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । पहिलो चरणबाटै क्यानडा विश्वकपबाट बाहिरियो । तर, क्यानडाले आफ्नो पहिलो आइसिसी एकदिवसीय यात्रा स्मरणीय बनाएको थियो । 

विश्वकपपछि पुबुदु पहिलोपटक नेपाली टोलीका मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमै नेपालले सन् २०१४ को बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकप खेलेको थियो । पुबुदुले नेपाललाई आइसिसी विश्वकप डिभिजन ३ र २ को विजेता बनाएका थिए । सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान) को अन्तरिक विवाद चर्किंदा पुबुदुले राजीनामा दिए । उनले गतवर्ष मात्र दोस्रोपटक नेपाली टोली संहालेका थिए । 

नेपाली टोलीसँग दोस्रो कार्यकाल पुबुदुका लागि राम्रो भएन । आइसिसी विश्वकप लिग २ मा लगातार खराब प्रदर्शनपछि दबाबमा पुगेका पुबुदुले बुधबार पत्रकार सम्मेलन गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । पुबुदुले नै वर्तमान कप्तान सन्दीप लामिछानेलाई चितवनबाट एकैपटक राष्ट्रिय टोलीमा मौका दिएका थिए । 

 कठिन समयमा पदभार
गत मंसिरमा दोस्रोपटक पुबुदुले मुख्य प्रशिक्षक पदभार ग्रहण गर्दा त्यति सहज थिएन । त्यसवेला तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलगायत अन्य सिनियर खेलाडी र क्यानबीच विवाद चलिरहेको थियो । खेलाडी र क्यानबीचको विवादलाई लिएर प्रधानमन्त्रीदेखि उच्च राजनीतिक दलका प्रमुख नेताले समेत चासो राखेका थिए । यसैबीच क्यानले ज्ञानेन्द्रलाई कप्तानीबाट हटाउँदै सन्दीपलाई नेपालका नयाँ कप्तान नियुक्त गर्‍यो । त्यसपछि खेलाडी र क्यानबीचको विवादले झन् चर्को रूप लियो । क्यानले खेलाडीलाई लामो समयदेखि चिनेका प्रशिक्षकका रूपमा पुबुदुलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गर्‍यो । एक किसिमले त्यसवेलाको माहोला शान्त पार्न पुबुदुले मध्यस्थकर्ताका रूपमा भूमिका निर्वाह गरेका थिए । 

तर, खेलाडीबीच सिनियर र जुनियर समूहलाई समान्तार रूपमा लानुपर्ने चुनौती पुबुदुलाई थियो । पुबुदुसमक्ष अर्को ठूलो चुनौती भने सन् २०१४ पछि नेपाललाई आइसिसी टी–२० विश्वकपमा छनोट गराउनुपर्ने थियो । तर, नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदा पुबुदुको सपना पूरा भएन । उनको प्रशिक्षणमा नेपालले कुनै पनि एकदिवसीय सिरिजमा सफलता चुम्न सकेन । 

 नेपाली टोलीको भविष्य राम्रो
पुबुदुले नेपाली टोलीको भविष्य राम्रो भएको बताएका छन् । नेपाली टोलीमा धेरै युवाले लामो समय नेपालबाट राम्रो खेल्न सक्ने उनले औँल्याएका छन् । ‘अहिलेको टोलीले निकट भविष्यमा राम्रो गर्न सक्ने विश्वास छ,’ उनले भने । उनले सन्दीप बिस्तारै अनुभवी हुँदै गइरहेको बताए । ‘नेपालको भविष्य राम्रो छ, एसोसिएट राष्ट्रमा नेपालले राम्रो स्थान बनाउनेछ,’ उनले भने । 

 व्यक्तिगत कारणले राजीनामा
लगातारको असफलतापछि मुख्य प्रशिक्षक पुबुदुमाथि दबाब बढिसकेको थियो । मंगलबार स्कटल्यान्ड भ्रमणबाट फर्केपछि कप्तान सन्दीपले मुख्य प्रशिक्षक पुबुदु राम्रा प्रशिक्षक भएको बताउँदै उनको बचाउ गरेका थिए । तर, सन्दीपको टिप्पणी २४ घन्टा पनि नबित्दै पुबुदुले मुख्य प्रशिक्षकबाट राजीनामा दिए । पुबुदुले नेपाली टोलीबाट राजीनामा दिनुलाई करिअरकै कठिन निर्णय भएको बताएका छन् । ‘यो मेरो जीवनकै कठिन निर्णय हो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यो निर्णयबाट म स्वयं दुःखी छु ।’ उनले सुरुवाती क्रममा परिवारलाई समय दिन एक वर्ष क्यानडामा बस्ने बताए । ‘परिवारलाई समय दिनुपर्‍यो, यसैकारण म एक वर्ष क्यानडामै बस्नेछु ।’ उनले आफ्नो राजीनामाबारे क्यानलाई जानकारी दिएको बताएका छन् । ‘मैले यसबारे क्यानलाई जानकारी दिएको छु,’ पुबुदुले भने । क्यानसँग गत मंसिरमा पुबुदुले सम्झौता गरेका थिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल आइसिसीको बैठकमा सहभागी हुन बुधबारै बेलायत गएका छन् । 

 खराब रेकर्ड 
स्कटल्यान्ड र अमेरिकाको भ्रमणमा नेपाली टोलीले धेरैभन्दा धेरै खेल जित्ने दाबी गरिएको थियो । संयोग कस्तो रह्यो भने यी दुवै आइसिसी विश्वकप लिग २ शृंखलामा नेपालले समान एक जित मात्र निकाल्यो । अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा छनोटको आधार बलियो बनाउन नेपालले अमेरिका र स्कटल्यान्डमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने थियो । तर, नेपाली टोलीले दुवै भ्रमणबाट पाँच अंक 
मात्र बटुल्यो । 

दासानायकेको प्रशिक्षणमा नेपालले १४ एकदिवसीय खेल्यो, जसमा नेपालले नौ खेलमा हार र चार खेलमा जित निकाल्यो । नेपालले अमेरिकासँग एक खेल बराबरी खेल्यो । पुबुदुको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय टी–२० खेलमा राम्रो प्रदर्शन गरेको छ । नेपाले १३ वटा टी–२० खेलमध्ये १० मा जित निकाल्यो । नेपाल तीनवटा खेलमा मात्र पराजित भयो, नेपाल विश्वकप लिग २ मा छैटौँ स्थानमा छ । विश्वकपमा छनोट हुन शीर्ष दुई स्थानमा रहनुपर्नेछ । एकदिवसीय मान्यता रक्षा गर्न कम्तीमा पाँच स्थानभित्र हुनुपर्छ । विश्वकप लिग २ को आधा खेल खेलिरहेको नेपालले यी दुवै सम्भावना जीवित राख्दा आउने सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बाध्यता छ । 

ad
ad