
तनहुँका विभिन्न ठाउँका कृषकलाई बंगुर, बोका र मौरीसहितको घार वितरण गरिएको छ । मुख्यमन्त्री कार्यक्रमअन्तर्गत व्यास नगरपालिकाको बिपी भञ्ज्याङ, अँधेरी भञ्ज्याङ र निर्बुका कृषकलाई बंगुर, बोयर बोका र मौरीसहितको घार वितरण गरिएको हो ।
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ७० वटा बंगुर, दुईवटा बोयर बोका र ५५ वटा मौरीसहितको घार प्रदान गरिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनले भने, ‘कार्यक्रम ढिलो गरी आएकाले सबै कृषकलाई समेट्न सकिएन । छुटेकाहरूलाई अर्को वर्षको कार्यक्रममा समेटिनेछ ।’ आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्रका कृषकको आयस्तर बढउन थोरै भए पनि सहयोग पुग्ने विश्वास गरिएको तिवारीले बताए ।
अँधेरी भञ्ज्याङ कृषक समूहका अध्यक्ष तीर्थबहादुर विकले अनुदानमा सामग्री पाएपछि कृषकहरू उत्साहित भएको बताए । उनले भने, ‘अनुदानमा पाएको सामग्रीको कृषकले सदुपयोग गरी काम गर्नुपर्छ, यसले आर्थिक स्तर उकास्न सहयोग पुग्छ ।’ कार्यक्रममा बोका, मौरी, बंगुर, कुटानी–पिसानी मेसिन तथा बिउबिजन हस्तान्तरण गरिएको थियो । गण्डकी प्रदेश सरकारको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत व्यास नगरपालिका–१० का कृषकलाई ९० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको हो ।