१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २८ मंगलबार १o:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाका असन्तुष्ट नेताको बेग्लै बैठक, नेतृत्वको चर्को आलोचना  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १o:३o:oo

राप्रपाका असन्तुष्ट आधा दर्जन नेता कमल थापा नेतृत्वको राप्रपा नेपालमा सहभागी हुने निष्कर्षमा पुगेका छन् । समान विचार भएका राप्रपा र राप्रपा नेपालबीच एकताका लागि अध्यक्ष लिङ्देनलाई दबाब दिने र नेतृत्व तयार नभए राप्रपा नेपालमा जाने उनीहरूको तयारी छ । पार्टी महाधिवेशनबाट लिङ्देनले नेतृत्व लिएपछि पार्टीलाई समावेशी, सन्तुलित, योजनाबद्ध, दूरदर्शी र फराकिलो ढंगले सञ्चालन गर्न नसकेको असन्तुष्ट नेताहरूको आरोप छ। 

होटेल एल्लो पेगोडामा बसेको असन्तुष्ट पक्षले एकता र सहकार्यको तयारीका लागि समिति गठन गरेको छ । राप्रपा नेता दिलनाथ गिरीको नेतृत्वमा गठित समितिमा नेताहरू दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, राजाराम श्रेष्ठ, केशव श्रेष्ठ, मदन बस्नेतलगायत छन् । 

‘पार्टीलाई अध्यक्षले जुन ढंगबाट हाँक्नुहुन्छ होला भन्ने हामीले सोचेका थियौँ, त्यो हुन सकेन, हामीले सोच्ने र उहाँले गर्नेमा आकाश–जमिनको फरक रह्यो, हामी दुःखी छौँ,’ नेता गिरीले नयाँ पत्रिकासँग भने, ‘अध्यक्ष लिङ्देनमा झन् बढी अहंकार, व्यक्तिकेन्द्रित सोच, आलोकाँचोपन देखियो । यसरी पार्टी अघि बढ्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’ 

पार्टीभित्र महिला संगठनमा हात हालाहालको स्थिति पैदा हुँदा पनि नेतृत्वले आफूलाई थाहा नभएको र यस्ता विषय सामान्य हुन् भन्नु आपत्तिजनक भएको असन्तुष्ट समूहको ठहर छ । असन्तुष्टहरूको बैठकमा पार्टीप्रतिको आकर्षणलाई भोटमा रूपान्तरण गर्न नसकेको, गएको स्थानीय निर्वाचनमा सन्तोषजनक मत  प्राप्त गर्न नसकेको,  अन्य दलसँग सम्बन्ध सुधार नभएको विषयमा छलफल भएको छ ।

आगामी संघीय निर्वाचनबारे स्पष्ट धारणा, योजना र रणनीति नभएको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा नेतृत्वले अराजनीतिक संस्कार र चरित्र प्रदर्शन गरेको उनीहरूको निष्कर्ष छ । ‘नेतृत्व सस्तो लोकप्रियताको पछि लाग्नु हुँदैनथ्यो,’ नेता गिरीले भने, ‘हाम्रो बैठकले नेतृत्व गम्भीर हुने र सच्चिने मार्गमा नभएको यथास्थितिबाट र थप एकांगी ढंगबाट चल्न खोजेको देखियो, यसले थप जटिलता उत्पन्न गर्छ भन्ने निष्कर्ष निकालेको छ ।’

सबैलाई समेटेर अघि बढ्नुपर्नेमा भएकालाई पनि काखापाखा गर्ने प्रवृत्ति राप्रपामा देखिएको असन्तुष्ट पक्षको आरोप छ । ‘राप्रपा बलियो बनाउने हो भने कमल थापा, रवीन्द्र मिश्र, केशर विष्टलगायत सबै एकै ठाउँमा हुनुपर्छ भन्नेमा बैठकको निष्कर्ष रह्यो,’ बैठकमा सहभागी नेता दमन बस्नेतले बताए । नेतात्रय गिरी, राजभण्डारी र बस्नेतले एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपाल अध्यक्ष कमल थापासँग भेटेर यसबीचमा कुराकानी गरेका छन् । ‘अध्यक्ष लिङ्देनले हाम्रो प्रस्तावलाई गम्भीरतापूर्वक लिएका छैनन्, हामी दुई सातामा राप्रपा नेपालमा सहभागी हुन्छौँ,’ एक असन्तुष्ट नेताले भने ।