१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तिब्बत जोड्ने बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडकखण्डअन्तर्गतको १८ किलोमिटर सडक हस्तान्तरण गर्दै नेपाली सेना । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तिब्बत जोड्ने १८ किलोमिटर सडक सेनाद्वारा सडक विभागलाई हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३२:oo

तिब्बत जोड्ने सडकखण्डको १८ किलोमिटर सडक नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभानसम्मको सडक सोमबार एक कार्यक्रमका बीच सडक विभागलाई हस्तान्तरण गरिएको नेपाली सेनाका प्राविधिक सेनानी विनोद भट्टले बताए । नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक गोरखामा रहेको सडक विभागअन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरिएको भट्टले बताए । 

नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलले अहिले सम्म ३२ दशमलव पाँच किलोमिटर सडकको ट्र्याक खोलेको छ । योमध्ये १८ किलोमिटर खण्ड आयोजनालाई हस्तान्तरण गरेको हो । ‘१८ देखि ३२.५ किलोमिटरसम्म ग्रेड मिलाउनुपर्ने केही काम बाँकी छ । यो पनि छिटो सकेर हामी हस्तान्तरणको प्रक्रियामा जानेछौँ,’ प्राविधिक सेनानी भट्टले भने । 

धार्चे र चुमनुब्रीका स्थानीय सहज रूपमा सवारीसाधन आउजाउ गर्न मिल्ने भएको र उनीहरूको मागका आधारमा सेनाले निर्माण पूरा भएको १८ किलोमिटर सडक हस्तान्तरण गरेको जनाएको छ । गोरखाको चुमनुब्री गाउँपालिकामा अझै गाडी पुग्ने सडक बनिसकेको छैन । हाल सडक ट्र्याकले चुमनुब्रीलाई छोएको र मंसिरसम्म सिर्दिबासमा गाडी पुर्‍याउने योजना रहेको सेनाका प्राविधिक सेनानी विनोद भट्टले जानकारी दिए । उनका अनुसार अहिले विभिन्न तीनवटा क्याम्पमा रहेर करिब एक सय ५० जनाले काम गरिरहेका छन् । 

यो गोरखा र तिब्बत जोड्ने सडक हो । हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटरमध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ । १४ दशमलव पाँच किलोमिटर सडकको ट्र्याक खोलिसकिएको र करिब ६० किलोमिटर सडकको ट्र्याक खोलिएको छैन । बेनिघाट–आरुघाट–आर्खेत सडक ०५२ सालमा निर्माण सुरु भएको हो । ०६३/६४ मा बेनीघाट–लार्के भञ्ज्याङ सडक नामकरण गरी सडक विभागलाई निर्माणको जिम्मा दिइयो ।

०६६/६७ मा सडक आयोजनाले निर्माण सुरु ग¥यो । तर, भौगोलिक विकटता, कडा चट्टान विस्फोट गर्नुपर्नेलगायत कारण हावाडाँडादेखि माथि आयोजना कार्यालयले सडक निर्माण गर्न सकेन । अन्ततः मन्त्रिपरिषद्को निर्णयबाट ०७३ मंसिर २६ गते हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पायो । ०७४ वैशाख ११ गतेबाट सेनाले ट्र्याक खोल्न सुरु गरेको प्राविधिक सेनानी भट्टले बताए । गोरखाको दुर्गम पालिका चुमनुब्री गाउँपालिका सडक सञ्जालले नजोडिँदा यहाँका सर्वसाधारण ढुवानीमा खच्चड र उपचारमा हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ । 

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले धेरै समस्याका बीच पनि सेनाले सडक निर्माण गर्न सफल भएको बताउँदै उक्त खण्ड नियमित सवारीसाधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराए । 

ad
ad