प्रा.डा. खड्ग केसी, त्रिभुवन विश्वविद्यालय
दक्षिण एसियामा हामी सबैले सिक्ने पाठ भनेको राजनीतिक नेतृत्व अपारदर्शी र अनुत्तरदायी हुनुहुँदैन भन्ने नै हो । अनुत्तरदायी र अपारदर्शी राजनीतिले विद्रोह जन्माउँछ भन्ने उदाहरण विगतमा अरब विद्रोहले पनि देखाइसकेका छन् । श्रीलंका पछिल्लो उदाहरण हो ।
वास्तवमा हाम्रो राजनीतिक नेतृत्व पनि अपारदर्शी छ । कहिलेकाहीँ त समकालीन राजनीतिको अपारदर्शिता श्रीलंकामा भन्दा हामीकहाँ बढी देखिन्छ । स्थानीय चुनावमा राजनीतिक नेतृत्वप्रति असन्तोष प्रकट गर्ने कार्य जनताबाट प्रारम्भ भएको छ । ठूला राजनीतिक दलहरू अपारदर्शी रूपमा कानुन निर्माण गर्ने, भ्रष्टाचार र अनियमिततामा संलग्न हुने परिस्थितिले भयावह परिणाम निम्त्याउँछ भन्ने बुझ्नु जरुरी छ ।
लोकतन्त्रमा योगदान गरेको भन्ने नाममा ठूला नेताहरूलाई क्षमादान गरिँदा श्रीलंकाको परिस्थिति आउन सक्छ । आमनागरिकले सचेतना जनाउनुपर्छ । राजनीतिक साक्षरता, ज्ञान चुनावको माध्यमबाट असन्तोष प्रकट भयो भने लोकतन्त्रलाई फाइदा पनि पुग्छ ।
डा. दिनेश भट्टराई, पूर्वराजदूत
२००९ मा एलटिटिईलाई जितेपछि महिन्दा राजापाक्षे कसैलाई नटेर्ने भए, हामीकहाँ राजा महेन्द्रजस्तै । परिवारतन्त्र हाबी भयो । उनको गुनगान गाउने परिस्थिति भयो । त्यसले संकटलाई थप निरन्तरता दिने काम गर्यो । ध्रुवीकृत र विभाजित समाज, उत्तर–दक्षिणलाई डिल गर्ने होइन, उनले बढाउन थाले । यसबीचमा चर्चमाथि आतंककारी हमला भएपछि संकटमा घिउ थपियो ।
कोभिडमा पर्यटन नराम्ररी खस्कियो । यी सबैको समष्टि श्रीलंकामा अहिले देखिएको संकट हो । श्रीलंकाको संकट त्यहाँ मात्र सीमित हुन्छ जस्तो लाग्दैन । यसको असर धेरैतिर हुनेवाला छ । श्रीलंकाले बढी ऋण लिएर पूर्वाधार बनाएको छ, पूर्वाधारको प्रयोग गर्ने सामथ्र्यवान वातावरण बनाउन नसक्नुको समष्टिगत कारण हो यो परिस्थिति ।
हामीले जनमुखी शासन पद्धति अपनाउनुपर्छ । समाजको ध्रुवीकरण र विभाजन होइन, सबैलाई मिलाएर लैजानुपर्छ भन्ने पाठ पनि हो यो । राजनीतिक नेतृत्वले परिवारतन्त्र विकसित गर्दै लैजाँदाको परिणाम हो अहिलेको श्रीलंका । मुलुकलाई बलियो बनाउन छाडेर खोक्रो राष्ट्रवाद ल्याउँदा यो परिस्थिति आउँछ भन्ने सबैले बुझ्नुपर्छ ।