मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २५ शनिबार १९:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश : मन्त्रालयगत बजेटमाथि छलफल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २५ शनिबार १९:४७:००

कर्णाली प्रदेश सभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेश सभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ । उद्योगमन्त्री छिरिङ डम्डुल लामा र कानुनमन्त्री हिमबहादुर शाहीले प्रदेश सभा सदस्यहरूले राखेका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिएसँगै छलफल सकिएको हो ।
 
त्यसपश्चात् भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रायलका बजेटका विभिन्न शीर्षकमा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै नेकपा(एमाले) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलाबजङ शाहले समानुपातिक विकास आजको आवश्यकता भएको बताए । 

उनले पछिल्लो समयमा भौतिक तथा जलस्रोत मन्त्रालयले योजना सुधार गरेर ल्याएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरे । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक देवी ओलीले बहुवर्षीय तथा क्रमागत योजना सरकारले प्रस्ट्याएर ल्याएकोप्रति धन्यवाद दिए । उनले  कर्णाली र भेरी करिडोर तथा अन्य भवन निर्माणको गुणस्तर आउनुपर्नेमा जोड दिए ।  विकास पछिल्लो समयमा गर्नका लागि नभई खानका लागि जस्तो भएको औँल्याउँदै प्रमुख सचेतक ओलीले यस्तो प्रकारको संस्कार अन्त्य हुने खालको कानुन आवश्यक भएकामा जोड दिए । 

प्रदेश सभा सदस्य वीरबहादुर शाही, दल रावल, मीना रखाल, पद्मा खड्का, राजु नेपाली, करवीर शाही, खड्क खत्री, दानसिंह परियार, बद्मिक्वारी बोहोरा र अमृता शाहीले दुवै मन्त्रालयका शीर्षकमाथि आफ्ना जिज्ञासा तथा प्रश्न राखेका थिए ।  छलफलका क्रममा आज प्रदेश सभा सदस्यले उठाएका प्रश्न तथा जिज्ञासामाथि भोलि (आइतबार) बैठकको प्रारम्भमा भौतिकमन्त्री पदमबहादुर रोकाय र जलस्रोतमन्त्री गणेशप्रसाद सिंहले जवाफ दिने गरी तयारी रहन सभामुख राजबहादुर शाहीले निर्देशन दिएका छन् ।